दोलखा । विगु गाउँपालिका–१ नादिङबाट तामाकोसीमा बेलिब्रिज बनेसँगै जुम खोलामा गाडी पुगेको छ । जुम खोलामा गाडी पुगेसँगै चिनियाँ सिमानासम्म सडक जोड्न जलविद्युत् आयोजनाहरू सरकारको सारथी बनेका छन् । लामाबगरदेखि जुम खोलासम्म सडक पुर्याउन निजी क्षेत्रले ३ वटा पुल निर्माण गरेका छन् । विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले हुरहुरेबाट जुम खोलातिर जाने बेलिब्रिज उद्घाटन गरेसँगै यो सडक सञ्चालनमा आएको छ ।
हुरहुरेबाट जुम खोला पुग्न निजी क्षेत्रको सानिमा जुम खोला जलविद्युत् आयोजनाले पुल निर्माण गरेको हो । पुल ५७ मिटर लामो रहेको सानिमा जुम हाइड्रोपावर लिमिटेडका महाप्रबन्धक सकुन्द ओझाले जानकारी दिए । पुल निर्माण गरेपछि अब आयोजनाका लागि उपकरण लैजान सहज भएको उनले बताए ।
जुम खोलातिर निर्माण गरेको सडकको ट्र्याक थप स्तरोन्नति गरेर आयोजनाको हेडवर्क्स लगायत सबै संरचना निर्माणको काम सुरु हुने जानकारी दिए । यसअघि जुम खोलामा सडक निर्माणका लागि हेलिकोप्टरबाट डोजर लगिएको थियो । त्यही डोजर र भरियाले लगेका सामग्रीमार्फत हेडवर्क्ससम्मको एक किलोमिटर सडकको ट्रयाक खोलिएको हो ।
लामाबगरबाट ८ किलोलिमिटर अगाडि नादिङबाट छुटिने जुम खोलाको पानी प्रयोग गरेर सानिमा हाइड्रोले ५६ मेगावाटको सानिमा जुम खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । लामाबगरबाट नादिङसम्म ४ वर्षमा कठिन भीर छिचोल्दै १ हजार १०० मिटर सुरुङसहित सडक निर्माण गरिएको हो । सानिमाले निर्माण गर्ने हेडवर्क्सबाट एक किलोमिटरमा नेपाल–चीन सिमानाको ६० र ६१ नम्बर स्तम्भमा पुगिन्छ । यसअघि खराने खोलामा सानिमा हाइड्रोले बेलिब्रिज निर्माण गरेको थियो ।
जुम खोला आयोजनाका लागि सानिमा हाइड्रो समूहकै कम्पनी बाबरी कन्स्ट्रक्सने सिभिल निर्माणको काम गरिरहेको छ । विद्युत्गृह, मुख्य सुरुङ लगायतका काम सुरु भइसकेको महाप्रबन्धक ओझाले जानकारी दिए । अब पुल बनेर हेडवर्क्ससम्म सिधै गाडी र उपकरण लगायतका निर्माण सामग्री लैजान सकिने भएपछि कामले तीव्रता पाउने उनले बताए ।
अब डेढ किलोमिटर मात्रै सडक निर्माण गरे चीनको सिमानासम्म सडक जोडिन्छ । चिनियाँ पक्षले पनि नेपालतिरबाट सडक कहिले जोडिन्छ भन्ने चासो राख्दै आएको गाउँपालिका अध्यक्ष ओलीले जानकारी दिए । चिनियाँ पक्षले टिङ्ग्री जिल्लाको राङ्सिया नाका खुला गरेर आफ्ना भन्सारसहितका पूर्वाधार तयार गरिसकेको छ । नेपालतिर भने यस्ता संरचना तयार नहुँदा दुवै नाकाबाट व्यापार आदन–प्रदान हुन सकेको छैन । तातोपानी नाका खुल्नुअघि यही लामाबगर नाकाबाट काठमाडौँसँगको व्यापार हुने गरेको थियो ।
जुम खोलामा बढीमा २५.४५ घनमिटर प्रतिसेकेन्ड पानीको बहाब छ । आयोजनाको ग्रस हेड २५४ मिटर रहेको छ । आयोजनाका लागि १४.४३ मेगावाटको ३ वटा टर्वाइन राखेर ५६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
यसअघि एमभी दुगड ग्रुपले प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाका लागि लामाबगरबाट कठिन भीर छिचोल्दै २० किलोमिटर सडक तयार गरेको थियो । सडकको बीचमा २ वटा पुल समेत रहेका छन् । निजी क्षेत्रका जलविद्युत् आयोजनाले सडक निर्माण गरेसँगै दोलखाको सबैभन्दा अन्तिम गाउँ लप्ची नजिक पहिलो पटक लामाबगरबाट सिधै गाडी पुगेको छ ।
लामाबगरदेखि नाडिङसम्मको ८ किलोमिटर सडकको सानिमा समूहले नियमित मर्मत संहार गर्ने छ । अब हुरहुरे भीर कटेपछि नादिङबाट दायाँतर्फ जुम खोलातिर सानिमा जुम जलविद्युत् आयोजनाको काम हुने छ । त्यहाँबाट चीनतर्फको फलाक (रोङिसया) नाका सबैभन्दा छोटो दूरीमा पर्छ । जहाँ तामाकोसी नदी तरेर जानु पर्दछ तर नदी नतर्दै सिधै नदीको बाँया किनारै किनार जाँदा थाम्चेम्बु पुगिन्छ । यो क्षेत्रमा दुगड समूहले १६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । यही सडक हुँदै थाप्चेम्बुबाट थप १० किलोमिटर सडक निर्माण गर्दा लप्ची गाउँ पुगिन्छ ।
चर्चामा रहेको लामाबगर सुरुङमार्ग सरकारले बनाउन चासो नदेखाएपछि लाप्चे खोला जलविद्युत् आयोजनाले ४ वर्षअघि लामाबगरदेखि थाम्चेम्बूसम्म सुरुङसहितको २० किलोमिटर सडक निर्माण थालेको थियो । यो बीचमा १ हजार १०० सय मिटरको सुरुङमार्ग, २ वटा पुल सहित लामाबगरदेखि तामाकोसीसम्म र हुरहुरेमा ६ किलोमिटर कठिन भीर छिचोलेर सडक तयार गरेको हो ।
पुल सञ्चालनमा आएसँगै लामाबगरबाट २ दिनमा पुगिने लप्चीसम्म अब सदरमुकामबाट एकैदिन पुग्न सकिन्छ । उक्त पुलबाट अधिकतम क्षमताका सामाग्री ढुवानी गर्न मिल्ने आयोजनाले जनाएको छ । पुल निर्माण भएपछि हिमालपारिको गाउँ लप्चीका बासिन्दालाई समेत यातायातको पहुँच पुग्ने छ ।
यो सडक बनेपछि १६० मेगावाटको लप्ची खोला, ५६ मेगावाटको जुम खोला र ४२ मेगावाटको अर्को जलविद्युत् आयोजना तत्कालै निर्माण सुरु हुने छ । त्यसैगरी, ५२ मेगावाटको माथिल्लो लाप्चे खोला जलविद्युत् आयोजनाको प्रवेश मार्गका लागि थप ८ किलोमिटर सडक निर्माण थाम्चेम्बूबाटै सुरु हुनेछ । माथिल्लो लाप्चेले सडक बनाएपछि लप्ची गाउँ छेउसम्म गाडी पुग्नेछ ।