विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विश्व बैंक समूहले भुटानमा निर्माण हुन लागेको १,१२५ मेगावाटको दोर्जिलुङ जलविद्युत् आयोजनाका लागि ८१ करोड ५० लाख अमेरिकी डलर  (आजको मूल्यमा १ खर्ब १९ अर्ब ७२ करोड ९८ लाख रुपैयाँ) को वित्तीय लगानीको प्याकेज उपलब्ध गराउने भएको छ ।

पूर्वी भुटानको कुरिछु नदीमा निर्माण गर्न लागिएको उक्त आयोजनामा विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) ले १५ करोड डलर अनुदान तथा १५ करोड डलर ऋण उपलब्ध गराउने छ । त्यस्तै, विश्व बैंक समूहकै अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंक (आइबिआरडी) ले भुटान सरकारलाई १ करोड ५० लाख डलरको इन्क्लेभ ऋण र दोर्जिलुङ हाइड्रो पावर लिमिटेड (डिएचपिएल) लाई  २० करोड डलर ऋण उपलब्ध गराउने छ भने अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले ३० करोड डलर ऋण उपलब्ध गराउने छ ।

विश्व बैंक समूहको कार्यकारी निर्देशक मण्डलले बिहीबार  उक्त वित्तीय लगानीको प्याकेजलाई औपचारिक रूपमा अनुमोदन गरेको हो । विश्व बैंकको उक्त वित्तीय लगानी प्याकेजले आयोजनामा झन्डै ९० करोड डलरबराबरको निजी लगानी समेत जुटाई आयोजनामा परिचालन गर्न सहयोग गर्ने बताइएको छ ।

डिएचपिएल उक्त जलविद्युत् आयोजना निर्माण गर्न स्थापना गरिएको  विशेष उद्देश्य कम्पनी (स्पेसल पर्पस भेहिकल–एसपिभी)  हो । यसमा भुटानको ड्रुक ग्रीन पावर कर्पोरेसनको ६० प्रतिशत र भारतको सबैभन्दा ठूलो निजी एकीकृत ऊर्जा कम्पनी टाटा पावरको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । दोर्जिलुङ आयोजना सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा विकास हुने भुटानकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक ४ हजार ५०० गिगावाट घण्टाभन्दा बढी विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । यसले भुटानको कुल ऊर्जा उत्पादन क्षमता करिब ४० प्रतिशतले वृद्धि हुने बताइएको छ । त्यस्तै, विद्युत् निर्यात ४२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

आयोजनाले भुटानमा हिउँद याममा देखिने मौसमी ऊर्जा अभावलाई कम गरी महँगो ऊर्जा आयातको बाध्यता हटाउने अपेक्षा छ । साथै, वर्षायाम हुने अधिशेष (अतिरिक्त) विद्युत् भारततर्फ निर्यात गर्न सकिनेछ । भुटानको आन्तरिक माग कम रहेको हुनाले अधिक परिमाणमा विद्युत् निर्यात हुने अपेक्षा गरिएको छ ।

भुटान सरकारका अर्थमन्त्री ल्योनपो लेकेय दोर्जीले दोर्जिलुङ आयोजना भुटानका लागि रूपान्तरणकारी परियोजना भएको उल्लेख गरेका छन् । ‘यो आयोजना स्वच्छ ऊर्जा उत्पादन, आर्थिक वृद्धिलाई गति दिनुका साथै हाम्रो कार्बन–नेगेटिभ प्रतिबद्धतालाई अघि बढाउने राष्ट्रिय प्राथमिकताको परियोजना हो,’ उनले भने, ‘यसको नवीन वित्तीय संरचनाले सार्वजनिक वित्तमा अत्यधिक बोझ नपर्ने हुँदा जनहितमा गरिने लगानी जारी राख्न सहयोग पुर्‍याउँछ ।’

विश्व बैंक समूहका भुटानका लागि कन्ट्री म्यानेजर जाभियर फुर्ताडोले आइडिए, आइबिआरडी र आइएफसी जस्ता विश्व बैंक समूहका सबै संस्थाहरूको संयुक्त क्षमताको उपयोग गर्दै दोर्जिलुङ आयोजनालाई सहयोग गरिएको बताए । ‘सरकारको ऋणभार न्यून राख्दै निजी क्षेत्रको सहभागिता बढाउने र सार्वजनिक तथा निजी पक्षबीच जोखिम सन्तुलन गर्ने गरी वित्तीय संरचना तयार गरिएको छ,’ उनले भने, ‘यो मोडेल भविष्यमा भुटान तथा अन्य मुलुकमा दिगो जलविद्युत् विकासका लागि उदाहरण बन्न सक्छ।’

आयोजनाले निर्माण तथा सञ्चालन अवधिमा हजारौँ रोजगारी सिर्जना गर्ने, स्थानीय व्यवसाय प्रवर्द्धन गर्ने तथा मोंगार र ल्हुएन्त्से जिल्लामा जीविकोपार्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ । यी जिल्लाहरूमा राष्ट्रिय औसतभन्दा बढी गरिबी, बेरोजगारी र बाह्य पलायन देखिँदै आएको छ । साथै, आयोजनासँगै सडक स्तरोन्नति, बजार पहुँच सुधार र आधारभूत सेवामा पहुँच विस्तार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३