काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसन बिहीबार दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । सबस्टेसनमा रहेको १३२/३३/११ केभीको करेन्ट ट्रान्फर्मर (सिटी) पड्केर बुधबार बिहान आगलागी भएपछि उक्त सबस्टेबाट विभिन्न ४ वटा जिल्लामा विद्युत् जाने ३३ केभीका लाइनको आपूर्तिमा अवरोध भएको थियो ।
पड्किएको करेन्ट ट्रान्सफर्मरमा आवश्यक मर्मत सुधार तथा जलेका तारसहितका सामान परिवर्तन गरी पहिलाकै अवस्थामा ल्याएर सञ्चालन गरिएको सबस्टेशनका एक अधिकारीले बताएका छन् । ‘सबै उपकरणको मर्मत र सुधार गरी दिउँसोबाट सबस्टेसन सञ्चालनमा ल्याएको छ,’ ती अधिकारीले भने ।
सबस्टेशनको करेन्ट ट्रान्सफर्मर पड्केर आगलागी भएपछि त्यहाँबाट विद्युत् ३३ केमी लाइनमार्फत विद्युत् आपूर्ति गरिएका सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीका केही भागमा समेत विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको थियो । सिल्धुली क्षेत्रमा रामेछापपट्टिबाट वैकल्पिक व्यवस्था गरी हिजै विद्युत् आपूर्ति गरिएको थियो ।
त्यस्तै, सर्लाही, महोत्तरी र धनुषामा समेत अर्कोपटिट्टबाट विद्युत् दिएर आपूर्ति सुचारु गरिएको थियो । अहिले भने सबै क्षेत्रमा विद्युत् सुचारु भएको उनले बताए ।
याे पनि पढ्नुहाेस्
ढल्केबर सबस्टेशनको करेन्ट ट्रान्सफर्मर पड्केर आगलागी, अवरुद्ध विद्युत् आपूर्ति सुचारु गरिँदै