काठमाडौँ । भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यका लागि अपि पावर कम्पनी लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार कार्यमा टेवा पुर्याउने र विपद्मा सरकारसँग सहकार्य गर्ने उद्देश्यले सहयोग गरिएको कम्पनीकी अध्यक्ष सिर्जना खड्काले जानकारी दिएकी छन् । आपत्कालीन राहतपछि प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना गर्न आवश्यकतानुसार थप सहयोग गर्न कम्पनी तयार रहेको उनले प्रतिबद्धता जनाएकी छन् ।
अपि पावरले बाढीका कारण जलविद्युत् आयोजना, भौतिक पूर्वाधार र जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । साथै, बाढीमा परी बेपत्ता भएका आयोजनाका कर्मचारी तथा सर्वसाधारणको द्रुत खोजी र उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग मागसमेत गरिएको छ । विषम् परिस्थितिमा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै आ-आफ्नो क्षेत्रबाट सहयोगमा जुट्न कम्पनीले आह्वान गरेको छ ।
नेपालको ऊर्जा क्षेत्रमा सक्रिय अपि पावरले हालसम्म ५६ मेगावाटका जलविद्युत् आयोजना र ६ मेगावाटका सौर्य (सोलार) आयोजना निर्माण सम्पन्न गरी नियमित विद्युत् उत्पादन गर्दै आएको छ । साथै, आफ्ना एक दर्जन सहायक कम्पनीमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार विकासका विभिन्न आयोजना सञ्चालनरत छन् ।