काठमाडौँ । मनाङ र लमजुङ जिल्लाको सीमा क्षेत्रमा ३० मेगावाटको म्यार्दी खोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ ।
प्रतिवेदन अनुसार नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको उक्त आयोजना मनाङको नासोङ गाउँपालिका–१ तथा लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ र ५ मा निर्माण हुने छ । आयोजनाको ग्रस हेड करिब ८५२ मिटर र नेट हेड ८३९.४९ मिटर रहने छ । आयोजनाको डिजाइन डिस्चार्ज ४.१७ घनमिटर प्रतिसेकेन्ड रहने छ ।आयोजनाको जलाधार क्षेत्र करिब ४९.१ वर्ग किलोमिटर रहेको म्यार्दी खोलामा आधारित छ । औसत वार्षिक बहाव ५.४७ घनमिटर प्रतिसेकेन्ड, न्यूनतम मासिक बहाव १.२३ घनमिटर प्रतिसेकेन्ड र अधिकतम मासिक बहाव १४.९८ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।
आयोजनाका मुख्य संरचनामा हेडवर्क्स, इन्टेक, ग्राभेल ट्र्याप, डिसेन्डर बेसिन, हेडरेस सुरुङ, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस तथा प्रसारण लाइन रहनेछन् । हेडरेस सुरुङको लम्बाइ करिब ३ हजार ४५० मिटर र पेनस्टक पाइपको लम्बाइ १ हजार ४४९ मिटर रहने छ भने पाइपको आन्तरिक व्यास १.३५ मिटर रहने उल्लेख छ ।
आयोजनाबाट वार्षिक औसत १७३.४४ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये वर्षायाममा १२२.५६ गिगावाट घन्टा र सुख्खायाममा ५०.८८ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् करिब १० किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत धारापानीस्थित २२०÷१३२ केभी मनाङ हब सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।
आयोजना सञ्चालनमा आएपछि स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास तथा राष्ट्रिय विद्युत् प्रणालीमा ऊर्जा आपूर्ति वृद्धि हुने अपेक्षा गरिएको छ ।