काडमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका सानुटारमा रहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको एउटा उत्पादन युनिटमा समस्या आएपछि हाल मर्मत भइरहेको छ । ७ मेगावाट क्षमताको उक्त युनिटको आइसोलेसन प्लेटमा खराबी आएपछि गत मंगलबारदेखि प्लेट फेरेर मर्मत गर्ने कार्य चलिरहेको आयोजनाले जनाएको छ ।
हाल चिनियाँ प्राविधिकको टोलीले मर्मत गरिरहेको र मर्मत पूरा गर्न अझ ३ दिनसम्म लाग्न सक्ने भएकोले आयोजना हाल विद्युत्को अभाव भएको समयमा पनि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन सकेको छैन ।
कुलेखानी जलाशय (इन्द्र सरोवर) को पानी प्रयोग गरी चल्लने यो जलविद्युत् केन्द्र ६० मेगावाटको कुलेखानी प्रथम र ३२ मेगावाटको कुलेखानी दोस्रोको क्यासकेड जलविद्युत् केन्द्रको रूपमा सञ्चालन हुँदै आएको छ ।
इन्द्र सरोबरको पानी प्रयोग गरी चल्ने ३ वटा जलाशय विद्युत् केन्द्रबाट कुल १०६ मेगावाट विद्युत् उत्पादन हुँदै आएमामा हाल तेस्रोको मर्मत चलिरहेकोले प्रथमलाई ४० मेगावाटमा चलाइएको छ । प्रथमलाई पूर्ण क्षमतामा चलाउँदा पानी खेर जाने अवस्था हुने भएकोले पूर्ण क्षमतामा नचलाइएको आयोजनाले जनाएको छ । त्यस्तै, दोस्रो पूर्ण क्षमतामा चलेको छ भने तेस्रो आधा क्षमतामा चलेको छ ।