काठमाडौं । सुपर माई हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत मंसिर २१ गतेदखि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको सेयर आवेदन अवधि आज (पुस १३ गते) साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले स्थानीयका लागि जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गरेको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर इलाम जिल्लाका स्थानीयका लागि छुट्याइएको छ ।
उक्त सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानियका लागि ४० प्रतिशतले हुन आउने २ लाख कित्ता सेयर अति प्रभावित क्षेत्रमा इलाम नगरपालिका ५, २, माइ जोगमाई गाउँपालिका ५ का स्थानीयका लागि छुट्याएको कम्पनीले जनाएको छ ।
आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य क्षेत्रमा वसोबास गर्ने वासिन्दाहरूका लागि कम्पनीले ६० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर छुट्याएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकहरूका लागि खुल्ला गरेको सेयर आवेदन भने पुस ६ गते नै बन्द भएको थियो । वैदेशिक रोजगारीमा रहेकाहरुको नेपालीहरूको लागि ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार सर्वसाधरणका लागि छुट्याएको ५ लाख कित्ता मध्येको १० प्रतिशतले हुन आउने ५० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा काम गरीरहेका नेपालीहरुका लागि छुट्याएको हो ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजको सञ्चालनमा छ ।