काठमाडौँ । ऊर्जा खबरका सल्लाहाकारसमेत रहेका उद्यमी तथा लेखक जीवा लामिछानेले नेपालले जलस्रोतको अपार सम्भावनालाई सदुपयोग गर्न नसकेको बताएका छन् । शुक्रबार ऊर्जा खबरसँगको अन्तरक्रियात्मक छलफलमा उनले यस्तो बताएका हुन् ।
‘प्रकृतिले हामीलाई एउटा समुद्रबाहेक सबै किसिमका स्रोत दियाे तर हामीले जलस्रोतमा धनी छौँ भन्नमै दशकौँ बितायौँ, सम्भावनालाई कार्यान्वयनमा लगेर समृद्धि प्राप्त गर्नतिर लागेनौँ,’ उनले भने, ‘अहिले पनि त्यही निरन्तरतामा छौँ, हामीले माल पाएर पनि चाल सुधार्न नसकेकै हो ।’ देश विकासका लागि स्पष्ट दृष्टिकोणसहितको नेृतत्व चाहिने र त्यो नेतृत्वले आफ्नो दृष्टिकोण व्यवहारिक कार्यान्वयनमा लान सक्ने हो भने मात्र देशले समृद्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।
‘वन जोगाउने नाममा हामीले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजनासहितका पूर्वाधार निर्माणमै रोक लगाएका छौँ, संसारमा यस्तो अन्त कहीँ हुँदैन,’ उनले भने, ‘अहिले अन्टार्टिकाको चिसाे हिउँमा समेत कडा संरक्षण मापदण्डका साथ पर्यटन व्यवसायको विकास गर्न थालिसकिएको छ ।’ विश्वका अधिकांश देश भ्रमण गरिसकेका तथा ‘सर्सर्ती संसार’, ‘अक्षत अन्टार्टिका’ जस्ता नियात्रा पुस्तकसमेत लेखिसकेका उनले विश्वका समृद्ध र गरिब राष्ट्रहरूको विगत, वर्तमान र भविष्य केलाउँदै नेपालको समृद्धिमा असल र दृढसंकल्पित नेतृत्वकै खाँचो औँल्याए ।
‘शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्ने जिम्मेवारी राज्यकै हुन्छ,’ आफ्नो विश्व यात्राको अनुभव सुनाउँदै उनले भने, ‘म सोभियत संघ (रुस) मा निकै वर्ष बसेँ, अहिले जर्मनीमा बस्छु । साम्यवादले कल्पना गरेको साच्चिकैको साम्यवादी व्यवस्थाको व्यवहारिक कार्यान्वयन त्यहाँ देख्न सकिन्छ । यद्यपि, त्यो देशले चरम पुँदीवादको समेत उपयोग गरेको छ, पुँजीवादभित्रै साम्यवाद अपनाएको छ ।’
जर्मनीले एउटा नवजात शिशु जम्मेदेखि उसलाई एक पूर्ण मानव बनाउँदासम्म बालकको सम्पूर्ण स्याहारसुसारका लागि आर्थिक सहयोग गर्ने गरेको उनले बताए । ‘जर्मनीमा एउटा बच्चा जन्मेदेखि २२ वर्ष नपुगुञ्जेलसम्म वैध रूपमा त्यहाँ बसेका स्वदेशी हुन् चाहे विदेशी सबै बच्चाका बाबुआमाको खातामा मासिक ३०० युरो पठाइदिन्छ,’ उनले भने, ‘किन्डरगार्टेनदेखि पिएचडी गर्दासम्म सरकारी विद्यालयमा कुनै शुल्क लाग्दैन । निजी विद्यालय पनि छन् तर सरकारी नै यति राम्रा छन् कि सकेसम्म मान्छे सरकारी छोडेर निजी विद्यालयमा पढ्नै खोज्दैनन् ।’
थोरै आम्दानी हुनेले सांकेतिक रूपमा मात्रै प्रिमियम बुझाएर स्वास्थ्य उपचार पाउने व्यवस्था समेत त्यहाँ रहेको उनले बताए । ‘वैध रूपमा बसेका विदेशीलाई समेत त्यहाँ रोजगारी दिन सकिएन भने त्यहाँका प्रदेशअनुसार मासिक ६ सय देखि ९ सय युरोसम्म दिने गरिएको छ,’ उनले भने, ‘उनीहरूले त्यसलाई समाजवादी व्यवस्था नभनी लोककल्याणकारी समाज भन्छन् तर मार्क्सले कल्पना गरेको समाजवाद त्यहाँ कार्यान्वयन भइरहेको छ । स्क्यान्डेभियन मुलुकहरू जर्मनी, बेल्जियम, फ्रान्स तथा अष्ट्रेलिया, क्यानडा जस्ता देशहरूले समाजवाद व्यवहारमा कार्यान्वयन गरिरहेका छन् । त्यहाँ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीबाट कोही बञ्चित हुँदैन । यी आधारभूत आवश्यकता पूर्ति भइसकेपछि कसैलाई अझ प्रगति गर्न मन लाग्यो भने व्यापार, व्यवसाय, उद्यम गर्ने गतिलो नीति, नियम कानुन राज्यले बनाइदिएको छ । सबैलाई समान अवसर दिएको छ ।’
नेपालमा पनि राजनीतिक दलहरूले समाजवाद र साम्यवादमा पुग्ने नारा दिइरहेको भए पनि व्यवहारिक कार्यान्वयनमा लान कोही पनि दृढसंकल्पित नदेखिएको नदेखिएको उनले बताए । कार्यक्रममा राखिएका विविध जिज्ञासाकाे जवाफ दिँदै लेखक लामिछानेले हालै प्रकाशित आफ्नाे नियात्रा कृति ‘अक्षत अन्टार्कटिका’ का विविध रोचक पाटा र पक्षबारे प्रकाश पारे । उनले अन्टार्कटिका यात्राकाे राेचक प्रसङ्ग उल्लेख गर्दै त्यहाँकाे चामत्कारिक प्राकृतिक वैभवबारे समेत चर्चा गरेका थिए ।