काठमाडौं । जलविद्युत तथा सौर्य विद्युत उत्पादनमा ख्याति कमाएको अपि पावर कम्पनी लिमिटेड र सौर्य परियोजना निर्माण एवम् हरित हाइड्रोजनमा काम गर्दै आएको भारतको ग्रिनजो इनर्जी प्रालि मिलेर नेपालमा ५ मेगावाटको आयोजनामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने भएका छन् ।
हरित हाइड्रोजनसँगै अमोनिया उत्पादन गर्ने विषयमा अपि पावर र ग्रिनजोबीच यसअघि नै सम्झौता भइसकेको छ । सुरुमा १ मेगावाटको आयोजनाबाट काम सुरु गर्ने भने पनि अहिले ५ मेगावाटको सोलारबाट हरित हाइड्रोजन तथा अमोनिया उत्पादनको प्रक्रिया अगाडि बढाइएको अपि पावरका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले बताए ।
अपि पावरले गत साउन १ गते ग्रिनजो इनर्जीसँग सम्झौता गर्दा दार्चुलामा निर्माण भएको ८.५ मेगावाटको नौगाड गड जलविद्युत आयोजनालाई आधार मानी १ मेगावाट विद्युत भण्डारण गर्न सक्ने हाइड्रोजन प्लान्ट विकास गर्ने उल्लेख थियो । तर, अहिले अमोनिया समेत उत्पादन गर्ने गरी ५ मेगावाटको सोलार प्लान्ट छनोट गरिएको जनाइएको छ ।
यसका लागि अपि पावरले चन्द्रनिगाहपुरमा निर्मित ४ मेगावाट र १ मेगावाटको सिमरा सोलारको प्रारम्भिक अध्ययन गरिरहेको छ; जसको अध्ययन तथा निर्माण प्रक्रियामा जोडिएको छ, ग्रिनजो इनर्जी । नेपालमा हरित हाइड्रोजन उत्पादनको ठूलो सम्भावना रहेको हुँदा यसमा लगानी बढाउँदै लैजाने योजना रहेको ग्रिनजोका प्रबन्ध निर्देशक सन्दिपकुमार अग्रवाल बताउँछन् ।
हरित हाइड्रोजन, अमोनिया र उत्पादन अवस्था तथा यसको सम्भावना बारे ऊर्जा खबरले नयाँ दिल्ली क्षेत्रमा गरेको स्थलगत अध्ययनका क्रममा समेत अग्रवालले भनेका थिए, ‘युरोपमा विकसित प्रविधिलाई भारतले व्यावसायिकरूपमा विस्तार गर्न लागेको हुँदा यसलाई सजिलै नेपालमा स्थानान्तरण गर्न सकिन्छ । अपि पावर र ग्रिनजो मिलेर नेपालमा ५० मेगावाटको हरित हाइड्रोजन र अमोनिया उत्पादन गर्ने परियोजना विकास गर्ने योजना छ ।
उक्त परियोजना विकास हुँदा नेपालमा प्रतिघण्टा ५० मेगावाट ऊर्जा खपत हुने प्रतिदिन ४० हजार टन हरित अमोनिया उत्पादन हुने अध्ययनले देखाएको छ । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले समेत सञ्चालक समितिको ८९९ बैठकमा नेपाललाई हरित अमोनियाको क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गरेका छन् ।
एक अध्ययन अनुसार नेपालमा नेपाली सेना र अन्य प्रयोगका लागि भारतबाट मात्र वार्षिक १५ अर्ब रुपैयाँ भन्दा बढीको अमोनिया आयात भइरहेको छ । सेनाले उपयोग गर्ने अमोनिया मात्र पनि नेपालमै उत्पादन गर्न सक्ने हो भने ठूलो परिमाणमा भारत जाने पुँजी देशमै रोकिने र यसले व्यापारघाटा तथा भुक्तानी सन्तुलनमा रचनात्मक प्रभाव पार्ने यस क्षेत्रका विज्ञहरू बताउँछन् ।
उता काठमाडौं विश्वविद्यालयले समेत हरित हाइड्रोजन र अमोनियाको क्षेत्रमा व्यापक अध्ययन तथा अनुसन्धान गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणसँग अध्ययन तथा थप काम गर्ने विषयमा सम्झौता समेत गरिएको छ । यसले नेपालमा हरित हाइड्रोजन उत्पादनको क्षेत्र फराकिलो बन्दै गएको देखिन्छ ।
अनुकूल वातावरण भएमा ५ मेगावाटको परीक्षण परियोजना ७ महिनाभित्र निर्माण गरी अपि पावरलाई हस्तान्तरण गर्न सकिने अग्रवालले बताए । ‘हामीले अपिसँग मिलेर सोलारमा धेरै काम गरिरहेका छौं, नेपालमा हरित हाइड्रोजन र अमोनिया उत्पादनको ठूलो सम्भावना देखेर नै यहाँ लगानी भित्र्याइरहेका छौं,’ उनले भने, ‘भारतमा काम गर्ने धेरै कम्पनीहरू छन्, यस्ता परियोजनामा मिलेर काम गर्न सक्यौं भने नेपालसँग हाम्रो व्यापारिक सम्बन्ध दरिलो हुनेछ ।’
अध्ययनअनुसार ५ मेगावाटको परियोजना दैनिक १६ घन्टा सञ्चालन गर्दा यसबाट ८ हजार किलोग्राम हरित अमोनिया उत्पादन गर्न सकिन्छ । विद्युत नियमन आयोगले तोकेको सौर्य विद्युतको खरिद दर प्रतियुनिट ५.९४ रुपैयाँलाई आधार मान्दा, यो भन्दा धेरै गुणा हरित अमोनियाबाट आम्दानी गर्न सकिने देखिएको छ । सोही ५ मेगावाटको सोलार आयोजनाबाट हरित हाइड्रोजन तथा एमोनिया उत्पादन गरी बिक्री गर्दा प्रतियुनिट ११ रुपैयाँ प्राप्त हुने पनि अध्ययनले देखाएको छ ।
हालै बेलायतले हाइड्रोजन बैंक निर्माणका लागि हरित हाइड्रोजन र अमोनिया उत्पादकहरूसँग उत्पादित अमोनिया खरिद गर्न ३ अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेको छ । यसैगरी, भारतले उत्पादकहरूबाट हाइड्रोजन र अमोनिया खरिदको सुनिश्चितता गरिदिने नयाँ नीति घोषणा गर्ने तयारी गरिरहेको छ । नेपालले पनि देशलाई आत्मनिर्भर बनाउँदै विदेशबाट अमोनिया आयात रोक्नका लागि हरित हाइड्रोजन र अमोनिया विकासलाई प्रवद्र्धन गर्नुपर्ने बेला आएको विज्ञहरूको भनाइ छ ।