काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक, २०८१ लाई सर्वसम्मत पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौसारियाको उपस्थितिमा सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको ४८ औँ बैठकले उक्त विधेयकलाई सर्वसम्मत पारित गरेको हो ।
जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधारमा सुनिश्चित गर्नका लागि बनेको उक्त विधेयकलाई मंगलबार पारित गरिएको हो ।
बैठकमा ऊर्जामन्त्री खड्काले लामो छलफल र मेहनतका साथ उक्त विधेयक पारित भएको भन्दै समितिका सदस्यहरूलाई आफ्नो र मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गरे । उक्त विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकोमा मन्त्री खड्काले खुसी व्यक्त गरे ।
कानुन मन्त्री चौरासियाले लामो समयको बहस र छलफलपछि विधेयकलाई अन्तिम रूप दिएको भन्दै सांसदहरूले गरेको निर्णयलाई कानुन मन्त्रालयले स्वीकार गरेर अगाडि बढ्ने बताए ।
वि.सं. २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाएको थियो । पूर्वाधार विकास समितिमा ९ महिनाको छलफलपछि उक्त विधेयक मंगलबार सर्वसम्मत रूपमा समितिबाट पारित भएको हो ।
प्रतिनिधिसभाका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकारवालाको राय सुझाव, विज्ञहरूबाट प्राप्त सुझाव समेतलाई आधार मानेर लामो छलफल र बहसपछि उक्त विधेयकलाई सर्वसम्मत पारित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।