काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा ४ जनाको ज्यान गएको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निर्देशनमा मन्त्रालयले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतनप्रकाश शर्माको अध्यक्षमा गठित समितिमा मन्त्रालयका दुई जना र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्यको रहने भएका छन् ।
वैशाख ८ गते फुङ्लिङ सदरमुकामबाट प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो (ना.१.ज. ३०११) गाडीलाई सेवारो चोकमा लत्रिएको विद्यत् लाइनको तारले छाएपछि गाडीमा करेन्ट प्रवाह भएर आगो लागेको थियो । घटनामा ४ जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका छन् ।
घटनापछि मन्त्री खड्काले तत्काल यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । समितिलाई दुर्घटनाबारे सबै विषमा सत्यतथ्य अध्ययन गरी प्रतिवेदन तयार पार्न कार्यादेश दिइएको छ । साथै यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझावस्वरूप पेश गर्न समेत कार्यादेश रहेको छ ।
ऊर्जा मन्त्रालयका अनुसार छानबिन समितिले हालसम्म सम्बन्धित पक्षहरूसँग सम्पर्क, अध्ययन तथा स्थलगत निरीक्षणमार्फत काम अघि बढाएको छ।