विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा विकास हुने ९८.८० मेगावाटको तामाकोसी–५ को सिभिल निर्माण एक महिनाभित्र सुरु हुने भएको छ ।

आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले गत शुक्रबार (बैशाख २८ गते) प्याकेज–१ (सिभिल तथा हाइड्रो मेकानिकल) को ठेक्का सम्झौता गरेसँगै निर्माणको तयारी थालिएको हो । पहिलो प्याकेजको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन र नेपाली कुमार श्रेष्ठ निर्माण सेवा (सिनो हाइड्रो÷केएसएनएस जेभी) ले संयुक्तरूपमा पाएका छन् ।

कम्पनीका अनुसार १२ अर्ब ९९ करोड रुपैयाँमा उक्त ठेक्का भएकोमा निर्माण व्यवसायीले सम्झौता मितिबाट सुरु गरी ४ वर्षभित्र सम्पूर्ण काम पूरा गर्नुपर्ने उल्लेख छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले सिभिलतर्फको निर्माण एक महिनाभित्र काम सुरु हुने बताए । प्याकेज–२ (इलेक्ट्रो मेकानिकल र प्रसारण लाइन) को ठेक्का पनि एक महिनाभित्र आह्वान गरिने छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले हामी त्यसैको तयारीमा जुटेका छौँ ।’

प्याकेज–१ को ठेक्काका लागि सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिईडब्लुई) को प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा पास भएका कम्पनीसँग वित्तीय प्रस्ताव मागिएकोमा सिनो हाइड्रोले सबैभन्दा कम कबोल गरेको थियो । सिनो हाइड्रोले अनुमानभन्दा ६ प्रतिशत कम मूल्यमा र सिईडब्लुईले १५ प्रतिशत बढीमा ठेक्का प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले अहिलेसम्म आयोजनाका लागि आवश्यक १५० रोपनी निजी जग्गा अधिग्रहण भइसकेको र १२ हेक्टर सरकारी जग्गा प्राप्तिको अन्तिम चरणमा पुगेको भण्डारीले जानकारी दिए । यस्तै, आवास क्षेत्र (क्याम्प) निर्माणको काम भइरहेकोमा आगामी ३ महिनाभित्र पूरा हुने उनको भनाइ छ ।

माथिल्लो तामाकोसी निर्माणका क्रममा धेरै भौतिक संरचनाको विकास भइसकेको र पहुँचमार्ग तथा स्थानीयस्तरमा जोडिएका दायित्वहरू पूरा गरिएको हुँदा यो आयोजनाको निर्माणले गति लिने विश्वास गरिएको छ । माथिल्लो तामाकोसीको टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी ५० मिटर दूरीबाटै फर्काइन्छ । यसका लागि आवश्यक ‘इन्टरकनेक्सन’को काम पूरा भइसकेको पनि भण्डारीले बताए ।

माथिल्लो तामाकोसीको सिभिल संरचनाको निर्माण पनि सिनो हाइड्रोले गरेको थियो भने १४० मेगावाटको तनहुँ जलाशय आयोजनाको विद्युत्‌गृह निर्माणको ठेक्का समेत उसैले हात पारेको छ । माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानी फर्काएर (डाइभर्ट गरी) ८ किलोमिटर सुरुङ निर्माण गरी तामाकोसी–५ को विद्युत्‌गृहसम्म पुर्‍याउने योजना छ ।

यस आयोजनाका लागि जर्मनीको ट्रयाक्टेबेल इन्जिनियरिङ जीएमबीएच (ल्यामेयर इन्टरनेशनल) ले साढे दुई वर्ष लगाएर आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन पूरा गरेको थियोे । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमा प्राप्त गरेको थियो । चीनको अगुवाइमा स्थापित एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ ।

पिपिए : नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत स्वामित्वको तामाकोसी जलविद्यु त्ले निर्माण गर्ने यो आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भइसकेको छ । हिउँदका ६ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्खाको ६ महिना प्रतियुनिट ४.८० रुपैयाँमा आयोजनाको पिपिए भएको छ ।

वित्तीय व्यवस्थापन : जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत राखिएको यो आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी लगानी गर्ने मोडल कायम गरिएको छ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने छ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने गरी २०८० जेठ ७ गते प्राधिकरण, प्रवर्द्धक कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको थियो । कुल २१ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सञ्चय कोषले मात्र १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

प्रसारण लाइन : माथिल्लो तामाकोसीकै क्यासकेड आयोजना भएको हुँदा यसका लागि अलग्गै प्रसारण लाइन निर्माण गर्नु पर्दैन । उत्पादित विद्युत् विद्युत्गृहदेखि गोंगर–खिम्ती २२० केभी प्रसारण लाइनको १७ नम्बर टावरमा पुर्‍याई आवद्ध गराइने छ । त्यसपछि, ‘लुप इन, लुप आउट (भित्रिने र बाहिरिने)’ प्रणाली अन्तर्गत १७ नम्बर टावरमा भित्रिई १८ नम्बरबाट बाहिरिएर गोंगर–खिम्ती लाइनबाटै न्यू खिम्ती सबस्टेसनमा पुग्ने छ । तामाकोसी कम्पनीले निर्माण गर्नुपर्ने ३.४ किलोमिटर प्रसारण लाइन अन्तर्गत १८ वटा टावर निर्माण हुनेछन् ।

पहिलो चरणको ठेक्का रद्द : तामाकोसी–५ को सिभिल तथा हाइड्रो मेकानिकलतर्फको निर्माणका लागि पहिलो पटक २०८० साउन ९ गते ठेक्का आह्वान गरिएको थियो । ठेक्का प्रक्रियामा भाग लिएका कम्पनीको बोलपत्र सारभूतरूपमा प्रभावग्राही नदेखिएपछि रद्द गरी दोस्रो पटक प्रस्ताव मागिएको थियो ।

त्यतिबेला, प्याकेज–१ को निर्माणका लागि चिनियाँ कम्पनीहरू सिनो हाइड्रो र चाइना गेजुवा ग्रुप कर्पोरेशन प्राविधिक मूल्यांकनमा पास भएका थिए । तर, दुवैको आर्थिक प्रस्ताव ठेक्का रकमभन्दा बढी देखिएपछि रद्द गरिको थियो ।

आयोजनाको थप विवरण

जिल्ला : दोलखा, बिगू गाउँपालिका
नदी : तामाकोसी
आयोजना : आंशिक–जलाशय (बिहान २ घन्टा र बेलुकी ४ घण्टा पिकिङ)
क्षमता : ९९.८० मेगावाट
वार्षिक विद्युत् उत्पादन : ४९ करोड ५१ लाख ४८ हजार युनिट
वार्षिक विद्युत् उत्पादन : ५४ करोड ३४ लाख ९४ हजार युनिट (माथिल्लो तामाकोसीमा रोल्वालिङ खोला मिसाएपछिको उत्पादन)
कूल लागत : २१.५० अर्ब रुपैयाँ (बैंकको ब्याजसहित)
मुख्य  सुरुङ : ८ किलोमिटर
विद्युत जोडिने स्थान : २२० केभी गोंगर सबस्टेसन (विद्युत्‌गृहदेखि ३.४ किलोमिटर)
भौतिक संरचना : भूमिगत
निर्माण अवधि : ४ वर्ष (२०८४ सम्म सम्पन्न गर्ने)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३