आजको विश्व ऊर्जा सङ्कट र जलवायु परिवर्तनको दोहोरो चुनौतीसँग जुझिरहेको छ। एकातिर जनसङ्ख्या वृद्धिले ऊर्जा माग बढाइरहेको छ । अर्कोतिर, पारम्परिक जीवाश्म इन्धनको अत्यधिक प्रयोगले वातावरणमा कार्बन उत्सर्जन बढाएर पृथ्वीको तापमान बढाउँदै लगेको छ। यसै सन्दर्भमा, ऊर्जा अडिट (Energy Audit) एक अत्यन्त महत्त्वपूर्ण र व्यवहारिक उपायका रूपमा स्थापित भएको छ।
ऊर्जा अडिट भन्नाले कुनै संस्था, उद्योग वा सङ्गठनमा प्रयोग भइरहेको ऊर्जा (विद्युत् तथा तापीय) को सत्यापन, निगरानी, विश्लेषण गरी ऊर्जा दक्षता बढाउने, खर्च घटाउने र वातावरणीय प्रभाव न्यून गर्ने लक्ष्यका साथ तयार गरिने विस्तृत प्रतिवेदन र कार्ययोजना हो ।
ऊर्जा अडिटको आवश्यकता
ऊर्जा, श्रम र कच्चा पदार्थ - यी तीन कुरा कुनै पनि उद्योग वा संस्थाका लागि प्रमुख सञ्चालन खर्चका आधारस्तम्भ हुन् । ती मध्ये ऊर्जा खर्च प्रायः सबैभन्दा बढी हुने गरेको छ । यस क्षेत्रमा सुधार गरियो भने ठूलो मात्रामा खर्च कटौती गर्न सकिन्छ ।
ऊर्जा अडिटका मुख्य उद्देश्यहरू यसप्रकार छन्:
उत्पादन क्षमतालाई असर नगरी ऊर्जा खपत घटाउने ।
ऊर्जा बचतका सम्भावित उपायहरू पहिचान गर्ने ।
संस्थाका लागि ऊर्जा उपयोगको आधार रेखा (बेन्चमार्क) तय गर्ने ।
दक्ष प्रविधि र सञ्चालन अभ्यासको सिफारिस गर्ने ।
औद्योगिक तथा वाणिज्य क्षेत्रमा विद्युत् आपूर्ति महँगो र कहिलेकाहीँ अभावग्रस्त हुने नेपालजस्ता देशमा ऊर्जा अडिटले केवल आर्थिक फाइदा मात्र नभई ऊर्जाको विश्वसनीयता पनि बढाउँछ ।
ऊर्जा अडिटका प्रमुख फाइदाहरू
(क) खर्च कटौती - ऊर्जाको कुशल प्रयोगले मासिक तथा वार्षिक बिलमा प्रत्यक्ष बचत हुन्छ ।
(ख) दक्षता र उत्पादन वृद्धि - उपकरण र प्रक्रियाको क्षमता अनुसारको सञ्चालनले नोक्सानी घटाउँछ र उत्पादनमा निरन्तरता कायम राख्छ ।
(ग) वातावरणीय संरक्षण - इन्धन तथा बिजुली खपत घट्दा कार्बन डाइअक्साइड तथा अन्य हरितगृह ग्यासको उत्सर्जन घट्छ ।
(घ) दीर्घकालीन प्रतिस्पर्धात्मकता - ऊर्जा दक्ष प्रविधि अपनाउने कम्पनीहरू बजारमा लागत र ब्रान्ड दुवै हिसाबले बलिया हुन्छन् ।
३. ऊर्जा अडिटका प्रकार
ऊर्जा अडिट सामान्यतया दुई किसिमले गरिन्छ :
(१) प्रारम्भिक ऊर्जा अडिट (Preliminary Energy Audit) : यसमा मौजुदा वा सजिलै उपलब्ध हुने तथ्याङ्क प्रयोग गरेर ऊर्जा खपतको मोटामोटी चित्र तयार गरिन्छ । यसले तुरुन्त कार्यान्वयन गर्न सकिने कम लागत वा शून्य लागतका उपायहरूको सूची दिन्छ ।
(२) विस्तृत ऊर्जा अडिट (Detailed Energy Audit) : यसमा उद्योग वा संस्थाको सम्पूर्ण ऊर्जा प्रणालीको गहिरो विश्लेषण गरिन्छ। विस्तृत अडिट तीन चरणमा सम्पन्न हुन्छः
- पूर्व-अडिट चरण (Pre-Audit Phase): योजना बनाउने, टोली गठन गर्ने, प्रारम्भिक अवलोकन, उपकरण सूचीकरण, र डेटा संकलनको तयारी ।
- अडिट चरण (Audit Phase): विस्तृत मापन, प्रक्रिया प्रवाह चित्र (Process Flow Diagram) र ऊर्जा प्रवाह चित्र (Energy Utility Diagram) तयार गर्ने, प्रमुख ऊर्जा उपभोक्ता उपकरणमा परीक्षण र कार्यक्षमता मूल्याङ्कन ।
- पश्चात-अडिट चरण (Post-Audit Phase): प्रतिवेदन तयार गरी व्यवस्थापनलाई पेश गर्ने, सिफारिस कार्यान्वयन गर्ने, र अनुगमन गर्ने ।
४. ऊर्जा अडिटका चरण र प्रक्रिया विस्तृत ऊर्जा अडिट प्रायः १० चरणको कार्ययोजना अनुसार सञ्चालन हुन्छ । ती निम्न छन्:
१. योजना र सङ्गठन – ऊर्जा अडिट टोली गठन, उपकरण र साधनको व्यवस्था, समय तालिका तय।
२. प्रारम्भिक अवलोकन – स्थल भ्रमण (Walk-through Audit), प्रारम्भिक तथ्याङ्क सङ्कलन, विभागीय प्रमुखहरूसँग अन्तरक्रिया।
३. डेटा सङ्कलन – वार्षिक ऊर्जा बिल, खपत ढाँचा, उपकरणको डिजाइन र सञ्चालन विवरण।
४. उपकरण र प्रणालीको नक्साङ्कन – प्रक्रिया प्रवाह र ऊर्जा वितरणको चित्र तयार गर्ने।
५. मापन र परीक्षण – मोटर, पम्प, फ्यान, कम्प्रेसर, बायलर, फर्नेस आदिको दक्षता परीक्षण।
६. ऐतिहासिक डेटा विश्लेषण – उत्पादन र ऊर्जा खपतको सम्बन्ध अध्ययन।
७. ऊर्जा हानी विश्लेषण – नोक्सानी हुने स्थानहरूको पहिचान।
८. ऊर्जा संरक्षण (ENCON) अवसर पहिचान – नयाँ प्रविधि, उपकरण सुधार, सञ्चालन अभ्यास सुधार।
९. लागत–लाभ विश्लेषण – आर्थिक व्यवहार्यता अनुसार प्राथमिकता निर्धारण।
१०. कार्यान्वयन र अनुगमन – सिफारिस कार्यान्वयन र नियमित समीक्षा।
५. ऊर्जा अडिटमा प्रयोग हुने केही महत्त्वपूर्ण उपकरणहरू
- इलेक्ट्रिकल मापन उपकरण – भोल्ट, करेन्ट, पावर फ्याक्टर, kW, kVA आदि मापन गर्न।
- कम्बस्ट्रन एनालाइजर (Combustion Analyzer) – ग्यासको संरचना (CO₂, CO, NOx, SOx) मापन गर्न।
- फ्यूल एफिसियन्सी मोनिटर – इन्धन दहन दक्षता मूल्याङ्कन गर्न।
- इन्फ्रारेड पिरोमिटर – सम्पर्कविहीन तापक्रम मापन।
- अल्ट्रासोनिक फ्लो मीटर – पानी वा अन्य तरलको प्रवाह मापन गर्न।
- लक्ज मीटर – प्रकाशको तीव्रता मापन गर्न।
- लीक डिटेक्टर – हावा वा ग्यास चुहावट पत्ता लगाउन।
- पावर एनालाइजर – एक विशेष विद्युतीय मापन उपकरण हो, जसले विद्युतीय प्रणालीमा विभिन्न प्यारामिटरहरू जस्तै भोल्टेज (Volts), करेन्ट (Amps), पावर (kW), पावर फ्याक्टर (PF), kVA, हार्मोनिक्स, र ऊर्जा खपत (kWh) को सटीक मापन गर्छ। यो उपकरण ऊर्जा अडिटको क्रममा प्रयोग हुन्छ, विशेष गरी विस्तृत ऊर्जा अडिट (Detailed Energy Audit - DEA) मा, जहाँ विद्युतीय प्रणालीको कार्यक्षमता र ऊर्जा हानीको गहिरो विश्लेषण आवश्यक हुन्छ। सरल भाषामा, पावर एनालाइजरले बिजुलीको उपयोग कसरी भइरहेको छ, कहाँ हानी भइरहेको छ, र कसरी सुधार गर्न सकिन्छ भन्ने जानकारी दिन्छ।
दिगो विकास र कार्बन कटौतीमा योगदान ऊर्जा अडिटले वातावरणीय संरक्षणमा निम्न तरिकाले योगदान पुर्याउँछः
कार्बन उत्सर्जन घटाउने: इन्धन खपत घटाउँदा CO₂ उत्सर्जन घट्छ।
नवीकरणीय ऊर्जाको उपयोग बढाउने: सौर्य ताप, बायोग्यास, प्राकृतिक ग्यासजस्ता हरित स्रोत प्रयोगको सिफारिस।
ऊर्जा दक्ष प्रविधि प्रवर्द्धन: उच्च कार्यक्षमता भएका मोटर, पम्प, कम्प्रेसर, र LED प्रकाश प्रणाली अपनाउने।
स्रोतको दीगो उपयोग: पानी, तातो ग्यास वा तातो पानीको पुनः उपयोग, इन्सुलेसन सुधार, र ताप पुनः प्राप्ति प्रणाली (heat recovery system) जस्ता उपाय।
नेपालका लागि जलविद्युत् मुख्य ऊर्जा स्रोत भए पनि औद्योगिक क्षेत्र अझै महँगो डिजल जेनरेटर, कोइला वा आयातित इन्धनमा निर्भर छन् ।
ऊर्जा अडिटका फाइदाहरू
उद्योगहरूको लागत घटाउने ।
विद्युत् भार व्यवस्थापनमा सहयोग गर्ने ।
उत्पादन प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्ने ।
सरकार, विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघले ऊर्जा अडिटलाई अनिवार्य नीति बनाउन सके ऊर्जा दक्षता र कार्बन कटौतीको लक्ष्य छिटो प्राप्त गर्न सकिन्छ।
लेखक, मनमोहन प्राविधिक विश्वविद्यालय पूर्वाञ्चलका लेक्चर हुन् ।
विनोद घिमिरे मनमोहन प्राविधिक विश्वविद्यालय पूर्वाञ्चलका लेक्चर हुन् ।