विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले अहिलेसम्म १ सय ४५  प्रसारण लाइन आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । विभागको गत मंसिर १२ गतेसम्मको तथ्याङ्कअनुसार ४ सय केभीदेखि ३३ केभी क्षमताका प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र जारी गरिएको हो ।

निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणमा जाने विद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले सरकार तथा निजी क्षेत्रले प्रसारण लाइन आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको विभागले जनाएको छ । अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४ सय केभी, २ सय २० केभी, १ सय ३२ केभी, ६६ केभी र ३३ केभी छ ।

विभागले अनुमतिपत्र जारी गरेका प्रसारण लाइन आयोजनामध्ये केही निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । केही आयोजना निर्माणाधीन छन् ।अनुमतिपत्र जारी भएका प्रसारण लाइन आयोजनामा ४ सय केभी क्षमताका ४ वटा छन् । यी मध्ये ४ सय केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । 

नेपाल र भारतबीच विद्युत आदान–प्रदान गर्न ३९ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । यो नै नेपाल र भारतबीच विद्युत आदान–प्रदान गर्ने अहिलेकाे प्रमुख अन्तरदेशीय प्रसारण लाइन हो । विभागले यो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न २०६८ भदौ ८ गते अनुमतिपत्र दिएको थियो ।  

४ सय केभी क्षमताकै हेटौंडा–ढल्केबर–इनरुवा डबल सर्किट प्रसारण लाइन आयोजना अहिले निर्माणाधीन छ । मकवानपुरको हेटौंडादेखि सुनसरीको इनरुवासम्म २ सय ८५ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण भइरहेको हो । प्रसारण लाइनअन्तर्गत ७ सय ९२ वटा टावर निर्माण हुनेछन् ।

वन क्षेत्रको रुख कटानको स्वीकृतिमा भएको ढिलाईका कारण यो प्रसारण लाइन आयोजनाको काम प्रभावित हुँदै आएको छ । यो प्रसारण लाइन आयोजना २०७८ सालभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

४ सय केभी तामाकोसी–काठमाडौं प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन हुने विद्युत काठमाडौं ल्याउन यो प्रसारण लाइन आयोजना निर्माण भइरहेको हो ।  यो प्रसारण लाइन निर्माण गर्न २०७४ कात्तिक २७ गते अनुमतिपत्र दिइएको थियो । सय किलोमिटर लामो प्रसारण लाइन पूरा भएपछि करिब ५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । 

भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न ४ सय केभी प्रसारण लाइन निर्माण हुँदैछ । आयोजनाको प्रवर्द्धक एसजेभिएन अरुण–३ डेभलपमेन्ट कम्पनीले ४ सय केभीको २ सय १७ किलोमिटर लामो प्रसारण लाइन आयोजना निर्माण गर्न विभागबाट २०७५ माघ २७ गते अनुमतिपत्र लिएको छ । यही प्रसारण लाइनमार्फत अरुण–३ ले उत्पादन गरेको विद्युत भारत जानेछ । 

यस्तै, २ सय २० केभी क्षमताका १८ प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र जारी भएको छ । जसमा खिम्ती–ढल्केबर, त्रिशूली–काठमाडौं र कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । कालीगण्डकी कोरिडोरको कुस्मा–न्यू बुटवल र न्यू बुटवल बर्दघाट खण्ड निर्माणाधीन छ । 

यस्तै, मर्स्याङ्दी–काठमाडौं, चिलिमे–त्रिशूली, कोसी कोरिडोर, हेटौंडा–भरतपुर, भरतपुर–बर्दघाटलगायत प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छन् । बाँकी आयोजना अध्ययन पूरा भई निर्माणमा जाँदैछन् । १ सय ३२ केभी क्षमताका ७४, ६६ केभी क्षमताका ५ र ३३ केभी क्षमताका ४४ प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिपत्र जारी गरेको विभागले जनाएको छ । 

यसैगरी, विभागले हालसम्म १ सय ५२ प्रसारण लाइन आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको छ । जसमा ४ सय केभी क्षमताका १९, २ सय २० केभी क्षमाताका १६, १ सय ३२ केभी क्षमाताका ६३ र ३३ केभी क्षमताका ५४ प्रसारण लाइन आयोजना छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३