कर्णाली । विद्युत् पहुँच नभएका डोल्पाका ५ पालिकाभित्र स्थानीयवासीलाई सौर्य विद्युत् प्रणाली (सोलार) वितरण सुरु गरिएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको ६ वटा वडाहरूमा ६६ लाख रुपैँया आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।
त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा २० लाख रुपैयाँको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका–६ मा २५ लाख रुपैयाँ लागतमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे–फोक्सुण्डो गाउँपालिका–१ मा २० लाख रुपैयाँमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।
ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा ३० लाख रुपैयाँमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरूमा विद्युत्काे पहुँच विस्तार गर्ने कार्यक्रम अन्तर्गत सोलार वितरण गरिएको छ ।