काठमाडौँ । अमेरिकाको टेक्सास ए एन्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. मायाप्रकाश भट्टले सरकारले साथ दिएमा काठमाडौँमा बहने बागमती नदीको पानीलाई ६ महिनाभित्र निर्मल पार्न सक्ने प्रविधि आफूसँग रहेकाे दाबी गरेका छन् । एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा शनिबार (असार २८ गते) आयोजित 'विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान' विषयक गाेष्ठीमा उनले यस्ताे दाबी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा २ दशकभन्दा बढी सेवा गरिसकेका प्रा.डा. भट्टले आफूले गरेका अनुसन्धान परिणामहरू तथा आफूसहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिए नेपालका प्रदूषित नदीलाई स्वच्छ र निर्मल बनाउन सकेको योगदान दिने बताएका हुन् ।
सुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदूषणको मात्रा घटाउने र त्यसपछि क्रमश: आरओ, नानो फिल्टर जस्ता प्रविधि प्रयोग गरी जतिसुकै दूषित पानी पनि प्रयोग गर्न मिल्ने गरी निर्मलीकरण गर्न सकिने कुरा आफ्नो अनुसन्धानबाट खुलेको र त्यसको व्यवहारिक प्रयोग समेत सफल भइसकेको तथ्याङ्क उनले प्रस्तुत गरे ।
अमेरिका तथा अन्य देशमा भएका अनुसन्धानमा सम्मिलित भएर विभिन्न व्यवहारिक प्रविधिहरू विकास गरिसकेका प्रा.डा. भट्टले आफ्नै व्यक्तिगत पहलमा बागमती नदीको प्रदूषणको अध्ययन गरिरहेको र के कारणले नदीको पानी दुषित भइरहेको भन्ने विश्लेषण समेत प्रस्तुत गरे ।
'कुनै समय अहिलेको बागमतीभन्दा ८ गुणा बढी प्रदूषित फ्रान्सको सीन नदी प्रविधिकै प्रयोगबाट केही दिन अगाडि निर्मल भएको घोषणा गरी सर्वसाधारणको लागि नदीमा पौडिन खुला गरेको छ,' उनले भने, 'युरोपको राइन नदी कुनै बेला अहिलेको बागमती भन्दा कयौँ गुणा बढी प्रदूषित थियो तर अहिले निर्मल भई पौडिन योग्य भएको छ ।'
गोष्ठीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थी, तथा नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एभरेष्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो । मूल प्रस्तुती पश्चात त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरूले आआफ्नो थेसिसको विषय गोष्ठीमा प्रस्तुतिको विषयसँग सम्बन्धित भएकोले विभिन्न जिज्ञासा राखेका थिए ।
नेपालका विद्यार्थीले विद्यावारिधी वा अनुसन्धानका प्रस्तावहरू पेश गरेमा सकारात्मक तवरले विश्वविद्यालयमा सिफारिस गर्ने तथा नेपालीसँग अनुसन्धानमा सहकार्य गर्न तत्पर रहेको जानकरी दिँदै प्रा.डा. भट्टले आफ्नो ज्ञान तथा सीपको प्रयोग नेपाल गर्न सकिने बताए ।