काठमाडौँ । ब्रम्हायणी हाइड्रो पावर कम्पनी प्रालिले निर्माण सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण गरिरहेको ३६.५२ मेगावाटको ब्रम्हायणी जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ । उक्त जलविद्युत् आयोजनाको निर्माण २०८२ साल साउनभित्र सक्ने लक्ष्य रहेको भए पनि प्रगति निकै सुस्त भएको हो ।
आयोजनाबाट उत्पाादित विद्युत् जोड्ने सबस्टेसन नेपाल विद्युत् प्राधिकरणले सुस्त गतिमा निर्माण गरेकोले आयोजनाको निर्माण समेत सुस्त भएको ब्रम्हायणी हाइड्रोपावर कम्पनीको कार्यकारी अध्यक्ष भरतप्रसाद पराजुलीले ऊर्जा खबरसँग बताए ।
उनका अनुसार आयोजनाको निर्माण पूर्वका आवश्यक संरचनाहरू निर्माण भइसकेको छ । ‘आयोजना निर्माणपूर्वका पूर्वाधारको काम लगभग सकियो अहिले टनेल निर्माणको काम पनि भइरहेको छ,’ उनले भने ।
कम्पनीले जुगल गाँउपालिकाको वडा नम्बर–२ र ३ मा प्रस्ताव गरिएको आयोजनाको निर्माण सम्पन्न गर्न ६ अर्ब १५ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरेको जनाएको छ ।
कम्पनीले बलेफी खोलामा यो आयोजना ४० मेगवाट पहिचान गरेको थियो । आयोजनाको प्रस्तावित इन्जिनियरिङ संरचना परिर्वतन गरिएकाले जडित क्षमता ३६.५२ मेगावाटमा सीमित गरिएको उनले बताए ।
कम्पनीका अनुसार आयोजना निर्माण पूरा भएपछि वार्षिक २१६.६६ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ । यस मध्ये वर्षायाममा १५१.७३ गिगावाट र सुख्खायाममा ६४.९३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
उत्पादित विद्युत् १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत १५ किलोमिटर दूरीमा रहेको प्राधिकरणले निर्माण गरिरहेको पाङटाङ सबस्टेसनमा जोडिने छ । प्रसारण लाइन भने कम्पनी आफैँले निर्माण गर्ने छ ।
आयोजनाका विभिन्न संरचना निर्माणका लागि १३.८६ हेक्टर जग्गा आवश्यक पर्नेछ जसमध्ये ८.८९ हेक्टर स्थायी र ४.९७ हेक्टर अस्थायी रूपमा प्रयोग हुने कम्पनीले जनाएको छ । आयोजनाका लागि ८.३६ हेक्टर सरकारी जग्गा प्रयोग हुने छ । यस मध्ये स्थायी रूपमा ५.४९ हेक्टर र अस्थायी रुपमा २.८७ हेक्टर आवश्यक पर्ने छ ।