विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
अन्तर्वार्ता

ट्रोयर हाइड्रोका प्रबन्ध निर्देशकको रूपमा कार्यरत पवन ढकाल जर्मनीमा अध्ययन गरेका इन्जिनियर हुन्, जोसँग जलविद्युत् क्षेत्रमा २४ वर्षभन्दा लामो व्यावसायिक अनुभव छ। उनले युरोपका धेरै बहुर्राष्ट्रिय कम्पनीहरूमा डिजाइन इन्जिनियरिङ, परियोजना व्यवस्थापन, बजार विस्तार र व्यवस्थापन लगायत विभिन्न भूमिकामा आफ्नो विशेषज्ञता प्रमाणित गरेका छन् ।साथै, विश्वका विभिन्न जलविद्युत् आयोजनामा काम गरेर आफ्नो विज्ञतामा निखार ल्याएका छन् । ट्रोयर हाइड्रोका शेयरधनी समेत रहेका ढकालले दक्षिण तथा दक्षिणपूर्वी एसियामा बिक्री र बजार व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन् । यही सन्दर्भमा ट्रोयरको व्यावसायिक विकासमा केन्द्रित रहेर उनीसँग गरिएको संक्षिप्त कुराकानी :

ट्रोयरको विषयमा जानकारी लिन चाहने व्यक्ति तथा संस्थालाई यसबारे कसरी प्रकाश पार्नु हुन्छ ?

ट्रोयर स्पा एक पुरानो र विश्वव्यापी रूपमा ख्यातिप्राप्त कम्पनी हो, जसको मुख्यालय इटालीको भिपिटेनोमा छ। यो कम्पनीले केही किलोवाटदेखि ३० मेगावाटसम्मका साना र मध्यम आकारका जलविद्युत् आयोजनाका लागि आवश्यक 'वाटर टू वायर'सम्मका उपकरण निर्माण गर्दै आएको छ । भ्यालेन्टिन ट्रोयरले सन् १९३४ मा एक इलेक्ट्रो मेकानिकल उपकरण मर्मत केन्द्रको रूपमा स्थापना गरेको यो कम्पनी छोटो समयमै साना जलविद्युत्‌का लागि आवश्यक उपकरण उत्पादनमा लोकप्रिय बन्न सफल भयो । आज, ट्रोयर अमेरिका, एसिया र युरोपमा क्रियाशील छ र यसको प्रमुख बजार अल्पाइन देशहरू (स्विट्जरल्यान्ड, अस्ट्रिया, इटाली), ब्राजिल, नर्वे र नेपालसम्म विस्तार भएको छ। यसका अतिरिक्त कम्पनीले विश्वका अन्य देशहरूमा पनि प्रभावकारी योजनाका साथ काम गर्दै आएको छ । सन् २०२३ मा मात्र ट्रोयर एचटीआई (हाई टेक्नोलोजी इन्डष्ट्रिज) समूहको एउटा सदस्य बनेको छ ।

कम्पनीले कस्ता प्रकारका उपकरणहरू उत्पादन गर्दै आएको छ ?

ट्रोयरले एउटै बिन्दुमा केन्द्रित रहेर ग्राहकहरूको सेवा गर्दै आएको छ । जलविद्युत् आयोजनाका लागि 'वाटर टू वायर'सम्म सबै खालका उपकरणहरू विश्वव्यापी रूपमा आपूर्ति गर्दै आएको छ। यसले आफ्नो इटालीको कारखानामा टर्बाइन, मुख्य-इनलेट भल्भहरू र स्वचालित र नियन्त्रण प्रणालीहरू उत्पादन गर्छ, जसमा विद्युत्‌गृहका लागि सुरक्षित प्रणालीहरू पनि समावेश हुन्छन् । साथै, जेनेरेटर र विद्युत्‌गृहका लागि आवश्यक उपकरणहरूका लागि ट्रोयरले आफ्ना रणनीतिक साझेदारहरूसँग पनि सहकार्य गरिरहेको छ।

विश्वव्यापी रूपमा आफ्नो व्यवसाय कसरी विस्तार भइरहेको छ ?

ट्रोयरले आफ्ना ग्राहकसँग दीर्घकालीन रणनीतिक सम्बन्ध तथा साझेदारीका साथ काम गर्दै आएको छ । ग्राहकहरूको अपेक्षा अनुसार विश्वका नयाँ ठाउँमा सावधानीपूर्वक बजार छनोट तथा विस्तार गरिरहेको छ । अल्पकालीन बजार विस्तारको लक्ष्यलाई कम्पनीले त्यति ठूलो धेरै दिएको छैन ।

दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा कसरी स्थापित हुँदैछ ?

ट्रोयरको पहिलो उद्देश्य नै ग्राहकहरूका लागि विश्वसनीय र दीर्घकालीन सेवा हो । यही विन्दुमा टेकेर आफूलाई स्थापित गर्ने, ग्राहकको विश्वास जित्ने र गुणस्तरीय सेवा प्रदानमै जोड दिने हो । संक्षेपमा भन्नुपर्दा ट्रोयरले ग्राहकहरूको विश्वास जित्दै स्थानीय निकायसँग भरपर्दो र उत्तरदायी साझेदार बनेर काम गर्न चाहन्छ।

नेपालमा कुन जलविद्युत् आयोजनासँग जोडिएर ट्रोयरको प्रवेश भयो ?

रिज लाइन कम्पनी लिमिटेडले निर्माण गरेको सुपर चेपे खोला (९.०५ मेगावाट) को आयोजनामा काम शुरू गर्दै सन् २०२१ मा ट्रोयर नेपालमा प्रवेश गरेको हो ।यो आयोजनाको निर्माण पूरा भई अहिले सञ्चालनमा आइसकेको छ । सोही व्यावसायिक समूहले ट्रोयरलाई दोस्रो दूधपोखरी चेपे (११ मेगावाट) को आयोजना प्रदान गर्‍यो । नेपाली बजारबाट ट्रोयरले सकारात्मक प्रतिक्रिया पाएको छ, जसका कारण कम्पनीले विभिन्न चरणका २५० मेगावाटभन्दा बढी क्षमताका १० आयोजनामा काम गरिरहेको छ ।

नेपालमा दर्जनौँ टर्बाइन निर्माता कम्पनीहरूले आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् । यी कम्पनीहरूको बीचमा ट्रोयर कहाँ छ ?

माथि नै उल्लेख गरियो, ट्रोयरले आफ्नो व्यवसायलाई दीर्घकालीन रणनीतिक योजना र स्थानीय पक्षसँग साझेदारी गरेर अगाडि बढ्ने पक्षलाई प्राथमिकता दिन्छ । यो रणनीति अनुसार नेपालमा शाखा कार्यालय र भारतमा सहायक कम्पनी स्थापना गर्नु पनि हो । "वैश्विक सोच राखौँ, स्थानीयसँग सहकार्य गरेर काम गरौँ" भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले काम गरिरहेको छ । सँगसँगै विश्वका हरेक देशमा गुणस्तरीय सेवा विस्तारलाई उतिकै प्राथमिकता दिइएको छ, चाहे त्यो स्विट्जरल्यान्ड, ब्राजिल वा नेपाल होस् । यसले नै ट्रोयरलाई भरपर्दो र उत्तरदायी बनाइरहेको छ, जसले आफ्नै आधुनिक सुविधायुक्त उपकरणहरू निर्माण, सञ्चालन, नियन्त्रण लगायत काममा स्वचालित प्रणाली प्रयोग गरिरहेको छ । यसरी नै ख्वाति विस्तार गर्ने हाम्रो योजना हो ।

गुणस्तरीय उपकरण उत्पादनको हकमा ट्रोयर र अन्य कम्पनीबीच के भिन्नता पाइन्छ ?

इटालीको आफ्नो भिपिटेनो कारखानामा निर्माण गरेका मेकानिकल र इलेक्ट्रिकल उपकरणहरू समान मापदण्ड र गुणस्तरमा उत्पादन गरिन्छ । ९० वर्षभन्दा लामो इतिहास बोकेको ट्रोयर उच्च-गुणस्तरका उन्नत र सरल स्वचालित मेकानिकल उपकरणहरू निर्माण प्रविधिमा विश्वमै प्रसिद्ध छ, जसले स्विट्जरल्यान्डको साना जलविद्युत् विकासको क्षेत्रमा ७०% भन्दा बढी बजार हिस्सेदारी ओगटेको छ । विश्वभर यस्ता धेरै टर्बाइन निर्माता कम्पनीहरू छन्, उनीहरूसँग आफ्नै आधुनिक उपकरण निर्माण, नियन्त्रण, स्वचालित र सुरक्षित प्रणालीहरू छन्। यस्ता प्रणालीका कारण कम समयमै उपकरण जडान गर्न सकिन्छ । ट्रोयर पनि तिनै आधुनिक कम्पनीहरूमा गनिन्छ । अतः रिमोट प्रविधिबाट कम समयमै काम गर्ने पद्धतिका कारण ट्रोयरका उपकरणबाट नेपाली ग्राहकहरूले महत्त्वपूर्ण फाइदा लिन सक्छन् ।

अहिलेसम्म नेपालमा कति वटा आयोजनामा काम गर्‍यो र गरिरहेको छ ?

हाम्रो पहिलो आयोजना सुपर चेपे खोला हो, जुन सफलतापूर्वक पूरा गरी सञ्चालनमा आइसकेको छ । साथै, २५० मेगावाट बराबरका १० आयोजनाहरू हामीसँग छन्, जसको अध्ययन, डिजाइन र निर्माण लगायत विभिन्न चरणमा काम भइरहेको छ।

सम्पन्न भएका आयोजनामा उपकरणसँग सम्बन्धित कुनै गुनासो आएको छ ?

अहिलेसम्म त्यस्तो खालको गुनासो आएको छैन । तथापि, ट्रोयरले आफ्ना ग्राहकको विश्वास जित्न सम्भावित गुनासाहरूको सुनुवाई गर्दै दीर्घकालीनरूपमा यस मापदण्डलाई कायम राख्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

जलविद्युत् विकासकर्ताहरूले ट्रोयरका उपकरण किन छनोट गर्नुपर्छ ?

विश्वसनीय, उत्तरदायी र विश्वासिलो आपूर्तिकर्ताको खोजीमा रहेका विकासकर्ताहरूका लागि ट्रोयर एक महत्त्वपूर्ण विकल्प हो भन्ने हाम्रो दाबी हो।यसैले हामीलाई नै छनोट गर्नुस् भन्छौँ ।

ट्रोयरलाई कहिलेकाहीँ आर्थिकरूपले अस्थिर कम्पनी भनेर आलोचना गरिन्छ । यस्तो कम्पनीले गुणस्तरीय काम गरेर अरूसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ?

ट्रोयर सन् २०२३ मा एचआईटी समूहमा प्रवेश गर्‍यो । यसले त्यस समूहका स्रोत तथा विशेषज्ञताको उपयोग गरी आफूलाई अन्तर्राष्ट्रियस्तरको कम्पनी बनाएको छ । यो रणनीतिक कदमले आफ्ना गुणस्तरीय उत्पादन र काम गर्ने शैलीलाई आधुनिक ढाँचामा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ । सन् २०२३ मा ट्रोयरले ३ करोड ८० लाख युरो भन्दा बढीको कारोबार गर्न सफल भयो, यो अघिल्लो वर्षको तुलनामा ५०% ले बढी हो । यही गति समातेर कम्पनीले भविष्यमा लगानी वृद्धि गर्दै गुणस्तरीय उपकरण उत्पादकको रूपमा आफूलाई विश्वका औद्योगिक घरानाहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने छ।

कम्पनीका आगामी व्यापारिक योजनाहरू के कस्ता रहेका छन् ?

माथि पनि भनियो, ट्रोयरले आफूलाई मध्यम खालका जलविद्युत् आयोजनाका लागि उपकरण उत्पादन तथा आपूर्तिकर्ताको रूपमा चिनाएको छ । यही पक्षलाई बलियो बनाउँदै स्थानीय बजार र ग्राहकको विश्वास जितेर काम गर्न चाहन्छ ।

नेपालमा अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो कामलाई कुन रणनीतिका साथ अगाडि बढाउने योजना छ ?

ट्रोयरको रणनीति नै वैश्विक सोच र स्थानीय तहसँगको साझेदारीमा काम गर्ने हो, जसमा विश्वसनीयता र उत्तरदायित्व प्राथमिकतामा रहनेछन् । कम्पनीले आफ्नो "दीर्घकालसम्मको विश्वसनीयता"लाई मनन गर्दै नेपालका जलविद्युत् कम्पनीहरूसँगको साझेदारीमा काम गर्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३