काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हो ।
आइतबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
निगमले गत बैशाख ३१ गते पनि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।