चितवन (जुगेडी) । नेपालको स्वास्थ्य तथा फार्मास्युटिकल्स इतिहासमा एउटा विशिष्ट र भरोसायोग्य नाम बनाइसकेको 'ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड'ले ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फ महत्त्वपूर्ण पाइला चालेको छ । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको संस्थाले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित आफ्नै उद्योग परिसरमा ३५०.३५ किलोवाटको सौर्य ऊर्जा प्रणाली जडान गरी यस क्षेत्रमै उदाहरणीय कार्य गरेको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राथमिक सेयर निष्काशन (आपिओ) को अनुमति पाई पुँजी बजारमा कारोबार गरिरहेको यस कम्पनीले नवीनतम कदम चालेको छ । औद्योगिक उत्पादनमा हरित प्रविधिको प्रयोग गर्दै सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र लगानीकर्ताको मुनाफा सुरक्षातर्फ सन्तुलित दृष्टिकोण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
६३७ वटा प्यानल जडित यस सौर्य प्रणालीबाट उद्योगले विद्युत् खपतको पिक आवर (उच्च माग हुँदा) मा नवीकरणीय ऊर्जा प्रयोग गर्ने व्यवस्था सुनिश्चित भएको छ । साथै, उद्योगको सञ्चालन खर्च एवम् उत्पादन लागत घटाई सोको प्रत्यक्ष लाभ लगानीकर्तालाई मुनाफा प्रवाहमार्फत उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ । साथै, नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीका आधारमा सौर्य प्रणालीबाट उत्पादित अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको थप स्रोत सिर्जना गर्ने योजना रहेको छ ।
सौर्य ऊर्जाको प्रयोगले हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनुका साथै कम्पनीलाई वातावरणमैत्री तथा दीगो उद्योगका रूपमा उभ्याएको छ । कम्पनीको यो कदमले जलवायु सङ्कट विरुद्धको लडाइँमा निजी क्षेत्र जिम्मेवाररूपमा अगाडि बढेको प्रस्ट देखिएको छ । वातावरण, अर्थतन्त्र र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै अघि बढिरहेको ओम मेगाश्रीले सरकारबाट जारी ऊर्जा सम्बन्धी नीतिगत व्यवस्थालाई समेत पालना गर्दै 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने अवधारणालाई व्यावहारिकरूपमा अगाडि बढाइरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी), प्रभु बैंक तथा ओम मेगाश्रीबीचको त्रि-पक्षीय सम्झौतामा सम्पन्न प्रस्तुत आयोजनाबाट उत्पादित सौर्य ऊर्जाको प्रयोगले हरितगृह उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याउनुका साथै कम्पनीलाई वातावरणमैत्री तथा दीगो उद्योगका रूपमा उभ्याएको छ । सम्झौता सम्पन्न गराउन एइपिसीका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकाल तथा नायब उपकार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले विशेष भूमिका निर्वाह गरेका थिए । सोको सहजीकरण ऊर्जा विशेषज्ञ कुशल गुरुङले गरेका थिए ।