नेपालमा इन्जिनियरिङ कलेजहरूको वृद्धिसँगै इन्जिनियरिङ शिक्षा हासिल गर्न चाहनेहरूको सङ्ख्या बढ्दो छ । नेपाल इन्जिनियरिङ काउन्सिल ऐन, २०५५ बमोजिम स्थापित संस्था नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्कअनुसार हालसम्म इन्जिनियरिङका कूल ५५ विधामध्ये ४४ विधाका करिब ८५ हजार इन्जिनियरहरू काउन्सिलमा दर्ता छन् । काउन्सिलमा हालसम्म आबद्ध ५० भन्दा बढी इन्जिनियरिङ कलेजहरूले वार्षिक सरदर ३,५०० देखि ४००० इन्जिनियर उत्पादन गर्ने अनुमान गरिएको छ ।
नेपालमा इन्जिनियरहरूको छाता संगठनको रूपमा “नेपाल इन्जिनियर्स एशोसियसन (एनईए)” रहेको छ । "ज्ञान नै शक्ति, श्रम नै भक्ति" भन्ने मूल नाराका साथ नेपालको सर्वाङ्गीण विकासको क्रममा देशका इन्जिनियर समुदायको भूमिका सुव्यवस्थित र प्रभावकारी बनाउनको साथै समुदायको पेशागत हित र समुन्नतिका लागि सङ्गठित तवरले सामुहिकरूपमा काम गर्न मुनाफारहित एवम् गैरराजनैतिक सार्वजनिक प्रकृतिको गैरसरकारी सामाजिक संस्थाको स्थापना गर्ने उद्देश्यले सन् १९६२ (वि.सं. २०१९) मा स्थापना भएको यस एनईएले स्थापनादेखि नै इन्जिनियरको हकहितको विषयमा आवाज उठाउँदै आएको छ । यसमा हाल ४० हजारभन्दा बढी इन्जिनियरहरू आबद्ध छन् ।
मिति २०८१ साल भदौ ३ गतेसम्म नेपाल इन्जियरिनिङ परिषद्मा ४४ विधामा दर्ता भएका इन्जिनियरको सङ्ख्या ८५ हजार ३ सय १४ रहेको छ।जसमध्ये एशोसियसनमा दर्ता भएका सदस्य सङ्ख्या ४० हजार २ सय ६४ छन् ।दर्ता भएकामध्ये साधारण सदस्य ३२ हजार १ सय ४० छन् भने ८ हजार १ सय आजीवन तथा २७ जना फेलो सदस्य छन् ।३४औँ कार्यकारिणी समितिको निर्वाचनका लागि आजीवन, फेलो र नवीकरण गराई निर्वाचनका लागि योग्य भएका मतदाता १८ हजार ६ सय १ छन् । यसबाट के देखिन्छ भने नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएका भएकामध्ये ४७ प्रतिशतले एनईएमा आवद्ध हुन नै चाहेनन् ।
त्यसैगरी, दर्ता भएका साधारण सदस्यमध्ये आजीवन तथा फेलो घटाउँदा बाँकी रहेको मतदातालाई हिसाब गर्दा ३२.५ प्रतिशतले नवीकरण नै गर्न चाहेनन् ।यसबाट के प्रमाणित हुन्छ भने एनईए प्राज्ञिक, समावेशी एवम् समानुपातिक नभएका कारण यसलाई आस्थाको केन्द्र बनाउन नसकिएको हो । तसर्थ, यसप्रतिको आस्थालाई वृद्धि गर्न जरुरी देखिएको छ । एनईएको आकर्षणमा वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गर्ने एवम् प्राज्ञिक, समावेशी तथा समानुपातिकसहितको सशक्त पेशागत सस्थांको रूपमा स्थापित गरी सम्पूर्ण इन्जिनियर/आर्किटेक्टको अभिभावकीय संगठनको रूपमा विकास गर्नु आवश्यक छ ।
देशको विकास निर्माणमा योगदान पुर्याउने महत्त्वपूर्ण जनशक्ति मानिने इन्जिनियरिङ क्षेत्रको समाजमा उच्च पेशागत प्रतिष्ठा कायम रहँदै आएको छ । देशको प्राविधिक जनशक्ति राज्यको नीति निर्माणतहमा मूलप्रवाहीकरण हुन अझै सकेका छैन । नेपालको सार्वजनिक प्रशासनमा प्राविधिक प्रशासनको अवधारणा सैद्धान्तिकरूपमा रहेको पाइए पनि कार्यान्वयन भएको आभास हुन सकेको छैन । देशको शिक्षा, स्वास्थ्य, न्यायजस्ता क्षेत्रमा छुट्टै ऐनको व्यवस्था छ । यद्यपि, इन्जिनियरिङ क्षेत्रको छुट्टै ऐन हालसम्म नभएको अवस्था छ ।
विकास निर्माणका प्रमुख क्रियाकलापमा आयोजनाको आवश्यकता निर्धारण, आयोजनास्थल छनोट, जग्गा प्राप्ति, वातावरणीय मूल्याङ्कन, कार्यान्वयन रहेका हुन्छन् । विकास निर्माणका कार्यहरू कार्यान्वयन गर्दा, सम्बन्धित सरोकारवाला निकायबाट पूरा गर्नुपर्ने दायित्व समयमै पूरा नहुनु, समयमै बजेट उपलब्ध नहुनु, आवश्यक समन्वय तथा सहकार्य नहुनु जस्ता कारणले कार्यान्वयनमा ढिलासुस्ती हुने गर्दछ । यसको सिङ्गो जवाफदेहिता इन्जिनियरिङ समुदायले लिनुपर्ने अवस्था छ ।इन्जिनियरिङ समुदायले भोग्नुपरेका यी र यस्तै समस्या तथा चुनौतीका सम्बन्धमा सशक्त आवाज उठाउने महत्त्वपूर्ण निकाय एनईए नै हो ।
नेपाल इन्जिनियरिङ परिषद् र एनईएमा दर्ता हुने इन्जिनियरको सङ्ख्यामा ठूलो अन्तर रहेको मात्र होइन एनईएमा आकर्षण वृद्धि गराउन सकिएको छैन । यही कारण त्यो अन्तर वर्षैपिच्छे बढेर गइरहेको तथ्य चिन्ताको विषय बनेको छ । दक्ष र कर्मशील इन्जिनियरको सङ्ख्या वृद्धि हुँदै गइरहेको आजको प्रतिस्पर्धात्मक युगमा संस्थामा आबद्ध इन्जिनियर/आर्किटेक्टहरूको सङ्ख्या निरन्तर वृद्धि गरी यसलाई बलियो बनाउनुपर्ने आम इन्जिनियरिङ समुदायको मान्यता छ । त्यस्तो रूपान्तरणकारी भूमिका खेल्नका लागि एनईएका अनुभव र अठोट तथा पौरख र प्रतिबद्धता भएको नेतृत्वको आवश्यकता अपरिहार्य छ ।
तसर्थ, आगामी भादौ २८ गते एनईएको निर्वाचन हुन गइरहेको सन्दर्भमा निम्न मुद्दाहरू प्रमुखताका साथ उठाउनुपर्ने देखिन्छ :
(१) आम इन्जिनियर/आर्किटेक्टहरूको हकहित संरक्षण र सेवा/सुविधा प्रवर्द्धन
(२) रोजगार तथा पेशागत क्षमता अभिवृद्धि
(३) इन्जिनियरिङ शिक्षा नेपालमै
(४) नीतिगत सुधारमा जोड
(५) एनईएको सदस्यता वृद्धि र यसको गुणस्तरीयता अभिवृद्धि
(६) सहकार्य एवम् समन्वय
(७) संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध
(८) सम्मान तथा उत्प्रेरणा
यी सम्पूर्ण इन्जिनियरिङ समुदायका साझा मुद्दा हुन् ।एनईएप्रतिको आकर्षणलाई वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गर्नु अब निर्वाचित हुने नेतृत्वको कर्तव्य र दायित्वभित्र पर्नुपर्छ ।एशोसियसनको विधानबमोजिम केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समीति सदस्यसमेत समावेश छन्) ७ वटै प्रदेशका लागि ११२ गरी कूल १३० पदाधिकारी एवम् सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।
हालसम्म प्राप्त उपलब्धिलाई सुदृढ गर्न स्तरीय इन्जिनियरिङ शिक्षा, इन्जिनियरको सेवा, सुविधा तथा क्षमता अभिवृद्धि, इन्जिनियरको सम्मानजनक रोजगारी एवम् नवप्रवर्तन प्रवर्द्धन, इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास, इन्जिनियरको हकहितको संरक्षण, इन्जिनियरिङ पेशा र समाजबीच मर्यादित सम्बन्ध जस्ता बृहत् उद्देश्यमा अन्तरनीहित रही विभिन्न कार्यक्रमको माध्यमबाट देशको आर्थिक, भौतिक तथा पूर्वाधार विकासमा टेवा पुर्याउनु अपरिहार्य छ ।
इन्जिनियरिङको पेशागत मर्यादा, हकहित तथा क्षमता विकासका लागि थुप्रै कामहरू गर्नुपर्ने छ ।आफ्नो कार्य क्षेत्रमा सेवामा रहेको बेला इन्जिनियर/आर्किटेक्टप्रति दुर्व्यवहार गर्ने, मान-मर्दन गर्ने वा साङ्घातिक हमला गर्ने जस्ता आपत्तिजनक कार्यविरुद्ध कानूनी रूपमा सशक्त प्रतिवाद गरी हकहितको रक्षा गर्नुपर्ने आवश्यकता छ । स्नातक तहको इन्जिनियरिङ/आर्किटेक्ट डिग्री हासिल गरेका इन्जिनियर/ आर्किटेक्टलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराइएको पाइएकोले यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति इन्जिनियर समुदायको असहमति रहेको छ ।सबै निकायमा कम्तीमा सातौं तहलाई नै प्रवेश तह बनाउने कार्यमा सशक्त पहलको आवश्यकता छ।
त्यसैगरी, विद्यमान कानूनले तोकेको तलबमानमा नघट्ने गरी पारिश्रमिक एवम् सेवा सुबिधा उपलब्ध गराउन प्रभावकारी पहलकदमीको खाँचो छ । विद्यमान एनईए सदस्यहरूको बीमा पोलिसीको व्यापकरूपमा क्षेत्र विस्तार एवम् दुर्गम क्षेत्रमा कार्यरत इन्जिनियर/आर्किटेक्टले भोग्नु परेका कठिनाइको विषयमा आवाज उठाउँदै विभिन्न किसिमका सेवा सुविधामा कर छुटको लागि पहल गर्नुपर्ने आवश्यकता छ । दीर्घ रोगबाट पीडित इन्जिनियर/आर्किटेक्टको उपचारमा सघाउ पुर्याउन "दीर्घ रोग उपचार सहयोग कोष"को व्यवस्था गर्नुपर्ने छ ।
इन्जिनियरहरूले धेरै समयदेखि उठाउँदै आएको एजेण्डा इन्जिनियरिङ स्टाफ कलेज (Engineering Staff College) को अवधारणालाई मुर्त रूप दिनुपर्ने छ । स्वदेश तथा विदेशमा आफ्नो पेशा एवम् व्यवसायमा अनुभव हासिल गरी त्यसलाई नेपालमा लगाउँछु भनी सम्पर्कमा आउने अनुभवी इन्जिनियर/ आर्किटेक्टलाई विषयगत क्षेत्रमा सो आर्थिक-मानव पूँजी लगानी गर्न र नेतृत्व लिन देशको आर्थिक सामाजिक रूपान्तरणका लागि आवश्यक सम्पर्क, समन्वय र वातावरण तयार गर्न सके देशमा मानवपुँजीको विकासमा टेवा पुग्नेछ ।
उच्च इन्जिनियरिङ शिक्षा हासिल गर्न समेत दश जोड दुई पढेका विद्यार्थीहरू ठूलो सङ्ख्यामा विदेशी कलेजहरूमा जान लागेको र त्यसबाट स्वदेशको इन्जिनियरिङ शिक्षाको क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न “इन्जिनियरिङ शिक्षा नेपालमै” प्रत्याभूत गर्नुपर्ने आवश्यकता छ ।नेपालको विकासमा इन्जिनियरिङ क्षेत्रबाट विशेष योगदान दिने स्वदेश तथा विदेशमा रहेका इन्जिनियर एवम् अन्य संघ संस्थालाई तथा युवा अनुसन्धानकर्तामा उत्प्रेरणा प्रदान गर्न नयाँ परम्पराको थालनी गर्नु जरुरी छ । राष्ट्रिय महत्त्वका विकास निर्माणका विषयमा इन्जिनियर/आर्किटेक्टलाई अझ बढी जिम्मेवार बनाउँदै नीतिगत एवम् नेतृत्व तहसम्म जोड्न केन्द्र, प्रदेश र स्थानीय सरकारसित समन्वय गरी केन्द्रमा र हरेक प्रदेशमा विकास निर्माण एवम् नीतिगत बहस कार्यक्रमको थालनी हुनु छ ।
मुलुकको विकास र जनताको समृद्धिको निम्ति तीव्र आर्थिक विकासको सपना साकार पार्ने आम नेपाली जनताको चाहनालाई पूरा गर्नका लागि सम्पूर्ण इन्जिनियर/आर्किटेक्टको पेशागत मर्यादा र विश्वासलाई उच्च नैतिक बल, इमान्दारिता, पूर्ण उत्तरदायित्वका साथ आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न सक्ने नेतृत्व नै आजको आवश्यकता हो । यसका लागि लागि सम्पूर्ण प्रबुद्ध इन्जिनियर/आर्किटेक्टहरूले योग्य र सक्षम नेतृत्व चयन गर्ने नै छन् भन्ने आम अपेक्षा रहेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा उपनिर्देशकको जिम्मेवारीमा रहेका घिमिरे एनईएको ३४औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको तर्फबाट महासचिव पदका उम्मेदवार हुन् ।