काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठको पहिलो साताभित्र प्राप्त विद्युत् सेवासम्बन्धी ११८३ गुनासो सम्बोधन तथा फर्छ्यौट गरेको छ । मन्त्रालयले चौबिसै घण्टा सञ्चालनमा ल्याएको ११५१ नम्बरको हटलाइन टेलिफोनमार्फत उक्त गुनासो प्राप्त भएको र शतप्रतिशत फर्छ्यौट गरिएको जनाएको हो ।
मन्त्री विराजभक्त श्रेष्ठले जनगुनासोको तत्काल सुनुवाइ र समाधानलाई मन्त्रालयको प्राथमिक कार्यसूचीमा राखेपछि यस्तो तीव्र सुनुवाइ देखिएको हो । निर्देशनपछि मातहतका निकायलाई सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै गुनासो व्यवस्थापन प्रणालीलाई तीव्र, प्रभावकारी र परिणाममुखी बनाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्राप्त गुनासोमध्ये भूमिगत केबलसम्बन्धी ७५, विद्युत् सेवा अवरुद्ध (नो लाइट) का ११६, पोल नपाएको १९, ट्रान्सफर्मर सम्बन्धी ६, मिटर नपाएको ५ तथा इभी चार्जिङ सम्बन्धी ३ वटा समस्या प्रमुख रहेका छन् ।
मन्त्रालयले संसद्को शून्य समयमा उठाइने प्रश्न, संसदमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित माग, प्रश्न र गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाएको जनाएको छ । मन्त्रालयका अनुसार चैत १५ देखि ३० गतेसम्म फोनमार्फत ४ हजार २४८, ह्वाट्स एपमार्फत १४, इमेलमार्फत २ र हेलो सरकारमार्फत ५ गरी कुल ४ हजार २६९ वटा गुनासो प्राप्त भएका थिए ।
त्यस्तै, वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ र इमेलमार्फत १० वटा गुनासो दर्ता भएका थिए । मन्त्री श्रेष्ठले कार्यभार सम्हाले यता कुल ११ हजार ५७५ वटा गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
लिखित निवेदन तथा सार्वजनिक सञ्चार माध्यममा आएका विषयलाई समेत सचिवालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाइएको छ ।