काठमाडौँ । टेरा सोल इनर्जी कम्पनी लिमिटेडले २० मेगावाटको ढल्केबर सौर्य विद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि उत्पादन अनुमति पत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
महोत्तरीको बर्दिबास नगरापालिका–६ मा निर्माण गरिने उक्त आयोजना अन्तर्गत १८.२४ हेक्टर जग्गामा सोलार फोटोभोल्टिक प्यानलहरू जडान गरिने छ । कम्पनीका अनुसार आयोजनाबाट डिसी विद्युत् उत्पादन गरी त्यसलाई ३५० किलोवाटका ५५ वटा र २५० किलोवाटका ३ वटा स्ट्रिङ इन्भर्टरमार्फत विद्युत् उत्पादन गरिने छ ।
आयोजनाबाट वार्षिक औसत ४०.२४९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने विद्युत्लाई ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।
२०८३ मंसिरभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) २०८३ वैशाख २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।