दोलखा । सरकारले उदासिनता देखाएपछि निजी क्षेत्रले ४ वर्षमा कठिन भिर छिचोल्दै २० किलोमिटर सडक तयार गरेको छ । सुरुङमार्ग सहित सडकको बीचमा २ वटा पुलसमेत निर्माण गरिएको छ ।
सडक बनेसँगै दोलखाको सबैभन्दा अन्तिम गाउँ लप्ची नजिक लामाबगरबाट सिधै पहिलो पटक गाडी पुगेको छ । लामाबगरदेखि ५ किलोमिटर माथिको हुरहुरे भिर छिचोलेर तामाकोसीमा बेलिब्रिज सञ्चालनमा आएपछि गाडी सोझै थाम्चेम्बु पुगेको छ । लप्ची खोला र जुम खोलाको दोभानभन्दा २ किलोमिटर तलको तामाकोसी नदीमा हालेको बेलिब्रिज बिगू गाउँपालिका सञ्जिव ओलीले उद्घाटन गरेपछि सिधै थाम्चेम्बूसम्म आफैँले मोटरसाइकल चलाएर पुगेका थिए ।
चर्चामा रहेको लामाबगर सुरुङमार्ग बनाउन सरकारले चासो नदेखाएपछि निजी क्षेत्रको दुगड ग्रुप प्रवद्र्धक रहेको १६० मेगावाटको लप्ची खोला जलविद्युत् आयोजनाले ४ वर्षअघि सुरुङसहितको सडक निर्माण सुरु गरेको थियो । अहिले लामाबगरदेखि थाम्चेम्बूसम्म २० किलोमिटर सडक निर्माण भएको छ । यो बीचमा ११ सय मिटरको सुरुङमार्ग, २ वटा पुलसहित लामाबगरदेखि तामाकोसीसम्म र हुरहुरेमा ६ किलोमिटर कठिन भिर छिचोलिएको छ ।
पुल सञ्चालनमा आएसँगै लामाबगरबाट पुग्न २ दिन लाग्ने दोलखाको अन्तिम गाउँ लप्चीसम्म सदरमुकामबाटै एकैदिन पुग्न सकिने भएको छ । खोलामा ३९ मिटर लामो आधुनिक प्रविधिको बेलीब्रिज सञ्चालनमा आइसकेको छ । उक्त पुलबाट अधिकतम क्षमताका सामाग्रीहरू ढुवानी गर्न मिल्ने आयोजनाले जनाएको छ । पुल निर्माणपछि हिमालपारिको गाउँ लप्चीका बासिन्दालाई समेत यातायातको पहुँच पुगेको छ ।
लप्ची खोला जलविद्युत्को प्रवद्र्धक नासा हाइड्रोले तामाकोसीमा पुल निर्माण हुनुअघि नै हेलिकप्टरमार्फत डोजर, तेल, ट्याक्टर, गाडी ढुवानी गरी ४ वर्षदेखि सडक निर्माण थालेको थियो । लप्चीतर्फको थाम्चेम्बूसम्म सडकको पहुँच पूरा भएको बिगू गाउँपालिकाका स्थानीयसमेत रहेका लप्ची खोलाकाका प्रशासन अधिकृत हेमराज तामाङले बताए । अब थाम्चेम्बूबाट ५ घन्टा पैदल यात्रामा नेपाल–चीन सिमानाको ५६ नं. पिलरसम्म पुग्न सकिने छ । थाम्चेम्बू लप्ची र लुम्नाङ गाउँको बीचमा पर्ने परम्परागत चौरीखर्क हो । स्थानीयहरू हिउँदमा लुम्नाङ र बर्खामा लप्चीमा बसोबास गर्छन् ।
लप्ची हजारौँ वर्ष पहिलादेखिको बौद्धमार्गीहरूको ध्यान केन्द्र हो । अहिले पनि लप्चीका भिरमा ५० भन्दा बढी ध्यान गुफाहरू छन् । यातायातका सहजतापछि लप्ची ध्यान गर्न आउनेको लर्को नै लाग्ने बिगू गाउँपालिका अध्यक्ष सञ्जिव ओलीको विश्वास छ ।
खोलामा पुल बनेसँगै उक्त क्षेत्रमा दुई जलविद्युत् आयोजना १६० मेगावाटको लप्ची र ५६ मेगावाटको जुम खोला निर्माणको काम सुरु हुने भएका छन् । लामाबगरबाट ८ किलोलिमिटर दूरीमा नादिङबाट छुटिने गरी जुमखोलाको पानी प्रयोग गरेर सानिमा हाइड्रले ५६ मेगावार्टको सानिमा जुम खोला निर्माण गर्दैछ ।
सानिमाले समेत आफ्नो आयोजनाको हेडवर्क्ससम्म पुग्न सडकको ट्रयाक खोलेको छ । उसले निर्माण गर्ने हेडवर्क्सबाट १.५ किलोमिटरमा नेपाल–चीन सिमानाको ६० र ६१ नं को पिलरमा पुगिन्छ । यसअघि खराने खोलामा सानिमा हाइड्रोले बेलिब्रिज निर्माण गरेको थियो ।
सडक बनेपछि १६० मेगावाटको लप्ची खोला, ५६ मेगावाटको जुम खोला र ४२ मेगावाटको अर्को आयोजना तत्कालै निर्माण सुरु हुने तयारीमा छन् । यस्तै, ५२ मेगावाटको माथिल्लो लप्ची खोलाको प्रवेशमार्गका लागि थप ८ किलोमिटर सडक थाम्चेम्बूबाटै सुरु हुनेछ । माथिल्लो लप्चीले सडक बनाएपछि लप्ची गाउँ छऊसम्म गाडी पुग्ने छ ।