सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएको छ । यो सँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले यसलाई स्वागत गरेको छ ।
विद्युत् उत्पादनमा लगानी गर्दै आएको निजी क्षेत्रले अब व्यापारमा समेत सहभागी हुने अवसर पाएको छ । सरकारले अघि सारेको आशयपत्र सम्बन्धी व्यवस्थाले सम्भावित बजार पहिचान गर्न, स्वदेशी तथा विदेशी व्यापारिक साझेदारसँग छलफल गर्न र विद्युत् खरिद–बिक्रीका सम्भावित सम्झौताका लागि तयारी गर्न सहयोग पुग्ने अपेक्षा छ ।
उत्पादनमा मात्र सीमित रहेको निजी क्षेत्रलाई व्यापारमा समेत सहभागी हुने अवसर दिनु ऊर्जा क्षेत्रको विकासका लागि सकारात्मक कदम हो । यसले निजी लगानीकर्तालाई नयाँ व्यावसायिक सम्भावना खोज्न र नेपालको विद्युत् व्यापार विस्तारमा योगदान गर्न प्रोत्साहित गर्नेछ ।
नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत् आन्तरिक तथा बाह्य बजारमा बिक्री गर्ने आधार बन्दै गएको छ । यसका लागि उत्पादन, प्रसारण पूर्वाधार, बजार पहुँच र क्षेत्रीय ऊर्जा व्यापारलाई एकीकृतरूपमा अघि बढाउनुपर्ने आवश्यकता छ ।
सरकारको नयाँ व्यवस्थाले निजी कम्पनीलाई भारतलगायत सम्भावित क्षेत्रीय बजारमा खरिदकर्ता तथा व्यापारिक साझेदार पहिचान गर्न, बजारको माग र मूल्यको अध्ययन गर्न तथा विद्युत् खरिद–बिक्रीका व्यावसायिक सम्भावनाको मूल्याङ्कन गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यसबाट निजी लगानी उत्पादनमा मात्र सीमित नरही बजार विकास र व्यापारिक गतिविधितर्फ समेत विस्तार हुन सक्ने छ । साथै, सम्भावित बजारको मागअनुसार नयाँ ऊर्जा परियोजनाको योजना बनाउन सहयोग पुग्न सक्छ ।
सरकारको व्यवस्था अनुसार आशयपत्र प्राप्त गर्नु विद्युत् व्यापार सुरु गर्ने अन्तिम अनुमति भने होइन । कम्पनीहरूले वास्तविक कारोबार सञ्चालन गर्न प्रचलित कानुनअनुसार आवश्यक अनुमतिपत्र, नियामकीय स्वीकृति, प्राविधिक मापदण्ड र प्रसारण प्रणालीमा पहुँचसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । विशेषतः सीमापार विद्युत् व्यापार गर्न सम्बन्धित देशका कानुनी व्यवस्था, बजार प्रवेशसम्बन्धी स्वीकृति, प्रसारण क्षमता र द्विपक्षीय समन्वय महत्त्वपूर्ण हुनेछन् ।
त्यसैले, आशयपत्र जारी गर्ने निर्णय बजार पहिचान र व्यावसायिक तयारीको प्रारम्भिक चरणका रूपमा लिनुपर्छ । यसपछि कानुनी, संस्थागत र प्राविधिक प्रक्रिया समयमै पूरा गर्नु आवश्यक देखिन्छ ।
नेपालले जलविद्युत् उत्पादन बढाउँदै लगेको अवस्थामा व्यापार प्रतिस्पर्धी, पारदर्शी र दिगो बनाउन सार्वजनिक तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ । निजी क्षेत्रको सहभागिताले सम्भावित व्यापारिक साझेदारको दायरा विस्तार गर्न, नयाँ लगानी आकर्षित गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपालको उपस्थिति बलियो बनाउन मद्दत गर्न सक्छ । यद्यपि, यसको वास्तविक उपलब्धि आशयपत्र वितरणमा मात्र होइन । आवश्यक कानुनी आधार निर्माण, व्यापार अनुमतिपत्रको स्पष्ट प्रक्रिया, प्रसारण पूर्वाधारको उपलब्धता र अन्तरदेशीय बजारमा प्रभावकारी पहुँच सुनिश्चित गर्नमा निर्भर रहने छ ।
अब विद्युत् उत्पादन, प्रसारण र व्यापार परस्पर जोड्दै नेपालको जलविद्युत् सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्नु प्रमुख चुनौती र अवसर दुवै बनेको छ ।
पन्त जलविद्युत् व्यवसायी तथा इपानका उपाध्यक्ष हुन् ।