विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सोलुखुम्बु । गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नुका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । ३ हजार ८ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् ।

थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रूपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरू बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।

‘संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए । बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन’, उनले भने ।

थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौ ५ गते काठमाडौंस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गइ पानीको छाल तल्लो हिमतालमा बजारिएको बताए । त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको प्राविधरणको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए ।

हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभूत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरूमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । उहाँका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पुर्‍याउँदा करिब ९०० घर अन्धकारमा बस्न बाध्य छन् ।

बाढी आएको भोलिपल्ट संघीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर १५ हजार रुपैयाँका दरले वितरण भएको रकमखुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताए । ‘खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । अहिले १०० बढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ’, उनले भने ।

बाढी पुनः आउनसक्ने जोखिमलाई दृष्टिगत गरी ३ वटा सुरक्षा निकायको सहयोगमा आंशिक क्षति भएका घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको प्रजिअ खत्रीले जानकारी दिए । पूरै थामे क्षेत्रमा ढुङ्गा, गिट्टी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा गाउँ प्रभावित बनेको उनको भनाइ छ ।

थामे गाउँमा १ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ खत्रीले बताए । उनका अनुसार थामेको शिरमा ५ वटा साना–ठूला हिमताल छन् । गत साउनमा २ वटा हिमताल फुटेको भन्दै अरू पनि जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । ६५ घरका करिब १२० जना विस्थापित बनेका छन् । अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ) मा कोही आफन्तको घरमा, सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बसिरहेका उनको भनाइ छ ।

पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्न सहज नभएको प्रजिअ खत्रीले बताए । सिंगो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले पनि धेरै दिन आश्रय दिनसक्ने अवस्था नरहेको भन्दै तत्काल बसोबासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

गाउँका अधिकांश पुरुष पर्यटन व्यवसाय, वैदेशिक रोजगारीका क्रममा गाउँबाहिर छन् । यहाँ धेरैजसो महिला र बालबालिका बस्छन् । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, गरगहनासहितका सामग्री बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोखे । तत्कालका लागि बासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन् । ‘सबैथोक गुमाएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ । आफन्तसँग आश्रय लिएर कति दिन बस्ने?’, ताराले प्रश्न गरे ।

तापक्रम वृद्धि हिमपोखरी फुटनुको प्रमुख कारण ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र यसले अनिष्ट निम्त्याउने संकेत देखिएको अनुसन्धानका क्रममा स्थानीयले बताएका उल्लेख गरे । ‘हिमताल फुट्नुका कारण तापक्रम बढ्नु हो । जुलाई र अगस्तमा तापक्रम बढी भएकाले पनि यस्तो भएको हो’, उनले भने । 

थामेको शिरमा रहेका ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर हुनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औँल्याएको छ । हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तन (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेलले उल्लेख गरे ।

विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलसहित जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको अनुसन्धानले देखाएको उनको भनाइ छ ।

‘हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने हुन्छ । हिन्दू–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको ५ हजार मिटरको उचाइमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउन ७ दशमलव २ मिलियन अमेरिकी डलर खर्च भएको थियो । राष्ट्रसंघीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि छ’, जलवायुविज्ञ पोखरेलले भने ।

वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो बरुण र लुम्दिङ छोको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । पानी तत्कालै निकास गर्न ठूलो धनराशिको आवश्यक पर्ने बताउँदै जोखिम कम नगरे त्यसले निम्त्याउने असर विकराल हुने आकलन गरिएको जल तथा मौमम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलले बताए ।

कसरी आयो बाढी ?

खुम्बु क्षेत्रमा गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो ।

खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ सुमन ठकुरीका अनुसार एक दशकअघिको अध्ययनअनुसार सगरमाथा क्षेत्रमा साना(ठूला गरी ६२६ वटा हिमताल थिए । अहिले हिमतालको सङ्ख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरूले देखाएको उनले जानकारी दिए ।

बस्ती बीचबाट बग्ने थामे खोलाले साउन ३२ गते भने आफ्नो आकार परिवर्तन गरी सुन्दर बस्तीमा क्षति गरेको जलवायु परिवर्तन विज्ञ ठकुरीको भनाइ छ। ‘सन् १९८५ अगस्ट ४ (२०४२ साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना बगाएको थियो । त्यतिबेला ३० घर, १४ पुल बगाउनाका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो’, उनले भने ।

संघीय सरकारका सिनियर डिभिजन इन्जिनियरसमेत रहेका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदीले थामेमा ३९ वर्ष अघिकोभन्दा गत साउनमा आएको बाढी ठूलो भएको बताए । ‘त्यस क्षेत्र आसपासमा रहेको स्याङ्गबोचे विमानस्थलमा विगत १५ दिनमा करिब १४८ मिलिमिटर वर्षा भएको तथ्यांक छ’, उनले भने ।

जलवायु परिवर्तन असर अहिले हिमाली भेगमा पानी पर्न थालेको भूगर्भविद् द्विवेदीले जानकारी दिए । ‘बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुने, भिरमा जमेर रहेको बरफसहित माटोको ढिस्काले हिमपोखरी फुट्ने जोखिम बढेको हो’, उनले भने ।

राष्ट्रिय चासो आवश्यक

हिमाली क्षेत्रमा हुने बाढीपहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । विगतमा मनाङ, कागबेनी, मेलम्चीलगायत स्थानमा अस्वाभाविक बाढी आउँदा ठूलो क्षति भएका उदाहरण रहेका भन्दै प्राकृतिक विपद्को क्षति नियन्त्रण गर्न सरकारले गम्भीरपूर्वक योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा भूर्गभविद्ले जोड दिएका हुन् ।

थामेमा आएको बाढीबारे थप अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय निकाल्न सांसदहरूले माग गरेका छन् । यही भदौ २ गतेको राष्ट्रियसभाको बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आवश्यक अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न संघीय सरकारसँग माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३