काठमाडौँ । हाइड्रो इम्पायर प्रालिले म्याग्दी जिल्लामा निर्माण गर्ने ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । ५ वटा बैंकको सह–वित्तीयकरणमा झण्डै साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने गरी सोमबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।
आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरता तथा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ । सम्झौतापत्रमा अगुवा बैंकका तर्फबाट कर्जा प्रमुख अमित श्रेष्ठ तथा एसबिआई बैंकका शाखा प्रमुख सन्तोष पुन, सिटिजन्स बैंकका रोशन मल्ल, एभरेष्ट बैंकका उमेश गेलाल र नबिल बैंकका निशेषहरि राजभण्डारीले हस्ताक्षर गरेका थिए ।
प्रवर्द्धक कम्पनीका अध्यक्ष काजी लामा तथा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले सम्झौतापत्र आदानप्रदान गरेका थिए । कार्यक्रममा अध्यक्ष लामाले आयोजना समय र लागतभित्रै आयोजना पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, यस आयोजनाले सरकारले राखेको ऊर्जा विकासको लक्ष्य पूरा गर्न विशेष भूमिका खेल्ने बताए ।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत उदयकान्त झाले वित्तीय व्यवस्थापनको टुंगो लाग्नु आयोजनाका लागि कोशेढुंगा सावित भएको बताए । यसबाट आयोजनाको निर्माणलाई तीव्रता दिँदै आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा तथा हौसला प्रदान गरेको उनको भनाइ थियो ।
सोही कार्यक्रममा अगुवा बैंकका प्रमुख कार्यकारी अधिकृत कँडेलले आयोजना समय र लागतभित्रै पूरा गर्न कम्पनी व्यवस्थापन प्रतिबद्धताका साथ लाग्नुपर्ने बताए । ‘निर्माण प्रभावकारी तरिकाले सम्पन्न गर्नु महत्त्वपूर्ण जिम्मेवारी हो, लगानी परिचालनका सन्दर्भमा हामी प्रतिबद्ध भएर आयोजनाको सहयोगी बन्ने छौँ,’ उनले भने, ‘यसले भविष्यमा नेपाललाई ऊर्जा निर्यातकर्ता देश बनाउने अभियानमा ठोस योगदान पुर्याउने छ ।’ साथै, कम्पनी र बैंकबीच एकता र सहकार्य गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । त्यसमा बैंकहरूबाट ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्नेछन् । कम्पनीका अनुसार आयोजनामा बैंकको ब्याजबाहेक ऋण र स्वपुँजी लगानीको अनुपात ८०ः२० रहेको छ भने बैंकको ब्याजसहित लगानीको अनुपात ७०ः३० (कूल लगानी ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ) प्रक्षेपण गरिएको छ । आयोजना निर्माण भएको करिब १२ वर्षमा बैंकको ऋण तिरिसक्ने योजना छ ।
धवलागिरि गाउँपालिका–४ मा निर्माण हुने आयोजनाबाट वार्षिक औसत २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत्गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा प्रवाह गरिनेछ ।
आयोजनाको डिजाइन परामर्शदातामा ईआई माभेन प्रा.लि. रहेको छ भने सिभिल निर्माण (हेडवर्क्सदेखि अडिट सुरुङ) माछापुच्छ्रे इन्जिनियरिङ प्रा.लि. र आरजे/ममता जेभी (अडिट सुरुङदेखि विद्युत्गृहसम्मको संरचना) ले गर्ने गरी सम्झौता भएको छ ।
हालसम्म आयोजना निर्माणस्थलमा पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ । आयोजनाले निर्माण गर्नुपर्ने करिब ९ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको कम्पनीले जानकारी दिएको छ । उता, सुरक्षार्थ आवश्यक नेपाली सेनाका लागि आवास (आर्मी क्याम्प) को व्यवस्था र अन्य सिभिल संरचनाका लागि ठेकेदार परिचालन भइ कार्य सुरु भइसकेको छ ।
आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पर्दाथ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।