काठमाडौं । ३ हाइड्रो पावर कम्पनीले करिब ७३ लाख कित्ता सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबाने) मा आवेदन दिएका छन् । कम्पनीले निर्माण सम्पन्न र निर्माणाधीन जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका हुन् ।
माया खोला हाइड्रो पावर, भूगोल इनर्जी र मकर जितुमाया सुरी हाइड्रो पावर कम्पनीले सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको बोर्डले जनाएको छ । यी कम्पनीले ७३ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ७३ लाख १२ हजार १ सय ६० कित्ता सेयर निष्कासनको तयारी गरेका छन् ।
माया खोला हाइड्रो पावर कम्पनीले सबैभन्दा बढी ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर निष्कासन अनुमति मागेको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन अनुमति मागेको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ३.५७ मेगावाटको द्धारी खोला जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । आयोजनाले २०७४ बैशाख २३ गतेदेखि नियमीत विद्युत उत्पादन गरीररहेको छ ।
मकर जितुमाया सुरी हाइड्रो पावर कम्पनीले पनि स्थानीय र सर्वसाधारणका लागि २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको सेयर पनि प्रभु क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्नेछ ।