खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नम्बर प्रदेश (हाल कोशी प्रदेश) का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत २१ गते उद्घाटन गरेका थिए ।
तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गरेको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थ मन्त्रालयको विशेष अनुदानबापत ३ करोड ३२ लाख रूपैयाँ तथा नगरपालिकाको १ करोड ५६ लाख रूपैयाँ लगानीमा स्थापना गरिएको हो ।
रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए । प्रतिघण्टा १ हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्यास प्लान्ट अहिले अलपत्र छ ।
१५ वटा वडा रहेको यस नगरपालिकालाई अर्गानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यसहित ४ करोड ५६ लाख रूपैयाँ लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधि आलोचित बनेका छन् । राज्यको करोडौँ लगानीमा स्थापना गरिएको २ उद्योग उद्घाटन गरेको ३ वर्ष ५ महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् ।
आफ्नो गाउँमा प्राङ्गारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना हुने भएपछि आफूले छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तत्कालीन नगरकार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताएका छन् ।
‘उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोकमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो । ‘उद्घाटन गरेको ४ वर्ष हुन लाग्यो । अहिलेसम्म सञ्चालनमा ल्याउने वर्तमान जनप्रतिनिधिको कुनै तयारी छैन’, जिल्लाका अगुवा कृषक रहेका विश्वकर्माले भने, ‘उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ । वर्तमान जनप्रतिनिधिले यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ ।’
उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो । ३ हजार ५ सय घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्यांकी) मा कच्चापदार्थ हालेर गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सीएनजीमा परिवर्तन गरेर एलपी ग्यासकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो ।
दिक्तेल बजारका शौचालयको ट्यांकीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्यास प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालनसमेत गरिएको थियो ।
नगरपालिकाले उद्योगमा स्थानीय ४ युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रूपमा रोजगारीसमेत दिएको थियो । लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन् ।
कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने नगरपालिकासँग यकिन तथ्याङ्क छैन । मलमूत्रका लागि २ लाख रूपैयाँमा खरिद गरिएका ३ भैँसीमध्ये एउटा मरेको र २ वटा ९० हजार रूपैयाँमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई ५ वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारी स्वरूप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताएका थिए ।
अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाई विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ । उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमा नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ ।
प्राङ्गारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, २ वटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिन्ह खडा भएको नगरवासीको गुनासो छ । मल उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ ।