विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्व डीआईजी रमेशप्रसाद खरेलले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् । खरेलले साउन २९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता गरेको उजुरीमा घिसिङमाथि भ्रष्टाचारको आरोप लगाइएको छ । घिसिङले साउन ३० गते एक विज्ञप्ति जारी गरी उक्त आरोपको खण्डन गरेका छन् । 

घिसिङद्वारा जारी विज्ञप्तिमा सामान्य हिज्जे सम्पादन गरी जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ : 
                               

प्रेस विज्ञप्ति

नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट मिति २०८१ साउन २९ गते मङ्गलबारका दिन सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रूपमा दूषित मनसायकासाथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । 

निज खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीतस्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यमै दुरूपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेराविरुद्धमा प्रचार भइरहेको थियो र छ । 

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहे तापनि निज खरेलबाट मेरा विरुद्धमा आफैँ न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ । सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरू हुन्छन् र त्यस्ता व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरू जहिले पनि निगरानीमा हुन्छन् । आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनविज्ञ छैन ।

उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आपूm चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहीत स्वार्थकासाथ यस्ता कामहरू भइरहेका थिए र छन् ।  

अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमानदारी पूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरूपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइए राज्यका निकायहरूले छानबिन गर्ने नै छन् । 

नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाईसमेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको छु । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ लगाइएका आरोपहरूको खण्डन गर्दछु । यस्ता आरोपको भ्रममा नर्पन सबैलाई अनुरोध गर्दछु ।  

प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएका केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था  अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेराविरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानून बमोजिम गरिएका खरिद सम्झौताहरू, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र  अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ । 

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु । 

नेपाल विद्युत् प्राधिकरणका हरेक कामकारबाहीहरू पारदर्शी रूपमा भइरहेका छन् । र, अझै पारदर्शी रूपमा अगाडि बढाइने छ । ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने यसै विज्ञप्तिमार्फत प्रतिबद्धता जनाउँदछु । 

कुलमान घिसिङ
कार्यकारी निर्देशक 

नेपाल विद्युत् प्राधिकरण
दरबारमार्ग, काठमाडौँ । 
२०८१/०४/३० बुधबार । 

सम्बन्धित समाचार पढ्नुहाेस्– पूर्व–डीआईजी खरेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि लगाएका ८ आरोप

यस्तो छ कार्यकारी निर्देशक घिसिङद्वारा हस्ताक्षरित विज्ञप्तिको प्रति

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३