काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घको १३ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउन ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको पनि बताएका छन् ।
ऊर्जा मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको बताए । ‘छोटो समयमा ६४ खर्ब लगानी गरेर ठूलो लक्ष्य हासिल गर्दैैगर्दा लाखौँ व्यक्तिले रोजगार पाउनुका साथै राज्यलाई खबौँ राजश्व आम्दानी हुने र अन्य क्षेत्रसमेत चलायमान हुन्छ,’ मन्त्री खड्काले बताए ।
अर्काे प्रसङ्गमा उनले खड्काले विद्युत् ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताए । प्राधिकरणलाई ‘अन्डरवन्डलिङ’ गरे कर्मचारीलाई पनि फाइदा हुने उनको भनाइ छ ।
स्रोतमाथिको अधिकार सबै नागरिकको बराबर हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई जलविद्युत् सेयरमार्फत समृद्ध बनाउन सरकार लागिरहेको बताए । ‘गरिब तथा विपन्न नागरिकलाई सस्तो ब्याजदरमा सरकारले ऋण उपलब्ध गराएर २ लाखदेखि ५ लाख रुपैयाँसम्मको सेयर सुनिश्चित गर्न लागेको छ,’ उनले भने ।
ऊर्जा मन्त्री खड्काले विदेशमा श्रम गर्न गएका नेपालीले कमाएको रकम जलविद्युत क्षेत्रमा लगानी गर्यो भने दिर्घकालिन फाइदा हुन्छ भनेर त्यस्ता रकमलाई जलविद्युत क्षेत्रमा लगाउन सरकारले काम गरिरकेको बताए । पर्यटन, कृषि, उद्योगभन्दा अगाडि ऊर्जा क्षेत्रबाट फाइदा लिन सक्छौँ भनेर सकार लागिरहेको उनको भनाई छ ।
कार्यक्रममा उनले कर्मचारीले आफ्नो हक हितलाई ख्याल गर्दैगर्दा कर्तव्यलाई बिसर्न नहुने बताए । निमुखा जनताको हक, हितलाई हेरर सीमित स्रोत र साधनकाबीच कर्मचारीले काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको स्वीकार गरे ।
मन्त्री खड्काले विद्युत् प्राधिकरणभित्र रहेका ज्यालादारी कर्मचारीको समस्या अझ बढी रहेको बताए । ‘ज्यालादारीका कर्मचारी नै बढी दुर्घटना र पीडामा परेका छन्, उनीहरुलाई पनि ख्यालमा राखेर सेवा सुविधा थप्नुपर्छ भनेर लागेका छौँ, सेवा सुविधाका बारेमा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेर पठाएको छ, चाँडै अर्थ मन्त्रालयबाट निर्णय हुन्छ भन्ने अपेक्षा छ,’– मन्त्री खड्काले भने ।
गिद्देनजर होइन दिव्य दृष्टिका साथ काम गर्नुपर्ने उनको भनाइ छ । मन्त्री खड्काले सुरक्षित विद्युत् प्रवाहमा ध्यान दिनुपर्ने बताए । उनले प्राधिकरणले गरेको लगानी समयमै कसरी तिर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने उल्लेख गरेका छन्। आयोजनालाई कसरी नाफामा लैजान सकिन्छ त्यसतर्फ सोच्नुपर्ने उनको भनाइ छ ।
उनले पदको हिसाबले सबै नागरिक भिन्नाभिन्नै भए पनि नागरिकको हिसाबले समान भएकाले नागरिकको कर्तव्य सम्झेर काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरे । उनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नसमेत आग्रह गरे ।