विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई मुख्य सडकमा भूमिगत वितरण लाइन निर्माणको काम अघि बढाउन समस्या देखिएको छ । सडक विभागले ‘कटिङ’ अनुमति दिन ढिलाई गरिरहेकाले मुख्य सडकहरूमा भूमिगत वितरण लाइन निर्माण सुरु गर्न नसकिएको हो ।

भित्री सडकहरूमा भूमिगत वितरण लाइनको काम भइरहे पनि मुख्य सडकमा अझै सुरु हुन नसकेको विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले बताए । ‘सहायक सडकहरूमा त नियमित काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘रत्नपार्क–महाराजगन्ज, माइतिघर–कोटेश्वरलगायत सडक खण्डमा कटिङको अनुमति पाइनसकेकाले नै काम सुरु गर्न सकेका छैनौं ।’

उनले कटिङको अनुमतिका लागि सडक विभागलाई पत्रचार गरिसकेको र अनुमति पाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । काठमाडौं महानगरपालिकाले बनाउन लागेको लाइकल लेन र भूमिगत वितरण लाइनको रुट एउटै परेकाले पनि समन्वय गरेर जानुपर्ने भएकाले अनुमति पाउन समय लागेको प्रधानले बताए ।

बनिसकेका सडक छेउबाटै वितरण लाइन लैजानु परेकाले अनुमति लिएर काम गर्दा लक्ष्यअनुसार प्रगति हुन नसकेको उनले बताए । २०७६ फागुनबाट सुरु भएको भूमिगत वितरण लाइनको निर्माण करिब ४० प्रतिशत मात्रै पूरा भएको छ । अहिलेसम्म रिङ रोड बाहेक बुढानिलकण्ठ क्षेत्रको भूमिगत लाइन निर्माणको काम सकिएको छ । 

चाबहिल–मित्रपार्क, चाबहिल–चुच्चेपाटी र कोटेश्वर जडिबुटी खण्डको वितरण लाइन भूमिगत गर्ने कार्य सम्पन्न भइसकेको छ । लैनचौर–बुढानिलकण्ठ खण्ड पनि पूरा भइसकेको छ । बिजुली बजार–अनामनगर सडक खण्डमा अहिले काम भइरहेको छ ।

उनले अब मुख्य सडकको रुटको कामलाई अघि बढाइने उनले बताए । मुख्य सडकको रुटको काम अघि बढेपछि वितरण लाइन निर्माणले गति लिने उनले दाबी गरे । दशैंपछिबाट कामलाई तीव्रता दिने योजना रहेको उनले बताए ।

नयाँ बानेश्र र कीर्तिपुर क्षेत्रको भूमिगत वितरण लाइन निर्माणका लागि ठेकेदार छनोट भई अध्ययन भइरहेको प्रधानले जानकारी दिए । मुख्य सडकको रुट नपाएकै कारण भूमिगत वितरण लाइनको निर्माण अवधि लम्बिने देखिएको छ । कोरोना (कोभिड-१९) महामारी असर तथा सडक कटिङको अनुमति लिन भइरहेको ढिलाईले लक्ष्यभन्दा १ वर्ष धकेलिने अवस्था छ ।

विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई भूमिगत बनाउन पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गत काम गरिरहेको हो ।
चाबहिल क्षेत्रमा रत्नपार्क र महाराजगन्जदेखि बुढानिलकण्ठसम्म महाराजगन्ज वितरण केन्द्र अन्तर्गत विद्युत वितरण लाइन भूमिगत गर्ने कार्य सुरु गरिएको हो ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँ बजार, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, नक्साल, लाजिम्पाट, गौशाला, एयरपोर्ट, चाबहिल, बौद्ध, जोरपाटीलगायत स्थानको विद्युत वितरण लाइन भूमिगत गरिने छ ।

यस्तै, महाराजगन्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, महाराजगन्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिङ हस्पिटललगायतका स्थानमा लाइन भूमिगत गर्ने प्राधिकरणको योजना छ ।

आयोजनामा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल सरकार तथा प्राधिकरणको लगानी छ । यो आयोजना अन्तर्गत करिब २ सय ५० किलोमिटरमा ११ हजार भोल्ट, र ४ सय किलोमिटरमा ४ सय भोल्टको भूमिगत वितरण लाइन निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit