विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २७औँ वार्षिकोत्सव 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक २०८०’ एक महिनाभित्र संसदमा पेश गर्ने तयारी भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को २७औँ वार्षिकोत्सव समारोहमा शुक्रबार उनले यस्तो बताएका हुन् । 

नवीकरणीय ऊर्जाको व्यापकतालाई नेपालमा संकुचित गर्न नहुने भन्दै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताका समग्र विषय समेट्ने गरी मन्त्रालयले उक्त विधेयकको मस्यौदा तयार परिसकेको मन्त्री बस्नेतले बताए । ‘नेपालको जलविद्युत् नवीकरणीय ऊर्जा हो,’ उनले भने, ‘अब नवीकरणीय ऊर्जाको क्षेत्रभित्र सबै किसिमको नवीकरणीय ऊर्जालाई समेटिने छ ।’

कार्बन उत्सर्जन कटौती गर्ने विषयमा नेपालले लिएको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न र दीगो ऊर्जा विकासका लागि नवीकरणीय तथा स्वच्छ ऊर्जा प्रवर्द्धनलाई सरकारले गम्भीरताका साथ लिएको बताए । नवीकरणीय ऊर्जाको विकासमा एइपिसीले निर्वाह गर्दै आएको महत्त्वपूर्ण भूमिका आगामी दिनमा अझ प्रभावकारी बन्दै जानुपर्ने उनकाे भनाइ थियाे ।

सरकारले नवीकरणीय ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई उदारतापूर्वक अघि बढाइरहेको भन्दै निराशा मात्र नदेख्न आग्रह गरे । ‘राज्यले अनुदान नै दिएर निजी क्षेत्रलाई प्रोत्साहन गर्न सक्दैन,’ उनले थपे, ‘निजी क्षेत्रले पनि बदार्दीको गीत गाएरमात्रै मुलुक बन्दैन ।’ बस्नेतले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा केन्द्रको वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै पृथ्वीका प्राणीको रक्षा गर्न स्वच्छ ऊर्जाको उत्पादन र प्रयोग बढाउन सकियोस् भन्ने शुभकामना समेत दिए ।

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथाेकीले अहिले कार्यान्वयनमा लाने गरी पञ्चवर्षीय योजना बनाइरहेकोले नवीकरणीय ऊर्जा क्षेत्रमा गर्नुपर्ने र सकिने कामबारे रचनात्मक सुझाव दिन आग्रह गरे । प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा ऊर्जा क्षेत्रलाई प्रविधियुक्त बनाउने गरी अघि बढ्नुपर्ने उनकाे भनाइ थियाे ।

साेही क्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको नाम परिवर्तन गरी ‘नवीकरणीय ऊर्जा प्रवर्द्धन केन्द्र' राख्नुपर्नेमा जाेड दिए  । आगामी २ वर्षमा नेपालमा विद्युत्‌काे पहुँच शतप्रतिशत पुर्‍याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

यसैगरी, कार्यक्रममा जल तथा ऊर्जा आयोगकाे सचिवालयकी सचिव सरिता दवाडीले २०५३ सालमा स्थापना गरिएको एइपिसीले २७ वर्षमा दूरदराजका जनतासम्म ऊर्जाको पहुँच पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

कार्यक्रममा एइपिसीका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाको २७ वर्षमा एइपिसीले सरकार, विकास साझेदार र निजी क्षेत्रको सहकार्यमा विद्युत्‌काे पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले ऊर्जा मिश्रणको अवस्थालाई एइपिसीले ०.०१५ प्रतिशतबाट ३.८९ प्रतिशत पुर्‍याएको पनि जानकारी दिए ।

कार्यक्रमा नेपालका लागि बेलायती राजदूत रब फेनले नवीकरणीय ऊर्जाको रूपमा रहेको जलविद्युत्‌काे विकास नेपालको समृद्धिमा गेम चेन्जर हुन सक्ने भन्दै त्यसका लागि सघाउन बेलायत सरकार सँधै तयार रहेको बताए ।

कार्यक्रममा निजी क्षेत्रका तर्फबाट नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नेपालको निजी क्षेत्रले नवीकरणीय ऊर्जाको विकासमा धेरै काम गरे पनि त्यसप्रति सरकारले प्रोत्साहन नगरेकाे गुनासाे गरेका थिए । प्राप्त उपलब्धि छोडेर निजी प्रवर्द्धकहरू विदेशिनुपर्ने अवस्था आएको पनि उनकाे भनाइ थियाे ।

वार्षिकोत्सवका अवसरमा एइपिसीमा २० वर्ष सेवा अवधि पुगेका केन्द्रका निर्देशक द्वय डा. सूर्यकुमार सापकोटा र रुद्रप्रसाद खनाल, वरिष्ठ अधिकृत सन्तोष राई, प्रशासकीय अधिकृत सविता अर्याल, सवारी चालक सूर्य स्याङ्तनलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

सोही अवसरमा नवीकरणीय ऊर्जाको क्षेत्रमा पुर्‍याएकाे योगदानको कदरस्वरूप सिम्पल इनर्जी प्रा.लि., खिम्ती ग्रामीण विद्युत सहकारी तथा भेञ्चर वेष्ट टु इनर्जी प्रा.लि.लाई सु-प्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कारबाट पुरस्कृत गरिएको थियो । “मञ्चुका स्मृति अक्षयकोष” का संस्थापक सदस्य सुप्रविध सुभाष श्रेष्ठ (लुमिन कुमार श्रेष्ठ तथा कमला श्रेष्ठका छोरा) को मिति २०७३ आश्विन २३ गते एक सवारी दुर्घटनामा परी आश्विन २९ गते असामयिक देहान्त भएकोले स्व. श्रेष्ठको स्मृतिमा “सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार” को स्थापना गरिएको थियो ।

उक्त पुरस्कार अन्तर्गत प्रत्येक वर्ष नेपालमा नवीकरणीय/वैकल्पिक ऊर्जा प्रवर्द्धन तथा विकास गरी समुदायको जनजीवन उकास्न विशेष सहयोग पुर्‍याइरहेका संस्थाहरूलाई पुरस्कृत गरिँदै आएको छ ।

देशको ऊर्जा उत्पादनमा केन्द्रको योगदान ८५ मेगावाट पुग्याे : ढकाल

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशको ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको योगदान करिब ८५ मेगावाट पुगेको जानकारी दिए । हालसम्मको उपलब्धिको समीक्षा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

 उक्त विद्युत्‌बाट करिब ३६ लाख घरधुरी लाभान्वित भएकाे ढकालले जानकारी दिए । उनका अनुसार केन्द्रले हालसम्म ३ कराेड २० लाख अमेरिकी डलर कार्बन बेचेबापत आम्दानी गरेकाे र थप ४ कराेड ९२ लाख डलरबराबरकाे रकम प्राप्तिका लागि हरित जलवायु काेष (जिसिएफ) ले स्वीकृत गरिसकेकाे छ ।

ढकालले केन्द्रको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्य–प्रगतिको साथै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा नेपालको हालको अवस्था र आगामी मार्गचित्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए । ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विकासका लागि सबैमा विद्युत् पहुँच तथा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउनुपर्ने छ,’ उनले भने, ‘ऊर्जा सम्मिश्रण तथा ऊर्जा रूपान्तरणका लागि आर्थिक तथा प्राविधिक सहयोग तथा यस क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने छ ।’

यसैगरी, संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहसँग सहकार्य गर्नुपर्ने उल्लेख गर्दै ढकालले जलवायु वित्त, कार्बन वित्त लगायत अन्तराष्ट्रिय स्रोत परिचालन गर्न आवश्यक रहेको औंल्याए । कार्यक्रममा विभिन्न मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभाग, निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, गैरसरकारी संस्था, नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशील निजी क्षेत्रका कम्पनी, प्राज्ञिक क्षेत्रका प्रतिनिधि, बैंक तथा वित्तिीय संस्था लगायत ३०० भन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit