विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
महालेखापरीक्षकको ६१औँ प्रतिवेदनः विद्युत् प्राधिकरणभित्र कैफियतै कैफियत

काठमाडौँ । हरेक वर्ष अर्बौँ अर्ब रुपैयाँ मुनाफाको अंक सार्वजनिक गर्दै आमसर्वसाधारण सामु लोकप्रिय देखिँदै आएको नेपाल विद्युत् प्राधिकरणका गतिविधि महालेखापरीक्षकको कार्यालयले भने शंकास्पद देखाएको छ ।

महालेखाले जेठ १३ गते सार्वजनिक गरेको ६१औँ प्रतिवेदनमा प्राधिकरणले अर्बौँ रुपैयाँ बक्यौता महसुल नउठाएको, सरकारलाई तिर्नुपर्ने साँवा–ब्याज नतिरेको, नियमानुसार विद्युत् रोयल्टी नतिरेको लगायत दर्जनौं विषय उल्लेख छ ।

आर्थिक वर्ष (आव) २०७९/८० मा सबैभन्दा बढी महसुल ट्रंक लाइन र डेडिकेटेड फिडरको औंल्याइएको छ । जुन वर्षौंदेखि विवादित पनि छ । महालेखाका अनुसार आव २०७८/७९ को तुलनामा २०७९/८० मा विद्युत् महसुल वक्यौता १०.४८ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । उक्त रकममध्ये ट्रंक तथा डेडिकेटेड लाइनतर्फका ६२ ग्राहकबाट असुल हुनुपर्ने २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यो रकम कुल बक्यौताको ४९.३६ प्रतिशत देखिएको छ ।

यसैगरी, सडक बत्तीको ६ अर्ब २ करोड रुपैयाँ रहेकोमा १ अर्ब ७९ करोड रुपैयाँ बक्यौता काठमाडौँ महानगरपालिकाको मात्र रहेको छ । बक्यौता रकम असुल गर्ने एवं ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता सम्बन्धमा आवश्यक समन्वय गरी असुल गर्न महालेखाले निर्देश गरेको छ ।

हरेक वर्ष नाफाको अंक सार्वजनिक गर्दै आएको प्राधिकरणले नियमितरूपमा सरकारलाई तिर्नुपर्ने ऋण तथा ब्याज पनि नतिरेको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले २०८० असारसम्म सरकारबाट २ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको देखिएको छ । आव २०७८/७९ सम्म भुक्तानी गर्न बाँकी ब्याज ३३ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा २०७९/८० मा बाँकी ब्याज २९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिवेदनमा भनिएको छ– सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र प्राधिकरणको हिसाब भिडान गर्दा यो वर्षसम्म २८ अर्ब ३८ करोडको हिसाब भिडान भएको छैन । प्राधिकरणले सरकारलाई भुक्तानी गर्नुपर्ने रकमको ऋण तालिका अद्यावधिक गरी सोही अनुरूप भुक्तानी गर्नु पर्दछ । अहिलेसम्म प्राधिकरणले सरकारलाई ब्याजसहित १ खर्ब ६ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको उल्लेख छ ।

विद्युत्‌काे विद्यमान अवस्था : प्राधिकरणबाट २०७९/८० मा उत्पादित विद्युत् २९३० गिगावाट घन्टा, अन्य उत्पादकबाट उत्पादित ७६०६ गिगावाट घन्टा तथा आयात १८३३ गिगावाट घन्टा समेत गरी १२३६९ गिगावाट घन्टा रहेको प्रतिवेदनमा उल्लेख छ । आव २०७९/८० मा ९३५८ गिगावाट घन्टा आन्तरिक बिक्री तथा १३४६ गिगावाट घन्टा विद्युत् निर्यात भएको छ ।

वित्तीय स्थिति : प्राधिकरणको २०८० असारसम्म सेयर पुँजी १ खर्ब ९९ अर्ब ३८ करोड रुपैयाँ, सञ्चित नाफा ३३ अर्ब ६४ करोड तथा अन्य कोष ८ अर्ब ४८ करोड रहेको उल्लेख छ । यस्तै, प्राधिकरणको दीर्घकालीन ऋण २ खर्ब १६ अर्ब ३० करोड, स्थगित कर दायित्व ८ अर्ब ३८ करोड, अन्य गैर चालु दायित्व ४५ अर्ब ३० करोड र चालु दायित्व ६५ अर्ब ७२ करोडसहित ५ खर्ब ७७ अर्ब २० करोड रुपैयाँ पुँजी तथा दायित्व पुगेको देखिएको छ ।

स्थिर सम्पत्तिमा २ खर्ब १५ अर्थ ५० करोड, निर्माणाधीन सम्पत्ति १ खर्ब ७६ अर्ब ४२ करोड, सेयर लगानी २७ अर्ब ८५ करोड तथा अन्य सम्पत्ति ४४ अर्ब ४६ करोड तथा १ खर्ब १२ अर्ब ९७ करोड चालु सम्पत्ति रहेको पनि उल्लेख छ । हालसम्म सञ्चित मुनाफा ३३ अर्ब ६४ करोड रुपैयाँ देखिए पनि प्राधिकरणले तिर्नु, मिलान गर्नुपर्ने दायित्व फरफार नगरेको प्रतिवेदनले औल्याएको छ ।

अन्तर–कार्यालय हिसाब : प्राधिकरणको अन्तर–कार्यालय हिसाब पनि राफसाफ नभएकोले वित्तीय विवरणमा खुद ८० करोड रुपैयाँ लिनुपर्ने देखिएको छ । समयमै हिसाब भिडान तथा मिलान गरी हिसाब मिलाउन पनि महालेखाले निर्देश गरेको छ । साथै, प्राधिकरणले विद्युत् परियोजना विकास गर्नका लागि सहायक कम्पनीहरू खडा गरेको र ३ सहायक कम्पनीमा १ अर्ब २७ करोड बराबरको हिसाब हस्तान्तरण नगरेको पनि औंल्याएको छ ।

बैंकमा रकम नगरेको : आव २०७८/७९ सम्म नगद मौज्दात १ अर्ब २३ करोड रहेकोमा विगत लामो समयदेखि १ करोड ७९ लाख बैंकमा जम्मा भएको प्रतिवेदनमा उल्लेख छ । नगद रकममा ऋणात्मक मौज्दात ८८ लाख रहेको देखिएको छ । नगदमा देखिएको कैफियतका सम्बन्धमा छानबिन गरी हिनामिना रकम असुल गर्न निर्देश गरिएको छ ।

स्रोतमा करकट्टी : प्राधिकरणले स्रोतमा करकट्टी १ अर्ब ८५ करोड, मूल्य अभिवृद्धि कर १ अर्ब ७२ करोड र अग्रिम कर १ अर्ब ७० करोड दाखिला गरेको देखिएको छ । नेपालमा भएका विदेशी स्थायी संस्थाले कर बीजक जारी गरेको अवस्थामा सो निकायको विदेशमा सञ्चालित बैङ्क खातामा भुक्तानी गर्दा आयकर ऐन, २०५८ को दफा ८९ (३) बमोजिम ५ प्रतिशत स्रोतमा करकट्टी गर्नुपर्छ । तर, यसो गरेको नदेखिएको महालेखाले किटान गरेको छ । एक परियोजनामा १९ करोड ६३ लाख ३७ हजार रुपैयाँको भुक्तानी गर्दा १.५ प्रतिशतमात्र स्रोतमा करकट्टी गरेकोले नपुग ६८ लाख ७१ हजार कर दाखिला हुनुपर्ने उल्लेख छ ।

जरिबाना : त्रिशूली ३ बी हब सबस्टेसन परियोजनामा प्राधिकरणको निर्णयअनुसार निर्माण व्यवसायीसँग असुल गर्नुपर्ने जरिबाना ७ करोड १७ लाख ७० हजार असुल नगरेको उल्लेख छ । निर्माण व्यवसायीले पछिल्लो समय सम्पादन गरेको कार्यको रनिङ बिलबाट उक्त रकम असुल उपर गर्नुपर्नेमा रिटेन्सन रकमबाट कट्टा गर्ने गरी गरेको निर्णय नियमसम्मत नदेखिएको पनि किटान गरिएको छ ।

सम्पत्ति पुँजीकृत नगरेको : स्थिर तथा निर्माणाधीन सम्पत्ति वित्तीय विवरणमा चालु प्रकृतिका खर्चहरूलाई निर्माणाधीन सम्पत्तिमा पुँजीकृत गर्ने गरेको, अतिक्रमण भएको १ हजार ४७४ रोपनी जग्गा लगायत सम्पत्तिको छानबिन तथा यकिन नगरेको, लेखाङ्कन गरेको ५ हजार ७१८ रोपनीमध्ये १८ प्रतिशत जग्गाको लालपुर्जा प्राप्त नगरेको, निर्माण कार्य सम्पन्न भइसकेको ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सम्पत्ति प्राधिकरणले पुँजीकृत गरेको छैन ।

यसैगरी, सफ्टवेयरमा देखिएको सम्पत्तिहरूको रकम तथा वित्तीय विवरणमा उल्लेख रकमबीच १ अर्ब १२ करोड रुपैयाँ फरक देखिएबाट प्राधिकरणको वित्तीय विवरणमा उल्लिखित सम्पत्ति यकिन हुन नसकेको औंल्याइएको छ । प्राधिकरणको स्थिर सम्पतिको भौतिक परीक्षण गरेको छैन । वर्षान्तमा निर्माणाधीन सम्पत्ति १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँको भौतिक परीक्षण नभएको र उक्त सम्पत्तिमध्ये १६ करोड ऋणात्मक मौज्दात रहेको देखाइएको छ ।

जिन्जी मौज्दातमा चलखेल : जिन्सी मौज्दात २०७८/७९ आवको अन्त्यसम्म १० अर्ब ५० करोड रुपैयाँको जिन्सी मौज्दात रहेकोमा आव २०७९/८० मा १८ अर्ब १४ करोड रुपैयाँ पुगेको देखिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ७३ प्रतिशतले वृद्धि भएकोमा जिन्सी सामग्रीको नेपाल वित्तीय प्रतिवेदनमान अनुरूप मूल्याङ्कन तथा क्षयीकरण परीक्षण नहुँदा जिन्सी मौज्दातको यथार्थ चित्रण गरिएको छैन । केन्द्रीय भण्डार, हेटौडाको भौतिक परीक्षण गर्दा १५ करोड ४० लाख रुपैयाँको जिन्सी मौज्दात अपुग रहेको प्रतिवेदनले देखाएको छ ।

शोधभर्ना : नेपाल र भारत सरकारबीच भएको महाकाली सन्धि अनुसार नेपाल सरकारले ग्रेगोरियन क्यालेन्डर अनुसार प्रत्येक वर्ष ७ करोड युनिट विद्युत् निःशुल्क पाउने तथा सो भन्दा बढी विद्युत् चाहिएमा खरिद गर्नुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार निःशुल्क प्राप्त गरेको विद्युत् सरकारले प्रतियुनिट ४.७५ रुपैयाँका दरले प्राप्त गर्ने गरी प्राधिकरणलाई उपलब्ध गराएको छ । सो बापत सरकारलाई अघिल्लो वर्षसम्म २ अर्ब ९ करोड तिर्नुपर्ने रहेकोमा यो वर्षको थप ३३ करोड रुपैयाँसमेत गरी २ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी नगरेको उल्लेख छ ।

खिम्तीमा बेवास्ता : प्राधिकरण र हिमाल पावर लिमिटेडबीच २०५२ माघ १ गते सम्पन्न विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिम २० वर्षको अवधि समाप्तपश्चात् खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत सेयर स्वामित्व प्राधिकरणलाई हस्तान्तरण हुनुपर्ने उल्लेख छ । सम्झौता बमोजिम २०७७ असार २८ गते २० वर्ष अवधि पूरा भए पनि स्वामित्व हस्तान्तरण नभएकोले सम्पत्ति र लगानी १ अर्ब २७ करोड प्राधिकरणको वित्तीय विवरणमा लेखाङ्कन नभएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३