काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारमध्ये अहिलेसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढी आउने दिन करिब १४०० जना कार्यरत रहेकोमा अझै ४३९ जना हराइरहेका छन् ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले हराइरहेका कर्मचारीहरूको रातदिन कार्यरत स्वदेशी तथा विदेशी नागरिकको खोजी तथा उद्धार निरन्तर रहेको जानकारी दिएको छ । आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ बाढीले ठूला ट्रकहरूसमेत पल्टाएको अवस्थामा फेला पारिएको छ ।
अत्यन्त कठिन भौगोलिक अवस्था र पूर्वाधारमा व्यापक क्षति पुगे पनि कम्पनीले उपलब्ध सम्पूर्ण स्रोत-साधन परिचालन गरी उद्धार अभियान चलाइरहेको पनि जनाएको छ । कम्पनीका अनुसार बाढी आएको समयमा आयोजनाको निर्माण क्षेत्रमा विभिन्न विदेशी तथा स्वदेशी ठेकेदार कम्पनी, परामर्शदाता र सब-कन्ट्र्याक्टर अन्तर्गतका १,४३३ जना नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिकहरू कार्यरत थिए ।
बाढीलगत्तै साइट कार्यालय तथा निर्माण क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली प्राविधिक विज्ञ र आयोजनाको संयुक्त टोली उद्धारमा खटिएको थियो । सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजीका लागि तालिमप्राप्त खोजी कुकुर, पर्वतारोही उद्धार टोली तथा अन्य दक्ष उद्धारकर्ताहरू परिचालन गरिएको जनाइएको छ ।
आयोजनाका मुख्य सुरुङहरू, भूमिगत विद्युत्गृह, भीर, बाहिरी सतह तथा वरपरका गाउँहरूमा टोलीले खोजी सञ्चालन गरिरहेको छ । साथै, कुकुरसहितको विशेष टोलीको आवतजावत र आपतकालीन उद्धारका लागि आवश्यक हेलिकोप्टर उडानको अनुमति लिई उडानहरू भइरहेको समेत कम्पनीले सबैलाई सुसूचित गराएको छ ।
सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले कम्पनी आफैँले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत आवश्यक भारी उपकरणहरू आयोजनास्थल पुर्याएको जनाएको छ ।
अहिलेसम्म २ वटा मिनी एस्काभेटर, जेनेरेटर र फलामका रड काट्ने ग्यास-कटिङ उपकरणहरू हेलिकोप्टरबाटै आयोजनास्थल पुर्याइएको छ । मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ (अडिट-३) को माथिल्लो तटीय क्षेत्रमा थुप्रिएको लेदो र भग्नावशेष एस्काभेटर प्रयोग गरी हटाउने काम भइरहेको छ ।
यसैगरी, मैलुङस्थित आयोजनाको साइट कार्यालय र कर्मचारी आवास क्षेत्र (क्याम्प) मा जमेको लेदो/भग्नावशेष हटाउनुका साथै थन्किएको पानीको निकास गराइएको छ । प्राविधिक टोलीले भूमिगत विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल लगायतका प्रमुख संरचनाहरूको भौतिक अवस्था र क्षतिको मूल्याङ्कन गरिरहेको छ ।
कम्पनीले उद्धार गरिएका शवहरू नेपाली सेनाको हेलिकोप्टरबाट नुवाकोटको विदुरस्थित सेनाको क्याम्पमा ल्याएको छ । सनाखत प्रक्रियामा सहजीकरण गर्नुका साथै परिवारजनलाई आफ्नै संस्कृति र रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न प्रारम्भिक काजक्रिया राहत रकम उपलब्ध गराइएको बताइएको छ ।
उता बेपत्ता व्यक्तिहरूका परिवारसँग कम्पनीले निरन्तर सम्पर्क राखिरहेको जनाएको छ । सकुशल उद्धार गरिएकाहरूले दिएको जानकारीका आधारमा खोजी क्षेत्र तय गरिएको छ भने पीडित परिवारलाई आवश्यक परामर्श र मनोसामाजिक सहयोग प्रदान गरिएको छ ।
उद्धार कार्य जारी रहे पनि अझैसम्म आयोजनास्थल पुग्ने सडक सञ्जाल बाढीले पूर्ण रूपमा ध्वस्त बनाउनु, आवास, खानेपानी तथा आधारभूत सुविधाको चरम अभाव, भूमिगत सुरुङभित्र थुप्रिएको बाक्लो लेदो र थप पहिरो खस्ने सम्भावित जोखिम, विकट भौगोलिक अवस्था र मौसमको प्रतिकूलता काम जटिल बनिरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार यी सम्पूर्ण चुनौतीका बाबजुद उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्ति परिचालन गरी सम्भव भएसम्मका सबै उपायबाट खोजी कार्यलाई निरन्तरता दिइनेछ ।
आयोजनामा संलग्न ठेकेदार कम्पनीहरू
• परामर्शदाता: ट्रयाक्टावेल तथा जेड कन्सल्ट
• मुख्य ठेकेदार कोरियन कम्पनी डुसान
• सिभिल सब-कन्ट्र्याक्टर पावर चाइना
• इलेक्ट्रोमेकानिकल ठेकेदार एन्ड्रिज हाइड्रो
जनशक्ति तथा क्षति विवरण तालिका
| क्र.सं. | अवस्था/विवरण | संख्या | कैफियत/थप जानकारी |
| १ | कुल कार्यरत जनशक्ति | १,४३३ जना | नेपाली, कोरियाली, चिनियाँ, भारतीय र अन्य मुलुकका |
| २ | सकुशल उद्धार गरिएका | ८७७ जना | सुरक्षित स्थानमा पुर्याइएका |
| ३ | सम्पर्कमा आएका | ७८ जना | सूचना प्राप्त भएका |
| ४ | मृत भेटिएका (मृतक) | ३९ जना | शव नुवाकोट विदुर ल्याइएको |
| ५ | अझै सम्पर्कविहीन (बेपत्ता) | ४३९ जना | सुरुङ तथा भग्नावशेषमा खोजी जारी |