काठमाडौँ । मान्डु हाइड्रोपावर लिमिटेडले निर्माण गरेकाे २२ मेगावाट क्षमताकाे बागमती साना जलविद्युत् केद्रबाट पुन: विद्युत् उत्पादन सुरु भएको छ । गत वर्ष असोज ११ गते आएको भीषण बाढीले विद्युत्गृहमा ठूलो क्षति पुर्याएकाले आयोजनाबाट विद्युत् उत्पादन बन्द रहेको थियो । पुनर्निर्माणपछि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको छ ।
आयोजनामा ११ मेगावाट क्षमता भएका २ वटा युनिट रहेका छन् । जसमा १ युनिट साउन १९ गतेबाट सञ्चालनमा आएको छ भने एउटा युनिट बिहीबार (भदौ १२ गते) बाट सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान भएको जनाएको छ ।
कम्पनीले अर्को १० मेगावाटको १ वटा युनिट थपेर आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पाइसकेको छ । विद्युत् खरिद–बिक्री (पिपिए) पनि भइसकेको छ भने सिभिल संरचना निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ ।