काठमाडाैं । सरकारले गत भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका कुलमान घिसिङलाई नियुक्त गरेको थियो । लोडसेडिङ अन्त्य र दिगो विद्युत विकासलाई गति दिने लक्ष्यले सरकारले उनलाई नियुक्त गरेको थियो । रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।
२०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।
तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।