काठमाडौँ । नबिल बैंकले हालसम्म २ हजार ९ सय २८ मेगावाटका विभिन्न ५८ वटा जलविद्युत् आयोजनामा ऋण लगानी गरिसकेको छ । बैंकले ‘परियोजना कर्जा’ अन्तर्गत ती आयोजनामा लागनी गरेको हो ।
बैंकका अनुसार कोशी प्रदेशमा २३ वटा, बागमतीमा १७, गण्डकीमा ११, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ३ वटा आयोजना लगानी गरेको हो । ती आयोजना मध्ये ३० वटाको निर्माण पूरा भई सञ्चालनमा आइसकेका र २८ वटा निर्माणको चरणमा रहेका छन् ।
बैंकले ऋण लागनी गरेका मुख्य आयोजनाहङमा ९०० मेगावाटको अरुण तेस्रो, १०६ मेगावाटको जगदुल्ला, ७३ मेगावाटको सानिमा मध्य तमोर, ४० मेगावाटको माथिल्लो चमेलिया, ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ लगायतका छन् ।
बैंकले १.६५ मेगावाटको थाप्रे खोला र ९९ किलोवाटको कदम खोला जस्ता लघुजलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।
हालसम्म अर्थात् चालु आर्थिक वर्ष २०८१/८२ काे करिब अन्त्यसम्ममा बैंकले ऊर्जा क्षेत्रमा करिब ७१ अर्ब रुपैयाँबराबरको ऋण लगानी (स्वीकृत) गरेको तथा लगानी प्रतिबद्धता जनाइसकेको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुल कर्जा लगानीको ९.५ प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरेको छ, जबकी बैंकहरूले ऊर्जा क्षेत्रमा कुल लगानीको ७ प्रतिशत लगानी गर्नै पर्ने न्यूनतम सीमा राष्ट्रले तोकेको छ ।
यसबाहेक बैंकले ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङ’को मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा बैंकले सहयोग पुर्याएको जनाएको छ । दिगो बैंकिङअन्तर्गत सन् २०२१ मा नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो । हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरणीय ऊर्जा प्रणाली जडान गरिएको छ ।
नबिल बैंक नेपालको निजी क्षेत्रकै अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाउँदै आएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।