लाछ्वोर (रामेछाप) । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखू जलविद्युत् आयोजनाको निर्माण प्रगति ८५ प्रतिशत पुगेको छ । एक हप्ताअघि सुरुङ छिचोलिएपछि अब सुरुङ लाइनिङ, सर्किटको काम दुईतिरबाट सुरु गरिएको छ । मुख्य सुरुङ छिचोल्न अब ५ सय ६० मिटर बाँकी छ । त्यो पनि आउँदो जेठभित्र पूरा लक्ष्य आयोजनले राखेको छ ।
लिखू खोला र नुप्चे खोलाको पानीलाई मिसाएर नुप्चे–लिखू जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ २०७८ असोजदेखि आयोजना निर्माणाधीन छ । २०७४ सालमा दर्ता भएको प्रवर्द्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडले आयोजनाको अध्ययन त्यतिबेलाबाटै सुरु गरेको थियो । अध्ययन सुरु गरेको ८ वर्षभित्रै आयोजनाको निर्माण पूरा हुन लागेको हो । आगामी ६ महिना अर्थात् २०८२ भित्रै आयोजनाबाट व्यवसायिक उत्पादन सुरु गर्ने गरी काम गरिरहेको प्रबद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष टिएन आचार्यले जानकारी दिए ।
आयोजनाका लागि कुल ७ हजार ४ सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्ने छ । हालसम्म ६ हजार ८ सय ९० मिटर सुरुङ खनिएको छ । आयोजनाका लागि पूर्वतिरबाट लिखू खोला र पश्चिमतिर नुप्चे खोलाको पानी फर्काएर सुरुङ र पेनस्टक पाइप मार्फत् लिखू खोला र नुप्चे खोलाको दोभान नजिक झारेर विद्युत् उत्पादन हुने छ । दुवै खोलाको पानी फर्काउन लिखू खोलाको हेडवर्क्सको काम पूरा भएको छ । नुप्चे खोलामा पनि हेडवर्क्सको काम अन्तिम चरणमा पुगेको छ ।
हेडवर्क्सको सिभिलतर्फको काम पूरा भएको छ भने गेटहरू राख्ने काम मात्रै बाँकी छ । दुवै खोलाको हेडवर्क्समा रहेको बालुवा थिग्रयाउने पोखरीबाट ५ सय मिटर जति पेनस्टक पाइपबाट पानी ल्याएपछि सुरुङमा हालिन्छ । सुरुङको अन्तिम बिन्दुबाट पुनः पेनस्टक पाइपमार्फत विद्युतगृहसम्म पानी लगिन्छ । सुरुङभित्र र बाहिर गरी ४ हजार ५१ मिटर पेनस्टक पाइप जोड्नु पर्नेछ । पाइप जोड्नका लागि अब ४ सय मिटर मात्रै बाँकी रहेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले जानकारी दिए ।
विद्युत्गृह भवन तयारी र रङरोगन पनि भइसकेको छ । हाइड्रोमेकानिकल निर्माणतर्फ गेटहरू, पाइपहरू जडान भइरहेका छन् । त्यस्तै, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकलका जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर लगायतका सामान आयोजनास्थलमा ढुवानी पूरा गरी धमाधम जडान हुँदै छन् ।
आयोजनाबाट उत्पादन हुने ५७.५ मेगावाट विद्युत् प्रवाहका लागि २४ किलोमिटर १३२ केभीको गर्जाङ सबस्टेशनसम्म प्रसारण लाइनसमेत निर्माण भइरहेको छ । यसअन्तर्गत ७८ वटा टावर निर्माण गर्नुपर्नेमा ५४ वटा टावरको जग तयार गरी जगसम्मको काम पूरा भएको छ । १२ वटा टावर तयार भइसकेका छन् । अब केही समयपछि तार तान्ने काम पनि सुरु हुने महाप्रबन्धक अधिकारीले बताए ।
नुप्चे लिखू जलविद्युत् आयोजना ३ हजार ३ सय ५० मिटर उचाइमा रहेको नुम्बुर हिमालको फेदमा रहेको छ । यो आयोजना उच्च हिमाली क्षेत्रमा निर्माण भएका संसारका थोरै जलविद्युत् आयोजना मध्ये पर्ने उच्च हेड भएको आयोजना हो । आयोजनाको खुद हेड १ हजार ५ मिटर रहेको छ ।
उच्च हिमाली क्षेत्रमा निर्माणाधीन आयोजना भएकाले अति चिसो मौसममा काम गर्न कठिन छ । दुईतिरको खोला फर्काउनुपर्ने भएकाले दुवैतिर सडक बनेका छन् । आयोजनाले आन्तरिक रूपमा ४० किलोमिटर सडक नयाँ तयार गरेको छ । शिवालयदेखि आयोजनास्थलका सडक नियमित मर्मतसंहार गर्दै आएको छ । आयोजनास्थलसम्म पुग्न लिखू खोलामा पक्की पुल र आयोजना क्षेत्रमा नुप्चे खोलामा २ वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजना निर्माणका लागि ३३ केभी प्रसारण लाइन लैजाँदा लाछ्वार गाउँमा विद्युतीकरण भएको छ ।
आयोजनाको सिभिल निर्माण कार्य सुनाम इफ्रास्टक्चर निर्माण प्रालिले गर्दै छ । त्यसैगरी प्रसारण लाइनको पाँचपोखरी कन्टरूक्सन प्रालिले, हाइड्रोमेकानिकलको वर्क्सप इन्जिनियरिङ एण्ड सप्लायर्स र इलेक्ट्रोमेकानिलतर्फ भ्वाइट हाइड्रो भारतले काम गर्दै आएको छ । आयोजनाको परामर्शदाताको रूपमा इआई मावेन प्रालिले गर्दै आएको छ ।
आयोजनाको लागत १० अबर ९८ करोड रहेको छ । आयोजनाको विद्युत्गृह सतही छ भने विद्युत् उत्पादन गर्न ३ वटा टर्वाइन रहेको छ । आयोजनाबाट कुल ३८१.७३५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।