विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
एनएमबी बैंकका प्रमुख लगानी अधिकृत श्रीजेस घिमिरेसँग हिमालयन हाइड्रो एक्स्पो वार्ता

काठमाडाैं । यही चैत १९ गतेदेखि काठमाडौंको भृकुटीमण्डमा तेस्राे संकरणको ‘हिमालयन हाइड्रो एक्स्पो’ सुरु भई आज (सोमबार) बाट सकिँदैछ । देशका जलविद्युत निर्माता, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, लगानीकर्ता र बैंक/वित्त कम्पनीलगायतलाई एउटै छानामुनी भेला गराएर यसकाे विकास गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोबाट आन्तरिक विद्युत खपतमा वृद्धि गर्ने र निर्यातका लागि बजारीकरणको ठूलो ज्ञान हासिल हुने अपेक्षा गरिएकाे छ ।

एक दर्जन बढी देशका विभिन्न व्यवसायमा संलग्न प्रतिनिधिको एक सय बढी स्टल रहेकाे एक्स्पोमा विद्युत उत्पादनसँग प्रसारण तथा बजार विस्तारमा सहायक सिद्ध हुने विश्वास पनि लिइएकाे छ । सिधै पहुँच हुने, समय र पुँजीको बचत हुने, विकास भएका नयाँ डिजाइनका उपकरणको बारेमा बुझ्नका लागि एक्स्पोमा एनएमबी बैंक मुख्य प्रायोजकका रूपमा रहेको छ । यसै विषयमा बैंकका प्रमुख लगानी अधिकृत श्रीजेस घिमिरेसँग गरिएको छोटो कुराकानी :

हिमालयन हाइड्रो एक्स्पोको मुख्य प्रायोजकमा एनएमबी बैंक छ, यही बैंक नै मुख्य प्रयोजकको रूपमा किन ?

याे एक्स्पो जलविद्युतसँग जोडिएको छ । हामीले पछिल्लो समय ऊर्जा मध्ये जलविद्युतलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेका छौ । सोलार, वायु, हाइड्रोजन, पेट्रोलियम सबै ऊर्जा हुन, क्लिन इनर्जी भनेको जलविद्युत हो ।

जलविद्युतसँग सम्बन्धित भएकाले पनि हामीले समृद्ध नेपालको सपना, जलसम्पदामा सम्पन्न र नेपालीलाई नेपालीकै बिजुलीसँग जोड्नका लागि एक्स्पोमा मुख्य प्रायोजकको रूपमा छौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) सँग सहकार्य गरेर एक्स्पोमा सहभागिता जनाइएको हो । एक्स्पोमा बैंकको नारा नै ‘अपार सम्भावना’ हो । अपार सम्भावनाकाे रूपमा रहेकाे जलसम्पदालाई सरल रूपमा सहि सदुपयोग  गर्न पनि एक्स्पोमा सहभागिता जनाइएको हो ।

हाइड्रो एक्स्पोबाट बैंकलाई के कस्ता फाइदा हुन्छन् ?

यो एक्स्पोमा हाम्रो सहभागिता फाइदाका लागि होइन् । बैंकलाई सबैले चिनुन् भनेर गरेको पनि होइन । गर्नुपर्ने कार्यमा हामीले साथमात्र दिएको हो ।  ‘पिपुल एन्ड प्लानेट बिफोर प्रोफिट’ को अवधारणाबाट हामी अघि बढेका छौ । हामी दिगो वैकिङ्गमार्फत काम गरिरहेका छौं । नाफा भन्दा अघि सोचेर गरियो भने मात्र दिगो हुन्छ भन्ने अवधारणबाट अघि बढेका छौं । एक्स्पोमा सहभागी हुनुको मुख्य कारण राष्ट्रिय प्राथमिकतामा रहेको २०८५ भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पुरा गर्नु पनि हो ।

एक्स्पो अवधिभर भएको हाइड्रो पावर सम्बन्धी विषयत टेक्निकल सेसन र निर्माता, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, लगानीकर्ता र बैंक/वित्त कम्पनीलगायत स्टलबाट विद्युत खपत र बजारीकरणमा ठूलो ज्ञान हासिल गर्न, जलसम्पदामा सम्पन्न, समृद्ध नेपालको सपना पूरा गर्न बैंक इपानसँगको सहकार्यमा एक्स्पोमा सहभागिता जनाएको हो ।

यो भन्दा पहिले पनि २ पटक हाइड्रो एक्स्पो भइसकेका छन्, पहिलेको २ संस्करणले नेपालको ऊर्जा विकासमा के कस्ता फाइदा भएको ठान्नुहुन्छ ?

धेरै फाइदा भएको छ । पहिलो संस्करणको हाइड्रो एक्स्पोकाे समयमा एउटा टबाईनको मूल्य प्रतिकिलाेवाट ४ सय देखि ५ सय डलरसम्म पर्न आउथ्यो, अहिले घटेर १८० डलरलेखि २२० डलरसम्म आइपुगेको छ । पहिलो सानोसानो काम अलिअलि मात्र गर्दा कसले के सप्लाई गर्छ, कसले के उत्पादन गर्छ, कसले के डिजाइन गर्छ भन्ने कुरा थाहा नै थिएन । को राम्रो थियो को नराम्रो । तर, एक्स्पोले गर्दा विदेशी लगानीकर्ता आए, उत्पादनकर्ता आए, भेटघाट भयो, जसले गर्दा एक अर्कामा प्रतिस्पर्धा भयो उपकरणहरू गुणस्तरीय हुन थाले । सबैलाई एउटै छानामुनी जम्मा गर्दा गुणस्तरीय उपकरण र ऊर्जा विकासमा ठूलो फाइदा पुग्ने  अपेक्षा गरिएकाे छ ।


अहिलेको एक्स्पोले के कस्ता फाइदा पुग्ला ?

हाइड्रो एक्स्पोबाट लगानीकर्ता, उत्पादनकर्ता, सप्लायर्स, डिजाइनर्स सबैसँग सिधै पहुँच हुन्छ । सयम र पुँजीको बचत हुन्छ । नयाँ प्रविधिको बारेमा थाहा हुन्छ । यो एक्स्पोबाट अझ हाइड्रो पावर क्षेत्रमा लगानी बढ्छ । आन्तरिक विद्युत खपतमा वृद्धि गर्ने र निर्यातका लागि बजारीकरणको ठूलो ज्ञान हासिल गर्नेछ । ऊर्जा विकासमा के कस्ता चुनौती रहेका छन्, विकासका लागि नेपालको तयारी कस्तो रहेको छ भन्ने कुराको जानकारी हुन्छ । प्रवर्द्धकलाई आयोजनाका लागि कुन ठिक कुन बेठिक भन्ने कुरा थाहा हुन्छ ।

एक्स्पोमा प्रर्दशनीमा राखिएको मध्ये भारतीयलगायत विदेशका प्रर्दशनीमा सहभागिता बढी देखियो, यसलाई तपाइले कसरी हेर्नु भएको छ ? 

यो एक्स्पोको मुख्य उदेश्य भनेको नै त्यही हो । हामी नेपाली कम्पनीसँग चाहेको बेला जुन समयमा पनि भेट्न, वा कुराकानी गर्न सक्छौ । तर ,भारतीयलगायत विदेशी कम्पनीसँग भेटघाट गर्न गाह्रो हुने, समय लाग्ने हुन्छ । भारतीय कम्पनीमा बढी सहभागी हुनुको कारण भनेको पहुँचका आधारमा अन्यदेशमा भन्दा भारतमा सजिलो हुने भएको पनि त्यही बढी झुम्मिएको हो भन्न सकिन्छ ।

कतिपय विदेशी कम्पनीले भारतमा आएर कम्पनी दर्ता गरेर उपकरण उत्पादन गरिरहेका छन् । इलेक्ट्रो मेकानिकल कम्पोनेन्टमा विदेशी मुद्रा युरो, डलरमा एलसी खोल्नुपर्थ्यो तर भारतमा विदेशी कम्पनी आइसकेपछि कतिपय कम्पनीले भारुमै एलसी खोल्न थाले । प्रवर्द्धकलाई भारुमा एलसी खोल्दा सजिलो हुने भएकाले पनि भारतीय कम्पनीमा झुम्मिएको हो र यसले नेपालको ऊर्जा क्षेत्रमा एकदम सहयोग पुग्नेछ ।

अबकाे ऊर्जा विकासका लागि बैंककाे रणनिती कस्तो छ ?

ऊर्जा आफैमा प्राथमिकतामा छ । सन् २०२५ देखि २०३० को रणनीति अुनसार २०२५ सम्म १० हजार ५ सय टन कार्बन उत्सर्जन कम गर्ने भन्ने छ र सन् २०३० सम्म १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । बैंकले यसका लागि सहयोग गर्नेछ । विद्युत उत्पादन गर्नका लागि प्रवर्द्धकलाई बैंकले आर्थिक पक्षमा सहयोग गर्नेछ । एनएमबी पनि हाइड्रो पावर क्षेत्रमा किन भन्दा जलविद्युत विकासले अर्थतन्त्रलाई मद्दत गर्छ भन्ने हिसाबले हाइड्रोमा प्रतिबद्धता छ । यो प्रतिबद्वता पूरा गर्नका लागि हामीले गर्न सक्ने हिसाबले कार्य अघि बढाएका छौ । त्यसैका लागि बैंकले यस्तो खालको कार्यक्रममा सहभागिता जनाउँदै आएको छ, आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्नेछ ।

ऊर्जा विकासका लागि अबका चुनौतीहरू के कस्ता देिखिन्छन् ?

अहिलेको हिसाबमा हो भने, वित्तीय व्यवस्थापन हो, बजारीकरण र विद्युत खपत । सरकारले आगामी २०८५ भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छ । १५ हजार मेगावाट विद्युत उत्पादनका लागि करिब २ हजार ६ सय खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा दुर्गममा क्षेत्रमा रहेको करिब ३ लाख घरधुरीमा मात्र विद्युतको पहुँच पुग्न बाँकी छ । यी क्षेत्रमा विद्युतीकरण गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्छ । नेपालमा यत्तिको पुँजी छैन्, यसको व्यवस्था कसरी गर्ने त ? यसको बारेमा सोच्नुपर्छ । अर्को भनेको विद्युत खपत । २०८५ भित्र १५ हजार मेगावाट उत्पादन नभई १० हजार मात्र उत्पादन भयो भने पनि नेपालको उत्पादन क्षमता १२ हजार मेगावाट हुनेछ । यो कहा खपत गर्ने ? अहिलेको नेपालको उच्च माग भनेको करिब १५/१६ सय मेगावाट छ । अब, बिजुली उत्पादन सँगसगै वातावरणलाई नबिगारी ‘बिजुली उत्पादबाट हुने लाभ वातावरणलाई हुने क्षति भन्दा धेरै नै बढी हुन्छ’ भन्ने कुरालाई स्थापित गर्नुपर्छ ।

बैंकले अहिलेसम्म कति जलविद्युत आयोजनामा लगानी गरेको छ ?

बैंकले हालसम्म ५९९ मेगावाटका ४५ जलविद्युत आयोजनामा लगानी गरेको छ । बैंकले २९ अर्ब रुपैयाँ लगानी गरेको छ । जसमा २७ वटामा लिड बैंक रहेको छ । लगानी भएका मध्ये २३ जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । बाँकी २२ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३