दोलखा । सप्तकोसीको सबैभन्दा सानो सहायक नदी लिखुमा नदीमा विभिन्न १२ वटा जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा पुगेका छन् । यी मध्ये १० वटा जलविद्युत् आयोजना विभिन्न चरणमा पुगेका छन् । सबै आयोजनाबाट ४१९ मेगावाट विद्युत् उत्पादन हुने छ । पूर्वमा सोलुखुम्बू, ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमाना भएर बग्ने नदीका अधिकांश जलविद्युत् आयोजना निर्माण पूरा भएर विद्युत् उत्पादन गरिरहेका छन् ।
लिखु नदी कोशी र बागमती प्रदेशको समेत सिमाना हो । दुध पोखरी र नुम्बुर हिमालसहित हिमालय क्षेत्रबाट उत्पत्ती भएको नुप्चे र लिखु नदी रामेछापको उमाकुण्ड गाउँपालिका– १ उमातीर्थमा आएर मिसिन्छ । यसलाई हिमगंगा पनि भन्ने गरिन्छ । तल झरेपछि रामेछाप र ओखलढुङ्गाको सिमानामा पर्ने लिखु दोभान भन्ने स्थानबाट सुनकोसी नदीमा मिसिन्छ ।
५ आयोजनाबाट २६३.५ मेगावाट उत्पादन
लिखु नदीमा ५ वटा जलविद्युत् आयोजनाको निर्माण पूरा भई २६३.५ मेगावट विद्युत् उत्पादन भइरहेका छन् । नेपालका व्यवसायिक घरानाहरूले यी आयोजनामा लगानी गरेका छन् । प्रतिष्ठित व्यापारिक घराना दुगड समूहले लिखुमा ३ वटा जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । यो समूहले पान हिमालय इनर्जी लिमिटेड, ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेड र नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडको नामबाट ७७ मेगावाटको लिखु–१, ५५ मेगावाटको लिखु–२ र ५१ मेगावाटको लिखु ‘ए’ निर्माण गरी डेढ वर्षदेखि विद्युत् उत्पादन गरिरहेको छ । यी तिन वटै आयोजना रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बूको लिखुपिके गाउँपालिमा पर्दछन् ।
५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना ग्रिनभेञ्चर लिमिटेडले निर्माण गरिरहेको छ । यो आयोजनामा व्यापारिक घराना त्रिवेणी ग्रुुप र विशाल ग्रूपको लगानी रहेको छ । १० अर्ब १६ करोड लगानीमा निर्माण भएको आयोजनाले २०७८ भदौबाट विद्युत् उत्पादन गर्दै आएको छ । आयोजना रामेछापको लिखुतामाकोसी गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा पर्दछ ।
लिखु–४ भन्दा तल्लो क्षेत्रमा तल्लो लिखु जलविद्युत् आयोजनाले पनि २ वर्षदेखि विद्युत् उत्पादन गर्दै आएको छ । २८.१ मेगावाट क्षमताको सो आयोजना श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरेको हो । यो आयोजनामा ६ अर्ब ३७ करोड लगानी लगानी रहेको छ । यसबाट २०७९ मंसिरदेखि उत्पादन भइरहेको छ । यो आयोजनामा सानिमा हाइड्रोपावर समूहको लगानी रहेको छ । यो आयोजना रामेछापको लिखुतामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकामा पर्दछ ।
निर्माण भएका सबै जलविद्युत् आयोजनाले आफैँ प्रसारण लाइन निर्माण गरी रामेछापको फूलासीमा रहेको न्यू खिम्ती सब स्टेशनमा लगेर जोडेका छन् । यहाँ उत्पादिन विद्युत् नेपाल विद्युत् प्राधिकरणको न्यू खिम्ती सबस्टेशन हुँदै आवश्यकताका आधारमा काठमाडौँ र तराईका साथै भारतमा समेत निर्यात हुँदै आएको छ ।
१५५.५ मेगावाटका ७ आयोजना निर्माणाधीन र अध्ययनमा
लिखु नदी र त्यसको सहायक नदीमा ३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । यी आयोजनाबाट ९३.५ मेगावाट विद्युत् उत्पादन हुनेछ । ती मध्ये ३ आयोजना ६ महिनादेखि एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन् ।
नदीको सबैभन्दा उच्चस्थानमा ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजना निर्माण भइरहेको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजना रामेछाप जिल्लाको सबैभन्दा दुर्गम गाउँमा निर्माण भएको छ । यो आयोजनामा १० अर्ब ९८ करोड लगानी रहेको छ । यही कम्पनीले क्यासकेड आयोजनाको रूपमा ४ मोवाटको अर्को आयोजना पनि बनाउन अध्ययन गरिरहेको छ । नुप्चे–लिखुको क्यासकेड आयोजना लिखु १ जलविद्युत् आयोजनाको हेडवर्क्सभन्दा केही माथि निर्माण हुनेछ । यी दुवै आयोजनाको संरचना रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका– १ मा पर्दछ ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिका बीचमा ३० मेगावाटको जलविद्युत् आयोजना निर्माणाधीन छ । ५ अर्ब १९ करोड लगानीमा निर्माणाधीन आयोजना लिखु ‘ए’ जलविद्युत् आयोजना र लिखु ४ जलविद्युत् आयोजनाको बीचमा पर्छ । यो आयोजनामा अरुणभ्याली हाइड्रोपावरको लगानी रहेको छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडका जनसम्पर्क अधिकृत रामचन्द्र शर्माले लिखु नदीका संभावित ठाउँमा अब जलविद्युत् बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
तल्लो लिखु जलविद्युत आयोजनाको विद्युत गृहबाट निस्केको पानी सदुपयोग गर्दै श्वेतगंगा हाइड्रोपावरले नै १६ मेगावाटको क्यासकेड आयोजना निर्माण गर्ने गरी अध्ययन गरिरहेको छ । यो आयोजना ओखलढुङ्गाको लिखु गाउँपालिकामा बन्ने छ । यो आयोजनाको विद्युत गृह साँघुटार बजारभन्दा केही माथि नमर्देश्वर महादेव मन्दिर नजिक बन्नेछ ।
ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिकाका स्थानीय सुदीप सुनुवारले जलविद्युत् आयोजना निर्माणले सडक र विद्युत्को विस्तारका साथै रोजगारीसमेत सिर्जना भएको बताए । वर्षौंदेखि बगेर गएको जलस्रोत सदुपयोग भएकोले देशको आर्थिक विकासमा पनि सहयोग पुगेको उनले बताए ।
लिखु नदीकै अन्तिमतिर ३६ मेगावाटको एक आयोजना अध्ययनको क्रममा रहेको छ । उज्यालो इनर्जी सोलुसन प्रालिले रामेछापको साँघुटारभन्दा केही तल बाँध बनाएर ओखलढुङ्गाको चम्पादेवि गाउँपालिका पलापू हुँदै सुरुङमार्फत सुनकोसी किनार गोलाञ्जोरघाट नजिक विद्युत्गृहमा पानी पुर्याएर विद्युत् उत्पादन गरेपछि त्यस पानीलाई सुनकोसी नदीमा मिसाउने लक्ष्य राखेको छ ।
सोलुखुम्बू र ओखलढुङ्गाको सिमाना भएर बग्न लिखु नदीकै सहायक बुकु खोलामा ६ मेगावाटको आयोजना एपोलो हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको छ । लिखुकै सहायक शैलुङ खोलामा ३ मेगावाट र बिखे खोलामा ३ मेगावाटको आयोजना पनि अध्ययनकै क्रममा रहेको छ ।