काठमाडौं । सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) भत्किएको छ । निर्माण सम्पन्न भई परीक्षणका क्रममा बेसिन भत्किन पुगेको हो ।
भखरै सम्पन्न भएको आयोजनाको संरचना भत्किएपछि यसको डिजाइन तथा निर्माणको गुणस्तरमा प्रश्न उठेको छ । अधिकांश निजी प्रवर्द्धक र विश्लेषकहरूले निर्माणको गुणस्तरीयतामा ध्यान नदिँदा दुर्घटना हुन पुगेको विश्लेषण गरेका छन् ।
आयोजनाको प्रवर्द्धक ग्रिन भेन्चर कम्पनीले भने बिहीबार राति १० बजे लिखु खोलाको बाढी पसेकाले एउटा डिसेन्डिङ बेसिन भत्किएको प्रस्ट्याएको छ । कम्पनीका अध्यक्ष सुवास सांघाईले बाढीकै कारण संरचना भत्किन पुगेको बताए । यसो गत मंगलबारदेखि यता लिखुमा बाढी आउने गरी वर्षा नभएको स्थानीयहरू बताउँछन् ।
जेठ दोस्रो साता सुरु हुँदासम्म देशभर वर्षा हुन सकेको छैन । केही ठाउँमा मात्र सामान्य वर्षा भइरहेको छ । वर्षाका कारण ‘लिखुमा बाढी आएर आयोजनाको संरचना भत्किएको हो’ भन्ने सांघाईको भनाइमा विश्वस्त हुने आधार देखिँदैन । उनले निर्माणक्रममा भएको कमजोरी, कमजोर इन्जिनियरिङ र सुपरिवेक्षणमा भएको लापरबाही ढाकछोप गरेको देखिन्छ ।
‘पानी भरेर आयोजनाको परीक्षण गर्ने क्रममा सानो डिसेन्डिङ बेसिनको एउटा पर्खाल भत्किएको छ’ उनले शनिबार ऊर्जा खबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानले बाढीका कारण भत्किएको भन्ने देखिन्छ तर यससम्बन्धमा थप अनुसन्धान गरिरहेका छौं ।’
बेसिनको सानो पर्खालमात्रै भत्किएकाले यो सामान्य कुरा भएको उनको भनाइ छ । यसले आयोजनाको उत्पादन सुरु गर्न कुनै समस्या नहुने बताए । उत्पादित विद्युत् जोडिने न्यू–खिम्ती सबस्टेसन तयार हुने हो भने १५ दिनभित्र अर्को ठूलो डिसेन्डिङ बेसिनको प्रयोग गरेर उत्पादन गर्न सकिने उनले दाबी गरे । उनका अनुसार क्षतिग्रस्त पर्खालको पुनर्निर्माण गर्न डेढ महिना लाग्नेछ ।
सिभिल निर्माणको ठेक्का पाएको भारतको एसएसएनआर कम्पनीले संरचना निर्माण गर्दा गुणस्तरीयतामा ध्यान नपुर्याएकै कारण यो दुर्घटना भएको कुरालाई नकार्न सकिँदैन । बर्खा सुरु नहुँदैको पानीले संरचना भत्किनुमा आयोजनाको गुणस्तरमा प्रशस्त शंका गर्ने ठाउँ देखिएको छ ।
प्रवर्द्धक कम्पनीले भने ठेकेदार कम्पनीका कारण नभई बाढीले संरचना भत्काएको भन्दै सत्य कुरा लुकाउन खोजिरहेको छ । संरचनामा पानी भरेर परीक्षण सुरु गरेको केही दिनमै यसरी भत्किनुले डिजाइन पनि सही नभएको जलविद्युत क्षेत्रका जानकारहरू बताउँछन् । यसले आयोजनामा कार्यरत इन्जिनियरहरूको क्षमतामा समेत प्रश्नचिन्ह खडा गरेको छ ।
लिखु–४ मा भएको यो दुर्घटना निजी प्रवद्र्धको क्षमता र तिनले निर्माण गर्ने आयोजनाको गुणस्तरीय अवस्थाको एउटा बलियो नमुना बनेको छ । यसको अर्थ, निजी क्षेत्रले निर्माणक्रममा कतिसम्म लापरबाही गर्दा रहेछन् भन्ने पनि हो । कम लागतमा निर्माण गर्ने नाममा गुणस्तरलाई नजरन्दाज गर्ने घातक प्रवृत्तिलाई समेत यो घटनाले बाहिर ल्याएको छ ।
आयोजना निर्माणका क्रममा कमजोर मारुती सिमेन्ट प्रयोग गरेको देखिन्छ । जबकि, अधिकांश जलविद्युत् तथा पूर्वाधार निर्माणमा यो सिमेन्ट न्यून गुणस्तरको मानिन्छ । लिखु–४ को डिसेन्डिङ बेसिनको बेस वा जग बनाउँदा पनि पर्याप्तरूपमा कंक्रिटिङ नगरी माटोले भरिएको लिखु बेनिसमा आयोजना निर्माण गरिरहेका एक व्यवसायीले बताए ।
‘यो घटनाका कारण निजी क्षेत्रले निर्माण गरिरहेका वा सञ्चालनमा रहेका आयोजना ‘न्यून गुणस्तरका हुने रहेछन्’ भन्ने सन्देश गएको छ,’ ती व्यवसायीले भने, ‘यो देशको जलविद्युत् विकासका लागि ठूलो दुर्घटना हो ।’ एक साताभित्र विद्युत् उत्पादनमा जान लागेको आयोजनामा यसरी दुर्घटना हुनु सुखद होइन ।
‘निर्माण तथा सञ्चालन गरेको ३० वर्षपछि राज्यलाई बुझाउने हो’ भन्ने मानसिकताले कमजोर निर्माण सामग्री प्रयोग गर्ने, अनुगमन तथा निरिक्षणमा बेवास्ता र निजी क्षेत्रभित्रका भ्रष्टाचारका अदृष्य खेलको प्रमाण पनि हो, यो दुर्घटना । निजी क्षेत्रले निर्माण गरिरहेका कति आयोजना अबका दिनमा समस्याग्रस्त बन्नेछन् भन्ने हेर्न बाँकी नै छ ।
कम्पनीले डेढ महिनाभित्र मर्मत सकेर विद्युत् उत्पादनमा जाने दाबी गरे पनि त्यो सम्भव देखिँदैन । अब विस्तारै बर्खा लाग्छ । खोलामा पानीको बहाब बढ्ने हुँदा बर्खामा काम गर्न सजिलो हुँदैन । खोलामा हुने सिभिलका काम बर्खामा बढीमा ३० प्रतिशतमात्रै हुने गर्छ । यसको हिसाब गर्दा पनि भत्केको संरचना मर्मत गर्न नै करिब ५–६ महिना लाग्ने देखिन्छ ।
समग्रमा लिखु–४ बाट अब एक वर्ष नभई विद्युत् उत्पादन हुन नसक्ने त्यही बेसिनमा आयोजना निर्माण गरिरहेका प्रत्यक्षदर्शी प्रवद्र्धकहरूले बताएका छन् । जसको कारण आयोजनाको लागत थपिनेछ र आम्दानी पनि त्यही अनुसार घट्ने पक्का छ ।
के हो लिखु–४
सरकारले २०६५ सालतिरै यो आयोजनाको अनुमतिपत्र भारतको ग्रिन भेन्चर प्रालिलाई दिएको थियो । कम्पनीले १२० मेगावाटमा आयोजना निर्माण गर्ने र उत्पादित विद्युत् भारत निर्यात गर्ने गरी २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग ‘फल ब्याक पिपिए’ गरेको थियो । ‘फल ब्याक’ पिपिए (विद्युत् खरिद सम्झौता) अनुसार प्राधिकरणले निश्चित समयका लागि मात्र लिखुको बिजुली किनिदिने सर्त थियो ।
आयोजनाको पिपिए प्रतियुनिट ५.९९ सेन्ट अमेरिकी डलर (प्रतियुनिट करिब ६.३९ रुपैयाँ) मा भएको थियो । जसमा अन्तरदेशीय प्रसारण लाइन (४ सय केभी ढल्केबर–मुफ्फरपुर) वा माथिल्लो तामाकोसी जुन आयोजना अगाडि निर्माण हुन्छ त्यतिबेलासम्म मात्र आयोजनाको बिजुली किन्ने सम्झौता थियो ।
ग्रिन भेन्चरले बिजुली उत्पादन सुरु भएदेखि २७ वर्षसम्मका उत्पादन अनुमति लिएको थियो । पछि भारतीय बजारमा बिजुली बेच्ने सुनिश्चितता नभएपछि नेपालमै बेच्ने भन्दै पिपिए नवीकरण गर्न लबिङ भएको थियो । अन्ततः त्रिवेणी समूहका सुवास सांघाईले भारतीय कम्पनीबाट आयोजना किने र निर्माण अगाडि बढाएका थिए ।
उत्पादित बिजुली भारत निर्यात गर्ने भनेपछि ५२ मेगावाटको आयोजनाको क्षमता बढाएर १२० मेगावाट बनाइएको थियो । लिखुबाट २०७२ सालभित्रै बिजुली उत्पादन गरिसक्नुपर्ने थियो । तर, परिणाम नदेखिएपछि त्यतिबेलै प्राधिकरणले लिखुको बैंक धरौटी समेत जफत गरेको थियो । पछि, सांघाईले किनेपछि पुनः क्षमता ५२.४ मेगावाटमा झारिएको थियो ।