विद्युत आपूर्ति : प्राधिकरण : ९९७० मे.वा.घन्टा / निजी क्षेत्र : १७९१० मे.वा.घन्टा / आयात : २११६ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९९९६ मे.वा.घन्टा/ उच्च माग : १४४० मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

प्राधिकरणका प्राविधिक खम्बा ३५ वर्षे सेवाबाट बाहिरिए, जसलाई कुलमानले समेत अवमूल्यन गरेका थिए

२०७६ साउन १५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा झन्डै ३५ वर्ष सेवा गरेका सुनिलकुमार ढुंगेलले बुधबार (साउन १५ गते) अनिवार्य अवकास पाएका छन् । अन्तिम समयमा उत्पादन निर्देशनालयको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका उनी त्यहीँबाट बिदाइ भएका हुन् ।

बुधबार प्राधिकरणमै आयोजित कार्यक्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले मायाको चिनो सहित दोसल्ला ओढाएर अन्तिम बिदाइ गरेका थिए । २०४१ सालमा इन्जिनियरबाट सेवा सुरु गरेका उनले प्राधिकरणको उत्पादन, प्रसारण र वितरण तीन वटै तहमा रहेर सेवा गरे ।

प्राधिकरणमा उपकार्यकारी निर्देशक (१२ तह) मा ५ वर्ष सेवा गरेपछि अनिवार्य अवकास हुनुपर्ने नियम छ । साेही नियमअनुसार ढुंगेलले अवकास पाएका हुन् । प्राधिकरणबाट अवकास भए पनि अफूले सुरु गरेका काम आयाेजनास्थलमा बसेर सक्ने उनले बताए । ‘अन्तिम समयमा माथिल्लाे त्रिशूली ३ ए र कुलेखानी तेस्राेबाट विद्युत उत्पादन गर्ने मेराे दायित्व रह्याे,’ उनले ऊर्जा खबरसँग भने, ‘यी आयाेजनाबाट पूर्णरूपमा विद्युत उत्पादन भएर ग्रिडमा जाेडिएपछि दायित्व पूरा भएकाे ठान्नेछु । यसका लागि आफूले आयाेजनास्थलमै बसेर केही समय काम गर्ने बताए ।

ढुंगेल प्राधिकरणका त्यस्ता इन्जिनियर हुन्, जसले आयोजना निर्माणका क्रममा आएका समस्या र विवाद समाधान गर्ने दक्षता राख्छन् । कालीगण्डकी, मध्यमर्स्याङ्दी वा चमेलियामा ठेकेदारसँगको विवादले काम रोकिँदा उनैको अग्रसरतामा विवाद (डिस्प्युट) समाधान गरिएको प्राधिकरणको अनुभव छ ।

इलेक्ट्रिकल इन्जिनियर भए पनि ढुंगेल उत्पादन, प्रसारण र वितरण क्षेत्रकै अब्बल मानिन्छन् । तीन वटै क्षेत्र हाँक्न सक्ने प्राधिकरणका थोरै क्षमतावान इन्जिनियरमध्ये ढुंगेल सम्भवतः पहिलो नम्बरमै गनिन्छन् ।

योग्य र दक्ष इन्जिनियरहरू धमाधम अवकास भइरहेको अवस्थामा उनको अनुभव लामो समयसम्म खड्किरहने प्राधिकरणकै उच्च अधिकारीहरूको बुझाई छ । ढुंगेल प्राधिकरणका क्षमतावान इन्जिनियर वा खम्बा नै मानिन्छन् । यस्ता योग्य इन्जिनियरको अन्तिम कार्यकाल भने त्यति सुखद देखिएन ।

कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भएपछि केही उच्च अधिकारी असन्तृष्ट भए । ११ तहका घिसिङ तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माकै प्रयासमा कार्यकारी निर्देशक भएका थिए । यसमा १२ तहका वरिष्ठ उपकार्यकारी निर्देशकले आपत्तिसमेत जनाएका थिए ।

त्यतिबेला घिसिङको नियुक्तिमा ढुंगेलले पनि सामान्य फरक मत राखेका थिए । घिसिङ नियुक्तिको खुलेरै विरोध गर्ने शेरसिंह भाटले एक महिनापछि राजीनामा दिए । ढुंगेलले भने संस्थाभित्रै विवाद समाधान गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

घिसिङ कार्यकारी निर्देशक हुँदा तनहुँ हाइड्रो पावर कम्पनीको प्रबन्ध निर्देशक रहेका उनलाई त्यहाँबाट तानियो । र, एक वर्ष कुनै पनि जिम्मेवारी नदिई थन्क्याइयो । आफू विरुद्ध लागेको भन्दै घिसिङले ढुंगेललाई एक वर्षसम्म जिम्मेवारी नै दिएनन् ।

ढुंगेलजस्ता क्षमतावान इन्जिनियरलाई एक वर्ष थन्क्याउनु प्राधिकरण र राज्यका लागि ठूलो नोक्सानी थियो । राधा ज्ञवाली ऊर्जा मन्त्री हुँदा घिसिङलाई चिलिमे कम्पनीबाट सरुवा गरिएको थियो । ज्ञवालीकै कारण उनले एक वर्ष प्राधिकरणमा कुनै जिम्मेवारी पाएका थिएनन् । बस्ने कोठा र कुर्सी पनि थिएन ।

अन्ततः ज्ञवालीको रिसिबी वा ‘इगो’ घिसिङले ढुंगेलहरूमा कार्यान्वयन गरे । आज घिसिङ क्षमतावान वा कुशल व्यवस्थापक भनेर चिनिएका छन् । तर, दक्ष व्यक्तिलाई सोही अनुसार जिम्मेवारी दिएर सन्तुलनमा काम गर्नु/गराउनुपर्ने विषयमा उनी निकै दुर्बल देखिएका छन् ।

कसैले इगो राखे पनि त्यसलाई बढी जिम्मेवारी दिएर संस्थालाई फाइदा हुने गरी काम गराउने घिसिङको कार्यशैली आज पनि फितलो देखिन्छ । प्राधिकरणमा उनी निकट एउटा समूह वा झुण्ड छ, जसले घिसिङ अनुकूलका मात्र काम गर्छन् ।

घिसिङले ढुंगेललाई गह्रुंगो जिम्मेवारी दिएर वा काममा दबाब दिएर परिणाम लिन सकेको भए उत्तरार्धमा सम्बन्ध सुमधुर हुन्थ्यो । तर, उनले त्यसो गरेनन् । यही कारण बिदाइका बेला घिसिङले उनको अनुहारमा समेत नहेरेको तस्बिर फेसबुकमा पोस्ट गरिएको थियो । सायद अन्तिम समयमा घिसिङलाई पनि हिजो आफूले गरेको व्यवहारप्रति ग्लानी भइरहेको थियो ।

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit