विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विद्युत् विकासको सबैभन्दा जटिल पाटो प्रसारण लाइन निर्माण नै हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नो योजना अनुसार यस क्षेत्रमा काम गरिरहेको छ । प्रसारण क्षेत्र अलग्गै निकायबाट अगाडि बढाउनुपर्ने अपरिहार्य ठानेर सरकारले करिब ८ वर्ष अगाडि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी स्थापना गर्‍यो । यसले, राष्ट्रियस्तरको गुरुयोजना तयार गरेर एक दर्जन आयोजना अगाडि बढाइरहेको छ । प्रसारण प्रणाली निर्माणमा पछिल्लो उपलब्धि, यसका समस्या तथा चुनौती र भावी योजनाका विषयमा केन्द्रित रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीसँग गरिएको संवादको सम्पादित अंशः

विद्युत् प्राधिकरणले उत्पादन, प्रसारण र वितरणमा समानान्तररूपमा काम गर्दै आएको छ । यस्तो अवस्थामा सरकारले अलगै ग्रिड कम्पनी किन महसुस गर्‍यो ?

नेपालमा विद्युत् क्षेत्रको पुनर्संरचना गर्ने मूल मर्म अनुसार कम्पनी स्थापना भएको हो । जस अनुरूप प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारलाई व्यावसायिकरूपमा सञ्चालन गर्न छुट्टाछुट्टै कम्पनी गठन गरेर जाने लक्ष्य थियो । सोही आधार अनुसार प्रसारण क्षेत्रलाई मार्ग निर्देशन गर्दै समग्र ग्रिडको निर्माणलाई आधुनिकीकरण गर्ने उद्देश्यले यो कम्पनी स्थापना गरिएको हो । जस अन्तर्गत प्रसारण लाइन निर्माणको काम सुरु भइरहेको छ । आगामी ५/१० वर्षमा निर्माण गर्नुपर्ने आयोजनालाई प्राथमिकतामा राखेर काम गरिएको छ । अतः अहिले प्राधिकरणसँग समन्वयसँग गरेरै काम भइरहेको छ ।

स्थापनादेखि हालसम्मको कम्पनीको उपलब्धिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

यस अवधिको सबैभन्दा ठूलो उपलब्धि नेपालको समग्र प्रसारण लाइनको गुरुयोजना तयार हुनु नै हो । गुरुयोजना अन्तर्गत नेपालमा सम्भाव्यता देखिएका सबै आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने तथा स्वदेशी एवम् अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पहिचान गर्ने काम भएको छ । त्यही आधारमा सन् २०२५/३० सम्म के कस्ता लाइन र सबस्टेसन आवश्यक पर्छन् ? निर्माणाधीन जलविद्युत् आयोजना कुन–कुन समयमा आउँछन् भन्ने पक्षको प्रक्षेपण गरी तिनीहरूका लागि हब निर्दिष्ट गर्‍यो ।

गुरुयोजनाले तय गरेको मार्गचित्रमा ५ वर्षको ‘कर्पोरेट प्लान’ र २० वर्षे योजना छ । कर्पोरेट प्लानले तय गरेका कार्यदिशामध्ये केही वा उल्लेख्य लाइनको निर्माण सुरु भइसकेका छन् । आउने ५ वर्षमा निर्माण गर्नुपर्ने आयोजनाको तयारी गरिएको छ । अझ समष्टिमा भन्नुपर्दा सरकारले १२ वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई यो कार्यक्रमले सहयोग पुर्‍याउँछ ।

कम्पनीले गुरुयोजना तयार गर्‍यो, प्राधिकरणको पनि आफ्नै गुरुयोजना छ । दुइटै गुरूयोजनाबीच तादम्यता के छ ? देशको गुरुयोजना त एउटै हुनुपर्ने होइन ?

गुरुयोजना एउटै हो, नेपाल सरकारबाट एकीकृतरूपमा स्वीकृत भइसकेको छ  । प्राधिकरणको छुट्टै र राष्ट्रिय ग्रिड कम्पनीको छुट्टै भन्ने हुँदैन । दुवै निकायबीचको समन्वय तथा विज्ञहरूको राय–सुझावकै आधारमा तयार गरिएको हो ।

प्राधिकरणभित्रको प्रसारण संरचनालाई विस्तारै यस कम्पनी मातहतमा ल्याउनुपर्ने मुख्य दायित्व हुनुपर्ने हो । त्यो दिशामा कतिको काम भएको छ ?

प्रसारण प्रणालीको लक्ष्य पूरा गर्न निश्चय पनि प्राधिकरणको संरचना यसमा मर्ज गर्नुपर्ने थियो र छ पनि । काम गर्दै जाँदा दुइटा सस्था मर्ज हुन समय लाग्ने देखियो । त्यसमा पनि प्राधिकरणको आफ्नै आन्तरिक तयारी छ । पहिले आन्तरिकरूपमा प्रणालीलाई ‘अनबण्डलिङ’ गर्ने र प्रसारणको भागलाई ग्रिडमा ल्याउने भन्ने प्राधिकरणको ‘कर्पोरेट डेभलपमेन्ट प्लान’मा समेत छ । विवाद केही छैन तर काम कसरी गर्ने ? के गर्ने र कहिले गर्ने ? यी केही कुरा मिलाउन बाँकी छ । विद्युत् ऐन आएपछि सहजरूपमा जान सकिन्छ ।

कम्पनी र प्राधिकरणले आ–आफ्ना योजना अनुसार काम गरिरहेका छन् । काम गर्ने क्रममा ‘डुब्लिकेसन’का समस्या देखिएका होलान् नि ?

डुब्लिकेसन खासै छैन भन्दा हुन्छ । हामीले प्राधिकरणसँगको समन्वयमा आयोजनालाई प्राथमिकीरण गरेका छौँ । काम र आयोजनाको दोहोरोपन नहुने गरी योजना तय भएका छन् । यदाकदा समस्या देखिए पनि आपसी समन्वयमा सुल्झाइको छ ।

पछिल्लो समय कम्पनीले धमाधम ग्रिड कनेक्सन एग्रिमेन्ट गरिरहेको छ । उता, प्राधिकरणले पनि गरिरहेको छ । यसमा हामीबीच तादम्यताले मिलेको छ ?

हामीले बनाएपछि ती लाइनमार्फत प्रवर्द्धकले प्राधिकरणलाई बिजुली बेच्छन् । त्यसैले, जे जसरी काम भए पनि मार्ग प्रशस्त गर्ने गरी अगाडि बढ्ने हो । समस्या समाधान गर्न कम्पनी र प्राधिकरणबीच प्रसारण सम्झौता भएको छ । त्यही आधारमा कुनै आयोजनाले हाम्रो प्रसारण प्रयोग गरेर प्राधिकरणको बिन्दुमा जोड्न चाहन्छ वा प्राधिकरणसँग पिपिए गर्न चाहन्छ भने हामी बाटो बनाइदिन्छौँ । पूर्वाधार प्रयोग गरेबापतको ह्विलिङ चार्ज दिनुपर्छ । यसलाई ‘अम्रेला एग्रिमेन्ट’ पनि भनिन्छ ।

कम्पनी र प्राधिकरणबीच सम्झौता भएपश्चात् १७/१८ वटा ग्रिड कनेक्सन एग्रिमेन्ट भइसक्यो । अब उनीहरू ‘ह्विलीङ चार्ज तिरेर अघि बढ्छौँ’ भन्छन् भने उनीहरूको आम्दानी सुनिश्चिता भयो । हामीले यो सन्देश दिएका छौँ । अर्को, सरकारलाई पनि प्रसारण प्रणाली ‘रेभिन्यू बेस्ड’मा जाँदैछ हुन्छ । दीर्घकालीनरूपमा सरकारलाई मात्र बोझ हुँदैन । जुन–जुन निजी क्षेत्रले हामीसँग सम्झौता गरे, उनीहरूका लागि पनि प्रसारणको मार्ग निश्चित भयो । पहिले विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने बेलासम्म ‘अन अप्टिमल’ लाइनका व्यवस्था आफैँ गर्नुपर्ने थियो ।

उदाहरणका लागि, चैनपुर सेतीको विद्युत् अत्तरिया सबस्टेसनमा जोड्ने गरी पिपिए हुँदा त्यो व्यवहारिक हुँदैन । हाम्रो लाइन बझाङ हुँदै दोदोधारा जोडिने भएपछि प्रवर्द्धकले छेउकै ग्रिडसँग जोडिएर प्राधिकरणसँग पिपिए गर्न पाए । त्यस्ता आयोजनाको प्रसारण लाइन लक भयो । वित्तीय व्यवस्थापनमा सहजता भयो । प्रसारण लाइनमा लाग्ने खर्च घट्ने भयो । प्रवर्द्धकको खर्च पनि घट्यो,  प्राधिकरणले बनाउन नसकेका आयोजना हामीले बनाएर सहयोग गर्‍यौँ । हामी आफैँ पनि व्यावसायिकरूपमा जाँदै छौँ भन्ने महसुस भयो । ‘प्रवर्द्धकलाई आयोजना समयमै सम्पन्न गर्नुहोस्’ लाइन हामी बनाउँछौ भन्ने सन्देश दिएका छौँ ।

निजी क्षेत्रले प्राधिकरण र ग्रिड कम्पनीसँग गर्ने ‘ग्रिड कनेक्सन एग्रिमेन्टमा के भिन्नता छ ?

यो एउटै हो । सिधै गर्ने हो भने प्राधिकरणसँगै गर्नुपर्छ । हाम्रो लाइन प्रयोग हुनेमा हामीमार्फत गए हुन्छ । अन्तरवस्तुमा खासै फरक पर्दैन । यो पनि केही समयसम्मका लागि मात्र हो; देशभरि एउटै लाइन नबन्दासम्म । त्यसपछि, एकीकृत प्रणाली लागु हुन्छ ।

पूर्व–पश्चिम, उत्तर–दक्षिण उच्च क्षमताका लाइनको विकास गर्ने हाम्रो योजना छ । अहिलेसम्म कति वटा आयोजनाको निर्माण वा अध्ययन भइरहेको छ र कति वटा पाइपलाइनमा छन् ?

करिब १० वटा प्रसारण लाइन विकासका क्रममा छन् । ती मध्ये ३ वटाको निर्माणमै गइसके । जसमा, १३२ केभीका २ वटाको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । अर्को, कर्णाली कोरिडोर ४०० केभीको देशकै ठूलो लाइन आयोजना हो । जुन, ९५ किलोमिटरको एउटै प्याकेज छ ।

यसैगरी, भेरी र सेती कोरिडोरको निर्माण यो आर्थिक वर्षमै सुरु गर्छौँ । बाँकी पनि निर्माणको तयारीमा छन् । लगभग ६० अर्ब रुपैयाँका आयोजना निर्माणाधीन र निर्माणमा जाने तयारीमा छन् । २० अर्ब रुपैयाँका आयोजना अर्को एक वर्षभित्र निर्माणमा जानेछन् । लगभग २०/२२ अर्ब रुपैया बराबरका आयोजना आगामी ३/४ वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ तयारी भइरहेको छ । कम्पनी स्थापनापछि एक खर्ब रुपैयाँ बराबरको प्रसारण क्षेत्रको ‘पोर्टफोलियो’ तयार भइसकेको छ ।

दुई–तीन वर्षभित्रै सञ्चालनमा आउने आयोजना कति छन् ?

१३२ केभीका दुई आयोजना यसै आर्थिक वर्षभित्र पूरा हुन्छन् । कर्णाली कोरिडोर ३ वर्षमा सकिन्छ । भेरी कोरिडोर यो वर्ष ठेक्का सम्झौता भएमा अर्को ३ वर्षमा सकिन्छ । लगानी सुनिश्चित गरी आउने ४ वर्षमा सेती कोरिडोर पूरा गर्ने लक्ष्य छ । बाँकी कालिकोटादेखि हुम्लासम्म, भेरी कोरिडोरको नलगाडदेखि दुनै लगायत आयोजना पनि अगाडि बढिरहेका छन् । अबको १० वर्षभित्र विकास गर्नुपर्ने आयोजनाका लागि पनि योजना बनिरहेका छन् । यो नियमित प्रक्रिया हो ।

विगतका इतिहास हेर्दा प्रसारण होस् वा उत्पादन आयोजना ३/४ वर्षमा पूरा भएका उदाहरण छैनन् । हामीले निर्धारण गरेको लक्ष्यअनुसार काम हुन्छ भन्ने आधारहरू के के देख्नुहुन्छ ?

हाम्रो लक्ष्य समयमै सम्पन्न गर्ने हो । प्रसारण लाइन निर्माण गर्दा थुप्रै निकाय वा मन्त्रालयसँग समन्वय नगरी सम्भव हुँदैन । सबैसँग सहकार्य र समन्वय गरेरै जानुपर्छ । यसको समस्या पहिचान भएपछि विभिन्न निकायबाट आ–आफ्नो ठाउँबाट पहल गर्छौँ । जग्गा अधिग्रहणको क्षेत्रमा आक्रामकरूपमा जानुपर्छ भन्ने सरकारले नीति लिएको छ । आशा गरौँ, यो नीति विकासमैत्री बनोस् । सरकारले ‘ऊर्जा दशक’ अभियान चालेको छ । यो दशक आफैँमा आक्रामक छ । प्रसारण लाइन यसको एउटा सहयोगी पक्ष भएकोले हाम्रो लक्ष्य पनि हासिल हुनेछ । यसका नीतिगत खाली ठाउँ सम्बन्धित निकाय वा सरकारबाट पूर्ति होला भन्ने आशा छ । चुनौती छन् तर आत्मबलका साथ अघि बढेका छौँ ।

प्रसारण लाइन विकासमा सबैभन्दा ठूलो चुनौती स्रोतकै छ । सरकारले १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त विद्युत् प्रसारण गर्न कति स्रोतको आवश्यक देखिन्छ र यसमा हाम्रो तयारी के छ ?

आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य छ तर लक्ष्य राखेरमात्रै भएन । त्यसलाई प्रसारण गर्नुपर्‍यो । स्वदेश तथा विदेशका लोड सेन्टरमा पुर्‍याउनुपर्छ । यसैले, प्रसारण प्रणालीमा उल्लेख्य लगानी हुनुपर्छ । हामीले अध्ययन गरे अनुसार १२ वर्षमा यस क्षेत्रमा लगभग ५ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । १ खर्ब आइसक्यो । त्यो १ खर्ब आगामी ५ वर्षका लागि, त्यो पनि यो ग्रीड कम्पनीले पहिचान गरेका आयोजनामा मात्र । प्राधिकरणले पहिचान गरेका आयोजनाको हिसाब गर्दा थप त्यति नै आवश्यक पर्न सक्छ ।

यसरी, आगामी ५ वर्षमा २ अर्ब रुपैयाँ आवश्यक पर्ने देखियो । थप ५ वर्षमा २.५ खर्ब जति चाहिन्छ । यसरी १० वर्षमा ५ खर्ब रुपैयाँ बराबरको स्रोत चाहिन्छ । त्यो सरकारको नियमित लगानीबाट सम्भव छैन । आक्रामकरूपमा केही काम गर्नुपर्छ । हामीले प्रसारण प्रणालीमा द्विपक्षीय र बहुपक्षीय दाताबाट सहयोग भित्र्याउनुपर्छ । साथै, एक्जिम बैंकहरूसँग साझेदारी गर्नुपर्ने हुन्छ । अर्कोतर्फ, अब ह्विलिङ चार्जको व्यवस्था नगरी हुँदैन । यसले पनि हामीलाई चाहिने केही स्रोतको सुनिश्चितता गर्छ ।

सरकारको मात्र भर परेर बस्न हुन्न । हामीले ५ खर्बमा ४ खर्ब रुपैयाँ जति वैदेशिक निकायबाट सहुलियतपूर्ण ऋण लिनुपर्ने छ भने १ खर्ब सरकारको नियमित बजेटबाट व्यवस्था गर्नुपर्छ । ह्विलिङ चार्ज तोकेर समग्र प्रणालीलाई अनबन्डलिङ गर्नुपर्छ । त्यसपछि, प्रसारण प्रणालीको जति योगदान हो, त्यति ह्विलिङ लिनुपर्‍यो । यति गरियो भने समग्र प्रणाली ‘अटोनोमस’ हुन्छ । तब, प्राधिकरणमात्र होइन, सिंगो राष्ट्रको प्रसारण प्रणाली स्वचालितरूपमा चल्न सक्छ । आफ्नो व्यवसाय आफैँ गर्न सक्छ ।

पछिल्ला वर्षहरूमा उत्पादनमा जस्तै प्रसारणमा पनि निजी क्षेत्रलाई प्रवेश गराउने बहस हुँदै आएको छ । यसो गर्दा स्रोतको संकुचनमा केही खुकुलोपन हुन्थ्यो होला । यसमा कतिको सम्भावना देख्नुहुन्छ ?

यसमा निजी क्षेत्रको पहुँच पुर्‍यायउन सकिन्छ । यद्यपि, जलविद्युत् जस्तो हरेक प्रसारण लाइनमा निजी क्षेत्र नआउन सक्छ । किनकि, प्रसारण प्रणाली भनेको ‘नेचुरल मोनोपोली’ पनि हो । यसमा राज्यको दायित्व बढी हुन्छ । कुनै समान कोरिडोरमा जलविद्युत् आयोजना विकास गरिरहेका प्रवर्द्धकहरूले त्यहाँ विद्युत् प्रवाह गर्ने लाइन साझेदारीमा बनाउन सक्छन् । निजी क्षेत्रलाई प्रवेश गराउने यो एउटा मोडल हुन सक्छ । नीतिगत रूपमा प्रसारण लाइन विकासमा निजी क्षेत्रलाई स्वीकारिएको छ तर व्यवहारिकरूपमा केही समयसम्म ‘नेचुरल मोनोपोली’ रहेकोले उसलाई रुची नहुन सक्छ । यद्यपि, कुनैमा विदेशीको ऋण, कुनैमा निजी क्षेत्र र कुनैमा सार्वजनिक साझेदारीमार्फत यो एउटा मिक्स मोडलबाट नेपालको प्रसारण प्रणाली विकास गर्न सकिन्छ ।

भिडियाे अन्तर्वार्ता

विद्युत ऐन, २०८० को मस्यौदामा विस्तृत छलफल भइरहेको छ । के कस्ता विषय समेटिए भने प्रसारण लाइन विकासलाई सहज हुन्थ्यो भन्ने ठान्नुहुन्छ ?

हुन त, प्रसारण प्रणाली एउटा मोडेल क्षेत्र भयो । एउटा भनेको विधि, हल भनेको लगानी हो । अर्को, जग्गा प्राप्ति र स्थानीय समन्वयको पाटो छ । यी मुख्य समस्या हुन् । यी सबै समस्या एकै पटक हल हुने गरी ऐन आउन गाह्रो देखिन्छ । यद्यपि, एउटा जग्गा प्राप्ति र अधिकार क्षेत्रको वनको जग्गाको समस्या ऐनले सम्बोधन गरिदिए हुन्थ्यो । एउटा प्रणालीमा बढी नतिजाको आशा गर्दा त्यही अनुसार सहजीकरण पनि गर्नुपर्छ । हामीलाई प्रणालीले त्यही अनुसार स्तरोन्नति पनि गर्नुपर्‍यो । अहिलेकै हिसाबबाट बढी आशा गर्नुपर्ने कारण देखिँदैन । अतः जग्गा प्राप्ति र वन क्षेत्रको जग्गाको स्पष्टता ऐनले गरिदियो भने सम्भवतः प्रसारण प्रणालीको जुन मर्म छ, जुन हाम्रो लक्ष्य छ, त्यो पूरा गर्न सकिन्छ ।

प्रसारण लाइन निर्माणमा चीन र भारतको उदाहरण लिँदा वा त्यो भन्दा पर विकसित देशहरूको अभ्यास हेर्दा कस्ता प्रविधिहरू भित्रिरहेका छन् ? हामी त्यसलाई अनुसरण गर्न सक्ने अवस्थामा छौँ, जसले हाम्रो निर्माण कार्यलाई गति दिन सकोस् ?

प्रसारण र सर्वेक्षणमा जुन प्राविध र विधि छन् वा विकास भएका छन् । हामीले सबै प्रयोग गरिरहेका छौँ । चीन र भारतमा पहिला राज्यले नै निर्माण गथ्र्यो । राज्य अन्तर्गत विद्युत सेवा दिने संस्थाहरू टुक्रिए । प्रसारण क्षेत्र पनि नाफामूलक हुनुपर्छ, सधैँ सरकारले पाल्ने काम गर्नु हुँदैन भनेर अहिले भारत र चीनले निजी क्षेत्रलाई भित्र्याइसकेका छन् । भारतमा ५६ प्रतिशतमात्रै राज्यको लगानी छ, प्रसारण क्षेत्रमा । यसमा जनताको पनि सेयर लगानी छ । त्यस्तै, चीनमा पनि पूरै ‘सेल्फ रेगुलेटेड’ संस्था भइसके । हाम्रो जाने बाटो पनि त्यही हो ।

सधैँ अनुदान र सरकारी बजेटबाट मात्रै निर्माण गर्ने/गराउने हुनु हुँदैन । यद्यपि, हामीलाई केही समयसम्म त्यो जरुरी छ । प्रसारण प्रणाली विकासका सन्दर्भमा सरकारले अधिक प्राथमिकताका रणनीतिक आयोजनालाई आफ्नै लगानीबाट बनाउनुपर्ने हुन्छ । केही आयोजनालाई वैदेशिक ऋणमार्फत र केही निजी क्षेत्रलाई दिएर विकास गर्नुपर्छ । निजी क्षेत्रले नाफा देख्छ र लगानी गर्न चाहन्छ भने दिनुपर्छ । प्रसारण प्रणाली प्रतिस्पर्धाबाट सञ्चालन गर्न आह्वान गर्ने र वार्षिकरूपमा जसले कम लागत दाबी गर्छ, उसैलाई दिन सकिन्छ । यसो हुँदा, लाइन प्रयोग भए वा नभए पनि वार्षिकरूपमा निश्चित आम्दानी हुन्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एउटा मोडल बनाएको छ । सायद, त्यसलाई पनि केही प्रसारण लाइनमा प्रयोग गर्छौँ । यति भन्दा भन्दै पनि हाम्रो समस्याको चुरो सबै मोडल लागु गर्नका लागि समयमा आयोजना पूरा गर्न स्थानको स्पष्टता हुनुपर्‍यो । त्यो क्लियरेन्स भनेको जग्गा प्राप्ति र वन क्षेत्र नै हो । प्रसारण लाइनले वन क्षेत्रको धेरै जग्गा ओगट्यो, वन क्षेत्र घटायो भन्ने कुरा हुन्छ ।

हामीले गरे अध्ययन अनुसार १३२ केभीले १८ मिटर, २२० ले ३० मिटर र ४०० केभीले ४६ मिटरको कोरिडोर लिने हो । अहिले, हाम्रो गुरुयोजनामा सबै प्रसारण लाइनको ८/९ हजार किलोमिटर छ । सबैलाई गणना गरेर ५० प्रतिशत मान्दा पनि त्यसले वन क्षेत्रको जम्मा ०.१ प्रतिशत ओगट्छ । नेपालमा ४६ प्रतिशत वन क्षेत्रमा ०.१ प्रतिशत तलमाथि हुँदा के असर पर्छ ? प्रसारण लाइनले वन विनाशलाई बढावा दिने होइन, संरक्षण पनि गर्छ । उदाहरणका लागि, ४०० केभीको ४६ मिटर कोरिडोरमा सबै सफाचट गर्नु पदैन । आधा जग्गामा कम उचाइका रूख विरुवा हुर्किन सक्छन्  ।

त्यसले, ‘इको सिस्टम’को काम गर्छ । अर्को, चुरे र निजी जग्गाको सीमाबाट प्रसारण लाइन बनाउन सकियो भने त्यसले आगलागीबाट बचाउँछ । सम्भावित चुरे अतिक्रमणमा प्राकृतिक पर्खाल बन्छ । प्रसारण लाइन वन विकासको बाधक होइन, साधक हुन सक्छ । एक–अर्काको परिपूरकको काम गर्न सक्छ । अतः कसरी हामी त्यो ठाउँ ‘क्लियर’ गर्न सक्छौँ, त्यति नै नयाँ मोडलहरू सफल हुन्छन् । समस्या यथावत् राखेर कुनै मोडल सफल हुँदैनन् । उता, जलविद्युत् आयोजनासँग गरेको सम्झौता अनुसार लाइन तयार नभए क्षतिपूर्ति तिर्नुपर्छ । त्यसैले, जग्गा प्राप्ति महत्त्वपूर्ण पक्ष हो ।

सरकारले सीमापार विद्युत् व्यापारमा समेत काम गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारसँग जोड्न कम्पनीले कति वटा लाइनलाई पाइपलाइनमा राखेको छ ?

प्रसारण प्रणाली भनेको विद्युत् हिँड्ने बाटो हो । आयात–निर्यात दुवैका लागि बाटो चाहिन्छ । उत्पादित विद्युत् आन्तरिक खपत भएन भने बेच्नुपर्छ । गुरुयोजना अनुसार भारतसँग ६ वटा र चीनसँग २ वटा बिन्दुबाट बिजुली निर्यात गर्ने भनिएको छ । ढल्केबर–मुजफ्फरपुर लाइन सञ्चालनमा छ । ढल्केबर–सीतामणी केही समयपछि तयार हुन्छ । बुटवल–गोरखपुर निर्माणाधीन छ । इनरुवा–पुर्णिया र दोदोधारा–बरली गुरुयोजनामा इंगित भएका छन् ।

साथै, चीन जोड्ने लाइनको हकमा रसुवागढी–केरुङ अघि बढिसकेको छ । यो केही वर्षमा टुंगिन्छ । अर्को, किमाथांकादेखि तिब्बतको लात्से भन्ने हबमा जोड्ने योजना छ । अर्को, अनारमणिदेखि बंगालदेशसम्म जोड्ने लाइन पनि प्रस्ताव गरेका छौँ । त्यसमा केही जटिलता छन् । यो भारत हुँदै जाने भएकोले भारतको चासो छ । बंगलादेशले सिधै नेपालको जलविद्युत्‌मा लगानी गर्ने इच्छा देखाएकोले दीर्घकालीनरूपमा त्यो लाइन पनि बन्ने छ ।

यी बाहेक ग्रिड कम्पनीका थप योजनाहरू के–के छन् ?

अहिलेको योजना १० वर्षका लागि हो । थप १५ वर्षका लागि पनि आयोजनाहरू पहिचान भएका छन् । तिनको अहिले नै अध्ययन र लाइसेन्सिङ सुरु गर्ने हो भने अगाडि बढ्न सकिन्छ । १० वर्षलाई हेरेर नै यसको आवश्यकता र दायित्वतर्फ दृष्टिगत गरेका छौँ । लाइन निर्माणमा मात्रै नभएर अर्को मुख्य चुनौती सञ्चालनमा पनि छ । मुनाफा हुने गरी आयोजना कसरी सञ्चालन गर्ने ? सरोकारवालालाई कसरी आवद्ध गराउने भन्ने लगायत कुराहरू छन् । त्यसतर्फ, केन्द्रित हुनुपर्ने छ ।

तत्कालका समस्या समाधानपछि मात्र अर्को समाधान गर्नेतर्फ जानुपर्छ । लाइनको निर्माणमात्रै ठूलो कुरा होइन । त्यसको सञ्चालन, सबै सरोकारवालालाई खुल्ला पहुँच प्रदान गर्ने लगायत कुरा महत्त्वपूर्ण छन् । यी कुराहरू ‘टाइमलाइन’मा भने आएका छैनन् । आजभन्दा ६/७ वर्ष पहिले लाइनको खासै चर्चा हुन्थेन । सबैको ध्यान उत्पादनमै केन्द्रित थियो । अहिले, उत्पादन पर्याप्त भयो । अब, यसका लागि लाइन आवश्यक पर्‍यो । लाइन निर्माण गरिसकेपछि अरू समस्या देखा पर्छन् । थप चुनौती आउँछन् । तिनलाई समाधान गर्दै जाने पक्षमा हामी केन्द्रित छौँ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३