• प्राधिकरण : १०९०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : २२४० मे.वा.घन्टा
  • निर्यात : ७२०६ मे.वा.घन्टा
  • ट्रिपिङ : २६० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२९११ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८५१ मे.वा.
×

‘श्वेत–गंगा हाइड्राेले आयोजना सञ्चालनमा आएको तेस्रो वर्षबाट मुनाफा दिन सक्छ’

२०७९ जेठ २६

काठमाडाैं । श्वेत–गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रसन लिमिटेडले रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु खोलामा २८.१ मेगावाटको तल्लो लिखु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले गत (२०७९ जेठ) २३ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि १०० रुपैयाँ अंकित  १५ करोड ९३ लाख रुपैयाँ बराबरको १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

स्थानीयले आगामी असार ६ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड पूरापछि सर्वसाधारणका लागि छुट्ट्याइएको साधारण सेयर निष्कासन गरिनेछ । हिमनदीमा आधारित लिखु खोलामा निर्माण भइरहेको यो आयोजनाबाट स्थानीय तथा सर्वसाधारण कसरी लाभान्वित हुन्छन् त ? यही विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठसँग गरिएको छोटो कुराकानी :

स्थानीय तथा आयोजना प्रभावितका लागि सेयर खुलेको छ । यसमा उनीहरूको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

आयोजना प्रभावित तथा अन्य स्थानीयहरू सेयरको विषयमा धेरै उत्साहित देखिनुभएको छ । सेयर आवेदन दिन तथा कोही सि–आस्वा खाता खोल्न आयोजनाको आवेदन संकलन कार्यालय तथा तोकिएको बैंकमा उहाँहरूको उपस्थिति राम्रो देखिएको छ ।

स्वेत–गंगा हाइड्रो पावर कम्पनीको सेयर किन खरिद गर्नुपर्छ ?

यो भनेको उहाँहरूका लागि ठूलो मौका हो । कम्पनीले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको सेयर खरिद गर्न पाउनु उहाँहरूका लागि अवसर पनि हो । करिब ९५ प्रतिशत काम सकिएको आयोजनाले १०० रुपैयाँ सेयर दिँदैछ । यसलाई ‘क्यास गर्नुस्’ भन्छु म त । स्थानीयस्तरमा उहाँहरूले पाएको यो मौकालाई गुमाउनु हुँदैन ।

कम्पनीमा उहाँहरू पनि स्वामित्व भएपछि आयोजना सफल गराउन स्थानीयबासीको समेत दायित्व हुन्छ । समयमै निर्माण सम्पन्न भए उहाँहरुले नै यसको लाभ पाउनुहुन्छ, उहाँबाट सहयोग प्राप्त हुनेमा हामी विश्वस्त पनि छौं ।

यो कस्तो खालको आयोजना हो र यसले स्थानीयबासीलाई कसरी फाइदा पुर्याउला ?

यो नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजना हो । उहाँहरू कम्पनीको मालिक भएपछि पहिलो फाइदा उहाँहरूलाई जान्छ र निर्माणमा सहयोग पुर्याउँदै खबरदारी पनि गर्न सक्नुहुन्छ । संस्थागत सुशासनको विकास हुन्छ । विद्युत विकासमार्फत देश समृद्धितर्फ जाँदै गर्दा यसमा उहाँहरूले पनि योगदान गरेको ठहरिन्छ ।

कम्पनीको लाभांश तथा मुनाफा प्रदान गर्ने अवधि कसरी तय गरिएको छ ?

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको २ वर्षसम्म कम्पनी आन्तरिक आर्थिक व्यवस्थापन गर्न समय लाग्छ । तेस्रो वर्षदेखि लगानीकर्ताले लाभांस तथा मुनाफा पाउनु हुन्छ । यसमा हामी ढुक्क छौं ।

अरू जलविद्युत कम्पनीहरूको तुलनामा स्वेत–गंगा कुन पक्षमा भिन्न र आकर्षक छ ?

सानिमा हाइड्रो समूहले ३ जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ । थप ३ वटा निर्माणाधीन अवस्थामा छन् । हामीले हरेक काम पारदर्शी रूपमा अगाडि बढारहेका छौं । सामाजिक क्षेत्रको उत्तरदायित्वदेखि नयाँ इन्जिनियरहरूलाई अवसर दिने, परामर्श सेवाका क्षेत्रमा संस्थागत सुशासनका आधारमा अगाडि बढिरहेका छौं । यस्तै, गुणस्तरीय काम र सेवामा हाम्रो लगानी भइरहेको छ । हामी रातारात फड्को मार्ने भन्दा ‘घाटी हेरी हाड निल्ने’ प्रविधिबाट अघि बढेका छौं । यसबाट पनि हामी अरूभन्दा केही भिन्न छौं कि भन्ने लाग्छ ।

अहिलेसम्म आयोजनाले स्थानीयबासीका लागि के–कस्ता काम गरिरहेको छ ?

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) का आधारमा गर्नुपर्ने काममा हामी चुकेका छैनौं । हामीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका समयमा समेत स्थानीयबासीको स्वाथ्यलाई ध्यानमा राखेर सहयोग गरेका थियौं । सामाजिक उत्तरदायित्वका खानेपानी, सिँचाइ, स्वास्थ्य, शैक्षिक गुणस्तर सुधारलगायत क्षेत्रमा स्थानीयबासीसँग हाम्रो सहकार्य छ । पूर्वाधारमा बाटो, पुल, रोजगारी लगायतमा समेत पर्याप्त सहकार्य भइरहेको छ ।

याे पनि पढ्नुहाेस्

श्वेत–गंगा हाइड्रोले आयोजना प्रभावितलाई १६ लाख कित्ता सेयर निष्कासन गर्ने

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit