विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संस्थामा नेतृत्व परिवर्तनसँगै व्यवस्थापन कमजोर हुने र अनियमित विद्युत् कटौतीको दर बढ्ने भन्ने आमसर्वसाधारणको गुनासोलाई नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले खण्डन गरेको छ । पछिल्ला केही वर्ष यता त्यस्तो अनियमित कटौतीको दर अर्थात् 'ट्रिपिङ'मा ठूलो सुधार आएको दाबी गरिएको हो ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार मुलुकको विद्युत् वितरण प्रणालीमा क्रमिक सुधार देखिएको छ। जसअनुसार आर्थिक वर्ष (आव) २०८१/०८२ को तुलनामा चालु आव (२०८२/०८३) को सोही अवधिमा विद्युत् आपूर्तिमा हुने अवरोधको सङ्ख्या (फ्रिक्वेन्सी) र अवरोधको कुल समय (अवधि) दुवैमा उत्साहजनक कमी आएको छ। यसले उपभोक्ताले पाउने विद्युत् सेवा थप भरपर्दो र गुणस्तरीय बन्दै गएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

'हिजोका दिनको तुलनामा आपूर्तिमा राम्रो सुधार भएको छ, यो पक्ष हामीले उपभोक्ता वा नागरिक तहमा बुझाउन सकेनौँ कि भन्ने लाग्छ,' उनले ऊर्जा खबरसँग भने, 'यो हामीले बनाएको भाषा होइन, तथ्याङ्कले देखाएको कुरा हो ।' नागरिक समाजको तहबाट पनि सर्वसाधारणमा वास्तविकता संप्रेषण गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।

देशभरिका स्मार्ट मिटरबाट अटोमेटिक (स्वतः) रूपमा प्राप्त हुने औसत अवरोध पटक र अवरोध अवधि सम्बन्धी तथ्याङ्कहरूको आधारमा उक्त निचोड निकालिएको पनि शाक्यले प्रस्ट पारे ।

तथ्याङ्कीय तुलना र सुधार

प्राधिकरणको तथ्याङ्कलाई मसिनो गरी केलाउँदा, वर्षको सुरुवाती महिनादेखि नै सुधार देखिएको छ । गत आवको साउनमा प्रतिफिडर वा सबस्टेसन औसत १२९.०२ पटक अवरोध (ट्रिपिङ) भएकोमा यस वर्ष सोही अवधिमा घटेर १२६.७० मा झरेको छ । यो सङ्ख्यात्मकरूपमा सामान्य देखिए पनि सोही महिनामा विद्युत् अवरुद्ध हुने समय ५९.४३ घन्टाबाट घटेर ४४.८७ घन्टामा झर्नुले प्राविधिक टोलीको कार्यकुशलता र मर्मतसम्भारको प्रभावकारितालाई दर्शाउँछ ।

यसैगरी, गत वर्ष र चालु वर्षको भदौ र असोजको तथ्याङ्कको तुलना पनि उत्साहजनक छ । गत वर्ष भदौमा १२८.३२ पटकको अवरोध चालु वर्ष घटेर ११५.१५ मा झरेको छ भने अवरोधको समय ६४.७९ घन्टाबाट ४१.३८ घन्टामा सीमित गरिएको छ। यस्तै, असोजमा अवरोधको अवधि ६१.२५ घन्टाबाट घटेर ६१.४० (झण्डै समान) रहे पनि फ्रिक्वेन्सी भने ११२.३६ बाट ९८.५३ मा झरेको देखिन्छ। यसले चाडबाडको समयमा पनि प्राधिकरणले आपूर्तिलाई स्थिर राख्न सफल भएको सङ्केत गर्छ ।

विद्युत् आपूर्तिमा सुधार देखिएको तुलनात्मक तथ्याङ्क । स्रोतः नेपाल विद्युत् प्राधिकरण

हिउँदमा ५० प्रतिशत सुधार

विद्युत् माग उच्च हुने र प्रणालीमा बढी दबाब पर्ने मङ्सिर, पुस र माघ महिनाको सुधार भने निकै महत्त्वपूर्ण मानिएको छ । गत वर्ष मङ्सिरमा ६८.०९ पटक ट्रिपिङ भएकोमा यस वर्ष ४६.०९ पटक मात्र भएको छ। सबैभन्दा ठूलो उपलब्धि अवरोधको समयमा देखिएको छ; गत वर्ष मङ्सिरमा ३२.५१ घन्टा लोड काटिएकोमा यस वर्ष त्यो ५० प्रतिशतभन्दा बढीले घटेर १४.७७ घन्टा झरेको छ ।

पुस र माघको चिसो मौसम, जतिबेला हिटर र गिजरको प्रयोगले लोड बढ्छ, त्यस समयमा पनि सुधारको गति देखिएको छ । गत वर्ष पुसमा अवरोधको समय २८.८४ घन्टाबाट १३.३९ घन्टामा र माघमा २७.९६ घन्टाबाट १२.६५ घन्टामा झरेको छ । यो तथ्याङ्कले वितरण प्रणालीको सुदृढीकरण अभियानले सकारात्मक नतिजा दिन थालेको प्रमाणित गर्दछ । फागुन महिनामा पनि अवरोधको समय ३२.१७ घन्टाबाट घटेर १२.५५ घन्टामा पुग्नुले झण्डै ६० प्रतिशतको सुधार देखाउँछ ।

गत वर्ष भन्दा उल्लेख्य सुधार भए पनि यसको चर्चा नहुनु मुख्यतः सर्वसाधारण निरन्तर बिजुलीमा अभ्यस्त हुनु नै रहेको शाक्यले बताए । 'अब हिजोजतिकै विद्युत् अवरोध भयो भने पनि गाली खाइन्छ, र अनेकौँ तुलना गरी असफल देखाउने प्रयास हुन्छ,' उनले थपे, 'यसलाई स्वाभाविकरूपमा लिइएको छ, विद्युत् आपूर्ति पहिले भन्दा आज र आजभन्दा भोलि राम्रो गर्ने हाम्रो प्रयास जारी छ, गाली र ताली पाउँदै गरिएला ।'

समग्र प्रतिवेदनले नेपालको विद्युत् वितरण प्रणालीमा ठूलो सुधार देखिएको प्रस्ट हुन्छ । वर्षैभरिको औसत निकाल्दा अवरोधको फ्रिक्वेन्सी र अवधि दुवैमा २५ देखि ४० प्रतिशतसम्मको सुधार हुनु औद्योगिक र गार्हस्थ्य दुवै क्षेत्रका लागि सुखद मानिएको छ । प्राधिकरणले आगामी दिनमा स्मार्ट मिटर जडान र भूमिगत तार व्यवस्थापनलाई अझ तीव्रता दिएमा यो तथ्याङ्क अझै सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

सुधारका कारकहरू

विद्युत् आपूर्तिमा आएको यो सुधार रातारात भएको होइन । प्राधिकरणले पछिल्लो समय 'फिडर सेगमेन्टेसन', पुराना कन्डक्टरहरूको प्रतिस्थापन र सबस्टेसनको क्षमता वृद्धिलाई प्राथमिकता दिएको छ । सहरका धेरै ठाउँमा नाङ्गो तारलाई 'एबीसी' केबलले प्रतिस्थापन गरिएका कारण रुखका हाँगाले छुँदा वा चराचुरुङ्गीका कारण हुने 'सर्ट सर्किट' र ट्रिपिङमा कमी आएको शाक्यको भनाइ छ ।

'ब्रेकडाउन' हुनु अगावै गरिने 'प्रिभेन्टिभ मेन्टेनेन्स' (निरोधात्मक मर्मत) मा जोड दिएका कारण पनि यो सुधार देखिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले बताए । 'वितरण केन्द्रहरूमा प्रभावकारी मोबाइल टोली परिचालन र सूचना प्रविधिको प्रयोगले कतै समस्या आउने बित्तिकै तत्कालै समाधान गर्ने क्षमतामा वृद्धि भएको छ,' उनले भने, 'अबको मुख्य चुनौती 'गुणस्तरीय र अविच्छिन्न आपूर्ति' नै हो ।'
भावी चुनौती

तथ्याङ्कमा जेठ र असार महिनामा भने अघिल्लो वर्ष अवरोधको सङ्ख्या क्रमशः १५०.४२ र १५३.७६ पुगेको देखिन्छ । गर्मी महिनामा ट्रान्सफर्मर जल्ने र ओभरलोड हुने समस्या बढी हुने हुनाले, आगामी वर्षका यी महिनामा अहिलेको सुधारको लयलाई कायम राख्न थप गृहकार्य गर्नुपर्ने श्रेष्ठले बताए ।

चैतदेखि जेठसम्म बढी हावाहुरी चल्ने र झरी-वर्षाले चट्याङ पर्ने हुँदा अवरोधलाई न्यून गर्न 'लाइटनिङ एरेस्टर' र आधुनिक सुरक्षा प्रणालीको जडानमा थप लगानीको योजना बनाइएको छ । गत वर्ष जेठमा ८४.५६ घन्टासम्म अवरोध भएको देखिनुले गर्मीको समयमा प्रणाली अझै संवेदनशील रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३