काठमाडौँ । भाेटेकाेसी नदीमा आएकाे विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ए (६० मेगावाट) जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृह तथा बाँध क्षेत्रमा फसेका कर्मचारीहरूको उद्धारका लागि पुरिएको केबल सुरुङकाे मुख खाेल्ने कार्य तीव्र बनाइएकाे छ । नेपाली सेना तथा दक्ष जनशक्तिको सहभागितामा आवश्यक उत्खनन उपकरण प्रयोग गरी उद्धार कार्य अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार विद्युत्गृहभित्र प्रवेश गर्ने केबल सुरुङको मुख पुरिएपछि कर्मचारीहरूको उद्धारमा जटिलता थपिएको छ । उक्त प्रवेशमार्ग खोल्न नेपाली सेना र प्राविधिक जनशक्तिले कठिन भौगोलिक अवस्थामा निरन्तर काम गरिरहेको छ । आयोजना स्थलको अवस्था तथा भौगोलिक जटिलताका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।
स्थानीय प्रशासनले शुक्रबार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा डोजर पुर्याएर उद्धार तथा उत्खनन कार्य तीव्र बनाइएकाे जनाएकाे छ । यद्यपि, उद्धार कार्यमा आवश्यक उपकरण हवाईमार्गबाट पुर्याउने निर्णय ढिलो भएको भन्दै सम्पर्कविहीन कर्मचारीका परिवारजन तथा आफन्तले गृह प्रशासनसमक्ष प्रश्न गरिरहेका छन् ।
यसैबिच, गृह मन्त्री सुदन गुरुङसमेत आयोजनास्थल पुगेकाे खबर आएको छ ।