काठमाडौँ । संखुवासभामा निर्माण प्रस्ताव गरिएको ४५४ मेगावाटको किमाथांका–अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गर्दै राय–सुझाव माग गरिएको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रवर्द्धन गर्ने आयोजनाको इआइए प्रतिवेदनका आधारमा विद्युत् विकास विभागले आयोजना निर्माण तथा सञ्चालनबाट पर्न सक्ने वातावरणीय प्रभावबारे सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणबाट लिखित राय–सुझाव माग गरेको हो ।
विभागका अनुसार प्रस्तावित आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा पर्नेछ । आंशिक जलाशय (पिकिङ रन अफ रिभर) प्रकृतिको आयोजनाको जडित क्षमता ४५४ मेगावाट हुनेछ । आयोजनाबाट वार्षिक औसत २ हजार ५५१.१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजनाका सम्पूर्ण मुख्य संरचना भोटखोला गाउँपालिका क्षेत्रमा पर्ने अरुण नदीको दायाँ किनारमा निर्माण गरिने प्रस्ताव गरिएको छ । अरुण नदीमा बाँध बाँधी त्यसबाट सिर्जना हुने जलाशयको पानी साइड इन्टेकमार्फत फर्काएर हेडरेस सुरुङ, सर्ज साफ्ट तथा प्रेसर टनेल हुँदै भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युत् उत्पादनपछि टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमै फर्काइनेछ ।
आयोजनाका लागि अरुण नदीमा बाँध (रोलर कम्प्याक्टेड कङ्क्रिट (आरसिसी) ग्राभिटी ड्याम) निर्माण गरिनेछ । प्रस्तावित बाँध करिब १८७.९ मिटर लामो हुनेछ भने यसको क्रेस्ट लेभल समुद्री सतहबाट करिब २ हजार ४० मिटर उचाइमा रहनेछ । बाँधबाट करिब १०.३ मिलियन घनमिटर क्षमताको जलाशय निर्माण हुने र जलाशयको पानी साइड इन्टेकमार्फत भूमिगत संरचनामा लगिनेछ ।
जलाशयबाट पानी लैजान करिब ५९१ मिटर लामो भूमिगत सुरुङमार्फत १८ मिटर व्यासको सर्ज साफ्ट निर्माण गरिनेछ । सर्ज साफ्टबाट करिब ४८६ मिटर लामो प्रेसर टनेल हुँदै भूमिगत विद्युत्गृहमा पानी पुर्याइनेछ । प्रेसर टनेल करिब १९.४ मिटर चौडा र ४०.१ मिटर उचाइको रहने प्रस्ताव गरिएको छ ।
अरुण नदीको दायाँ किनारमा निर्माण हुने भूमिगत विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन जडान गरिनेछ । ती टर्बाइनसँग जोडिएका चारवटा सिन्क्रोनस जेनेरेटरबाट ४५४ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित विद्युत् करिब ७५१ मिटर लामो टेलरेस हुँदै पुनः अरुण नदीमा पठाइनेछ ।
आयोजनाबाट उत्पादित विद्युत् १३.२ केभीको ४०० केभी क्षमताका १३ वटा पावर ट्रान्सफर्मरमार्फत करिब १८.५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित हाइटार सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने योजना छ । किमाथांका–अरुणको विद्युत् हाइटार सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा जोड्ने व्यवस्था यसअघि भएको प्रसारण सम्झौतासँग पनि मेल खान्छ ।
इआइए प्रतिवेदनअनुसार आयोजना सञ्चालन भएपछि बाँध क्षेत्रभन्दा तल्लो तथा विद्युत्गृहभन्दा माथिल्लो क्षेत्रमा पर्ने अरुण नदीको करिब ८ किलोमिटरभन्दा बढी खण्डमा नदीको बहाव प्रभावित हुनेछ । वातावरणीय प्रभाव मूल्याङ्कनमा आयोजनाबाट जलचर तथा जलीय जैविक विविधता, वन तथा वन्यजन्तु, स्थानीय प्राकृतिक स्रोत तथा सामाजिक वातावरणमा पर्न सक्ने प्रभावलाई समेत समेटिएको छ ।
आयोजना विद्युत् उत्पादन कम्पनी लिमिटेडले विकास गर्न लागेको हो । कम्पनी विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६८ सालमा स्थापना भएको नेपाल सरकारको स्वामित्वको संस्था हो । किमाथांका–अरुण आयोजनालाई कम्पनीले अघि बढाइरहेको महत्त्वपूर्ण आयोजनामध्ये एकका रूपमा लिइएको छ ।
आयोजनाको निर्माण सम्पन्न गरी २०८८ असारभित्र व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनासम्बन्धी सार्वजनिक सूचनामा निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल असर पर्न सक्ने भए त्यसबारे लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरिएको छ ।
यसका लागि ३५ दिनभित्र राय–सुझाव विद्युत् विकास विभाग वा प्रवर्द्धक कम्पनीसमक्ष पेश गर्न सकिने व्यवस्था गरिएको छ ।