विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् वितरणमा स्वचालित प्रणाली (अटोमेशन सिस्टम) अपनाउन सके गुणस्तरीय विद्युत् सेवा प्रवाह गर्न सकिने एक परीक्षण अध्ययन परियोजनाको नतिजाले देखाएको छ । काठमाडौँ विश्वविद्यालय (केयू) ले व्यवस्थापन गर्दै आएको संस्था इनर्जाइज नेपालको सहयोगमा नेपाल इनर्जी फाउन्डेशनले झण्डै २ वर्ष लगाएर सम्पन्न गरेको उक्त अध्ययन परियोजनाको नतिजाले यस्तो तथ्य अगाडि ल्याएको हो ।

फाउन्डेशनले बुधबार काठमाडौँमा आयोजनाका गरेको ‘पाइलटिङ डिस्ट्रिब्युसन ग्रिड अटोमेसन इन लोकलाइज्ड डिस्ट्रिब्युसन सिस्टम फर रिमोट मोनिटरिङ अफ पावर क्वालिटी’ विषयक नतिजा सार्वजनिक कार्यशालामा यस्तो तथ्यबारे जानकारी गराइएको हो । वितरण ग्रिडलाई स्वचालनमा लाँदा भोल्टेजको गुणस्तर ७० प्रतिशतबाट बढेर ९० देखि ९५ प्रतिशतसम्म कायम हुन सकेको परीक्षण अध्ययनको नतिजाले देखाएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष शेरसिंह भाटले उपभोक्ताले तिरेको शुल्कको उचित कदर गर्दै भरपर्दो र गुणस्तरीय बिजुली सेवा प्रदान गर्न नेपालको वितरण प्रणालीलाई पनि स्वचालित बनाउनु पर्ने बताए । ‘नेपालमा विद्युत्को उत्पादन र प्रसारण स्वचालित प्रणालीमा गइसकेको छ,’ उनले भने, ‘तर, वितरण प्रणाली अझै पनि परम्परागत नै हुँदा उपभोक्ताले शुल्क तिरेअनुसार गुणस्तरीय विद्युत् सेवा पाउन सकेका छैनन्, त्यसले गर्दा अब वितरणलाई पनि अटोमेसनमा लानुपर्ने भएको छ ।’

यसका लागि अन्तर्राष्ट्रिय बजारमा विभिन्न सफ्वेयरहरू उपलब्ध रहेको भए पनि नेपालमा विद्युत् वितरण गरिरहेका स–साना वितरक निकायहरूले त्यस्ता सफ्टवेर किनेर प्रयोगमा ल्याउनै नसक्ने उनले बताए । यही समस्या समाधान गर्न आफूहरूले वितरण प्रणाली अटोमेशनका लागि आवश्यक सफ्वेयर प्याकेजको विकास गरी सफल रूपमा प्रयोगमा ल्याएको पनि उनले बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा पाइने करोडौँ रुपैयाँका डिस्ट्रिब्युसन अटोमेशन सफ्टवेयर ससाना वितरक निकायले खरिद गरेर प्रयोगमा ल्याउनै सक्दैनन्,’ उनले भने, ‘अब स्थानीय दक्ष जनशक्तिले स्थानीयस्तरमै तयार पारेको सस्तो सफ्टवेयर प्याकेजको प्रयोग गरेर पनि गुणस्तरीय बिजुली आपूर्ति दिन वितरकहरू सक्षम हुने देखिएको छ ।’ वितरण प्रणालीलाई स्वचालनमा लानेबारे नेपालमा खासै अध्ययन–अनुसन्धान नै हुन नसकिरहेको अवस्थामा आफूहरूले यस क्षेत्रमा परीक्षण परियोजना नै सफल बनाएको बताए ।

कार्यक्रममा फाउन्डेशनका सचिव डिल्ली घिमिरेले विद्युत् वितरण सञ्जाललाई स्वचालित प्रणालीमा लान यो परीक्षण अध्ययन कोशेढुंगा सावित हुने बताए । वितरण फिडर लामा हुँदा र परम्परागत वितरण प्रणाली अपनाइरहँदा विद्युत् वितरण सेवाको गुणस्तरीयता कायम हुन नसकिरहेको अवस्थामा यो अध्ययनले दिएको नतिजा प्रभावकारी बन्न सेक्ने उनको भनाइ छ ।

‘यो दुई वर्षको अध्ययनबाट प्राप्त नतिजालाई अझ तथा थप अध्ययनबाट परिमार्जन गर्दै लगेर अझ प्रभावकारी नतिजा प्राप्त गर्न सकिन्छ,’ उनले भने, ‘राष्ट्रियस्तरमा एकै पटक सबै वितरण लाइनलाई अटोमेशनमा लान गाह्रो छ, यसले छुट्टाछुट्टै वितरण सञ्जानलाई फरकफरक हिसाबले स्वचालित बनाउन सघाउँछ ।’

सचिव घिमिरेका अनुसार काठमाडौँ विश्वविद्यालय व्यवस्थापनमा रहेको इनर्जाइज नेपालको ७० प्रतिशत र फाउन्डेशनको ३० प्रतिशत गरी ४८ लाख रुपैयाँको लागतमा परीक्षण अध्ययन सम्पन्न गरिएको हो । परीक्षण अध्ययनको स्थानीय साझेदारको रूपमा दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था रहेको छ । नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विद्युत् कार्यक्रमअन्तर्गत संस्थाले दक्षिण ललितपुरका १९ वटा वडाका ७ हजार उपभोक्तालाई विद्युत् वितरण गर्दै आएको छ । त्यसमध्ये ललितपुरको तल्लो नल्लुमा रहेका लोड सेन्टर र त्यसभित्रका ग्राहकका घरमा स्मार्ट मिटर राखेर वाइफाइ राखेर सफ्टवेयरमार्फत यो परीक्षण अध्ययन गरिएको हो ।

कार्यक्रममा प्रा. डा. अरविन्दकुमार मिश्रले परीक्षण अध्ययनबाट एकै पटकमा शतप्रतिशत नतिजा ननिस्किएपछि शुरूवात भने राम्रो रहेको प्रतिक्रिया दिए । वितरण लाइनमा देखिने अवरोध (फल्ट) पत्ता लगाउनु अहिले विश्वकै चुनौती बनिरहेको अवस्थामा नेपालमै वितरण प्रणालीमा देखिने फल्ट पत्ता लगाउने सकिने सफ्टवेयर प्याकेज विकास गर्न सकिए त्यो निकै ठूलो उपब्धि हुने उनको भनाइ थियो ।

कार्यक्रममा इनर्जाइज नेपालका प्रोग्राम म्यानेजर डा. विजय थापाले सहकार्यमा गरिएको यो अध्ययनबाट विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउने विषयमा नेपाली जनशक्तिले प्राप्त गरेको नयाँ ज्ञान तथा अनुभवहरू प्राप्त महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा परीक्षण अध्ययन परियोजनाको संलग्न भएर काम गरेका इन्जिनियर अवनिश ठाकुरले अध्ययनका विविधि प्राविधिक पक्षबारे जानकारी गराएका थिए । ‘नेपालका वितरण लाइनहरू लामो हुने, त्यस्ता लाइनमा पर्ने झाडीहरूको नियमित फडानी नहुने, बाढी पहिरो जस्ता कारणले अनेक फल्ट हुने देखा पर्ने तथा लो भोल्टेजका समस्याहरू देखिने गरेका छन्,’ उनले भने, ‘अटोमेशनमा जाँदा यस्ता धेरै समस्या समाधान हुने देखिनछ, अटोमेटिक भोल्टेज रेगुलेटर राखेपछि लोभोल्टेजको समस्या समाधान हुने देखिएको छ ।’ स्वचालत प्रणालीका लागि प्रयोग गरिने सफ्वेयरहरूको साइबर सुरक्षाको चुनौती भने गम्भीर रहेकोले त्यसलाई पनि सामना गर्न सक्नुपर्ने उनले बताए ।

नेपाल इनर्जी फान्डेशनका अध्यक्ष मोहनदास मानन्धरको उपस्थितिमा भएको कार्यक्रममा ऊर्जा तथा विद्युत् क्षेत्रका विज्ञ, विद्यार्थी तथा सरोकारवालाको उपस्थिति थियो ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३