मकवानपर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी साेमबार साँझदेखि विद्युत् उत्पादन सुरु गरिएको छ ।
विद्युत्गृहको एउटा टर्वाइनमा एलाइन्मेन्टको समस्या आएपछि मर्मत गर्न केही दिनअघिदेखि विद्युत्गृह बन्द गरिएको थियो । कूल १४ मेगावाट मध्ये एउटा टर्वाइनबाट ७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रसन्नमुनि ताम्राकारले बताए ।
उनका अनुसार उक्त विद्युत् केन्द्रमा रहेका २ वटा टर्वाइन लगातार सञ्चालन भइरहँदा एउटा टर्वाइनमा ठोक्किएर ठूलो आवाज आइरहेकाले तत्काल बन्द गरेर चिनियाँ कम्पनीका प्राविधिकमार्फत मर्मत सुरु गरिए थियाे ।
टर्वाइन सञ्चालन आएपछि साविक उत्पादन हुँदै आएको १४ मेगावाट विद्युत् केन्द्रीय प्रसारण ग्रिडमा जोडिएको छ । कुलेखानी पहिलो जलविद्युत् केन्द्रबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । यी दुई आयाेजनाकाे क्यास्केड जलविद्युत् केन्द्रकाे रूपमा कुलेखानी तेस्राे सञ्चालन हुँदै आएको छ ।